सूर्य चिह्न हामीबाहेक अरुले पाउँदैनन् : सुभाष नेम्वाङ (हेर्नुहोस् भेलाका फोटोहरु)

  प्रकाशित मिति
५ फाल्गुन २०७७, बुधबार १६:५३


।। गगन ढकाल ।।
धुलावारी, ५ फागुन । संविधानसभा अध्यक्ष एवम् नेकपा स्थायी समिति सदस्य सुभाष नेम्वाङले सूर्य चिह्न र पार्टीको आधिकारिता ओली समूहले नै पाउने ठोकुवा गरेका छन् ।

धुलावारीको टाउनहलमा बुधवार नेकपा ओली समूहको १ नं क्षेत्रीय भेलामा कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने–‘कुनै चिन्ता नगर्नुहोस् साथीहरु, सूर्य चिह्न हामी बाहेक अरु कसैले पाउँदैन ।’

नेकपाको प्रचण्ड नेपाल समूहले सडकमा मुख छाडिरहेको र आफुहरु आधिकारिक पार्टी भएकाले संयमतापूर्वक सहेर बसिरहेको उनको भनाई थियो ।

पार्टी विभाजित नभएको र आफुहरुले उता गएकाहरु कसैलाई पनि कार्वाही नगरेको स्मरण गराउँदै नेता नेम्वाङले आजको भेलामा ठट्यौली लयमा प्रचण्ड–नेपाल समूहका नेताप्रति व्यङ्ग्य गरेका थिए ।

आफुलाई यहाँ छौं भन्दै सडकमा बस्ने कमरेडहरुको अनुहार चाहिँ याद भएको तर नाम चाहिँ बिर्सेको भन्दै उनले सभामा हँसाएका थिए ।

यसैगरी, कार्यक्रमका अर्का वक्ता स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले चुनाव नगर भन्दै निर्वाचन आयोगमा जाने र विघटित संसद् पुनःस्थापनाको माग गर्नेहरु प्रतिगमनकारी भएको आरोप लगाए ।

‘मिति तोकेर चुनावमा ताजा जनादेश लिन जान्छु भन्ने प्रधानमन्त्री ओली चाहिँ विधिको विरोधी अरे,’, उनले प्रधानमन्त्री ओलीको कदमको बचाउ गर्दै भने–‘नेपाली भाषामा अगाडि बढ्ने कुरा अग्रगमन हो, त्यसको विरोध गर्नेहरु प्रतिगमनकारी हुन् ।’

क्षेत्रीय समितिका संयोजक एवम् प्रदेश सांसद् गोपालचन्द्र बुडाथोकीको अध्यक्षतामा भएको सो भेलामा पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला इञ्चार्ज देबेन्द्र दाहाल, केन्द्रीय सदस्य हरिचरण बानियाँ, केन्द्रीय सदस्य तथा मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले मन्तब्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: