सोह्र श्राद्ध कति वैज्ञानिक कति अन्धविश्वास

  प्रकाशित मिति
३१ भाद्र २०७४, शनिबार ०८:४३


naresh-khati1-225x300
गाउँघरमा केही दिनयता हिन्दुधर्ममा आस्था राख्ने व्यक्तिहरु मेरो त बुबाआमाको श्राद्ध छ भन्दै कुरा गरिरहेका भेटिन्छन् । एउटा संस्थाको बैठक चलिरहेको बेला सोह्रश्राद्धको कुरा चल्यो । त्यहाँ विभिन्न दलमा आस्था राख्ने व्यक्तिहरु थिए । सबैको कुरा सारमा एउटै थियो, सबैको कुरा मिल्यो श्राद्ध गर्ने बारेमा । एकजना कम्युनिस्ट पार्टीका नेताले पनि श्राद्ध गर्नुपर्नेछ भनेपछि मैलाई सकसक भयो । मैले उनलाई सोधँे, ‘के हो यो, श्राद्ध भनेको ?’ उनले उत्तर दिए, ‘श्राद्ध भनेको पितृ तार्ने मेलो हो । पितृ प्रत्येक वर्ष पिण्डको आश गर्छन् त्यही भएर उनीहरुलाई तृप्त पार्न, पितृको सम्झनमा श्राद्ध गरिन्छ ।’ उनको उत्तरले जिज्ञासा मेटिएन । केही खोज गर्नैपर्ने भो । हिन्दुधर्मका पण्डित÷पुरोहितले श्राद्ध गर्नुलाई वैज्ञानिक पनि भन्दै आएका छन् भने धर्ममा विश्वास नगर्नेहरुले अन्धविश्वास भनेर अलोचना गरिरहेको अवस्थामा त्यसो भए यो कार्य कति वैज्ञानिक छ र कति अन्धविश्वासपूर्ण छ ? चर्चा गर्नु आवश्यक छ ।

श्राद्ध के हो ?
श्राद्ध के हो भन्नेबारेमा नेपाल संस्कृत विश्वविद्यालय बाल्मिकी विद्यापीठका प्राडा देवमणि भट्टराई भन्नहुन्छ, ‘श्राद्ध भन्ने बित्तिकै हाम्रा मृत पितृपक्षहरुलाई हामीले श्रद्धापूर्वक गरिने अन्न, जल, तर्पण आदिका कुराहरु पर्दछन् । विषेश गरेर श्राद्ध भनेको चाहिँ ‘श्राद्ध गर्नेहरुले उहाँहरुका पितृहरुलाई मैले आज पितृहरुको तिथि हो ।’ तिथिका दिन म आज श्राद्ध गर्छु भनेर मानसिक रुपमा सङ्कल्प गर्छन् । वास्तवमा घरमा भएको अन्न, जल, फल पितृहरुलाई अर्पण गर्ने हो । हरेक वर्ष आश्विन कृष्णपक्षको प्रतिपदा तिथिदेखि औँशीसम्मको पन्ध्र दिन पितृपक्ष वा सोह्र श्राद्ध भनेर भनिन्छ । यस समयमा आफ्ना पितृहरुको मृत्यु भएको तिथि वा मिलाएर श्राद्ध गर्ने परम्परा रहेको छ । यस समयमा दश पुस्तासम्मको पितृहरुलाई श्राद्ध तर्पण गरिन्छ । श्राद्ध दुई प्रकारको हुने कुरा बताइएको छ । मृत्यु तिथिमा गरिने एकोदिष्ट श्राद्ध र अर्को शरद ऋतु, आश्विन महिनाको पितृपक्षमा गरिने पार्वण श्राद्ध वा महालय श्राद्ध हो ।

श्राद्धको वैज्ञानिक पक्ष
सोह्र श्राद्धको वैज्ञानिकताको तर्क गर्नेहरुले गीताको चौथो अध्यायमा भनिएको प्रसङ्गलाई आधार मान्दै भनेका छन्,‘मृत्युपछि मान्छेको सुक्ष्म शरीरसहितको आत्मा मुक्त अवस्थामा पर्छ, जब ऊ जिउँदो छँदा आफूलाई मानव र प्रकृतिसँग उच्च व्यवहार गरेर शुद्ध र मुक्त बनेको छ ।’ मध्यम खालका अर्थात् रजो गुणमा रमाएका मानिस मरेपछि सकाम कर्मयुक्त शरीर प्राप्त गर्छ । प्रकृति र मानव तथा समस्त प्राणीप्रति दुव्र्यवहार, दलोभ, दलालच, दमद, दमात्सर्यमा भुलेको छ, अर्थात तामसी व्यवहार गरेको छ भने त्यस्तो व्यक्ति मरेपछि मूढ अवस्थामा भड्किरहन्छ । मुढ विचारसहितको आत्मा भड्किरहन्छ त्यस्तो आत्मिक अशुद्ध शक्ति जिउँदो छँदा लामो समय माया र भरोसा गरेका आफ्ना सन्तानको नजिक आइरहन्छ । यो नै विज्ञानसम्मत हो भन्ने गरिन्छ  ।
तर, प्रत्येक वर्ष सोह्र श्राद्धमा श्राद्ध गर्नेहरुले मृतक पुर्खाको सम्झनामा केही रचनात्मक काम गरेका छन् । उनीहरुले विद्यालयमा विद्यार्थीहरुलाई आवश्यक सामग्री प्रदान गरेर, वृद्ध वृद्धाहरुलाई फलफूल बाँडेर, कुनै सार्वजनिक पुस्तकालयमा सहयोग गरेर मनाउने गरेको पनि सुन्न पाइन्छ । तर, हिन्दुशास्त्र पुराणमा यस्ता कुरालाई महत्व नदिएको आरोप छ । र, सोह्र श्राद्धमा यी कुरालाई महत्व दिइँदैन । मृतक पुर्खालाई वर्षमा कम्तिमा एकपटक सम्झने कार्य राम्रो हो ।

श्राद्धको अन्धविश्वास पक्ष

प्रत्येक वर्ष सोह्र श्राद्धमा पितृको सम्झनामा जल तर्पण र पिण्ड दान गरिन्छ । समस्त पितृको तर्पण र पिण्डद्वारा उद्धार गरिने कुरा शास्त्रमा उल्लेख गरिएको छ । मृतात्माको शान्तिको लागि उनीहरुको नाममा पिण्ड, पानी चढाउने र आफ्नो क्षमता अनुसार ब्राम्हणलाई दान तथा भोजन गराउने गरिन्छ । श्राद्ध गरेन भनेर पितृहरु मङ्सिरमा लाग्ने सङ्क्रान्तिसम्म पितृहरु मेरो श्राद्ध सन्तानले गर्छन् कि भनेर कुरेर बस्ने र त्यति बेलासम्म पनि श्राद्ध नगर्दा पितृहरु निराश भएर फर्कन्छन् भनी शास्त्रमा उल्लेख छ । त्यस्तै, पृथ्वीमा आफ्ना सन्तानले गरेको श्राद्ध पितृहरुले पितृलोकमा गएको छ भने श्राद्धमा दिएको अन्न स्वधारुपमा परिणत भएर पितृले खान्छन् । देवलस्मृतिमा यदि पितृ देवताको रुपमा भए पृथ्वीबाट अमृतको रुपमा पितृले पाउँछन् । गन्धर्व भए वायुको नाना भोगका रुपमा, पशु भए तृणको रुपमा, नागयोनी भए वायुको रुपमा, यक्ष भए पेय पदार्थको रुपमा, राक्षस भए अमिषको रुपमा र दानव योनीमा भए मासरको रुपमा परिणत भएर पितृ तृप्त हुन्छन् भनिएको छ । सोह्र श्राद्धमा मरेका पितृ सन्तानको घरको ढोकामा आएर बस्छन् रे । जुन तिथिको दिन हो, त्यस दिन ब्राम्हणको शरीर भएर पितृ आउँछन् भनिएको छ ।

हिन्दुशास्त्रमा विभिन्न खालका कपोकल्पित भनाइहरु राखेर सोह्र श्राद्धलाई सनातन प्रव्रिmया अनुरुप मान्न बाध्य बनाइएको छ । आफूलाई जन्म दिने श्रदेय बाबुआमा सोह्र श्राद्धभरि पिण्ड दिन्छन् कि भन्ने आशाले पर्खिरहन्छन् भन्दा हो कि जस्तो पनि लाग्न सक्छ । त्यस्तै कर्ताले दिएको पिण्ड मृतात्मा जुन शरीरमा जन्मेका छन्, त्यही शरीर अनुसारको खाद्य भएर पाउँछन् भनिएको छ । यी सबै भनाईको पछाडि सत्यता पत्ता लगाउने कसी के छ ? यदि कसैले शास्त्र अनुरुप सोह्र श्राद्ध गर्दैन भने उसलाई डर देखाउने काम गरिएको छ । पितृदोषबाट सन्तान नहुनु, वंश नचल्नु धनको निरन्तर हानी हुनु, घर परिवारमा झगडा भइरहनु, भूतप्रेतको बाधा हुनु, जति परिश्रम गरे पनि दरिद्रता रहनु, घरकी छोरीको समयमा विवाह नहुनु जस्ता कुराको भय देखाउने गरिन्छ । यदि यसो हो भने नेपालमा श्राद्ध नगर्नेको सङ्ख्या भन्दा श्राद्ध गर्नेको सङ्ख्या नै कयौँ गुणाले बढी छ । देशमा शान्ति किन नभएको होला आज पनि कयौँ जनता गरिबीको रेखामुनि छन्, किन गरिबी निर्मुल नभएको होला, हुनुपर्ने होइन ? यी र यस्ता धेरै प्रश्न गर्न सकिन्छ ।

छोराले नै श्राद्ध गर्नुपर्ने
श्राद्धको कुरा गर्ने बित्तिकै आफ्ना मृतक पुर्खाहरुलाई सम्झने र उनीहरुलाई पार तार्ने काम छोरालाई मात्र दिएको छ । शास्त्रका व्याख्यता तथा नेपाल संस्कृत विश्वविद्यालय बाल्मिकी विद्यापीठका प्राडा देवमणि भट्टराइले मृतक व्यक्तिको पुत्रले नै श्राद्ध गर्नुपर्ने र श्राद्ध गर्ने व्यक्ति सदाचारी हुनुपर्ने छ भनी शास्त्रमा उल्लेख भएको जिकीर गर्छन् । यसरी हेर्दा यो विधिले छोरा र छोरी बीचमा विभेद गरेको स्पष्ट देखिन्छ ।
अन्त्यमा, गीतामा भनिएको आत्मा अमर छ भन्ने कुरा अलि मेल नखाएको जस्तो छ । गीतामा कृष्णले अर्जुनलाई सम्झाउँदै आत्मा अमर छ भनेका छन् । रामायणमा रामले तारालाई सम्झाउँदै आत्मालाई स्फटिकसँग तुलना गरेका छन् । यदि आत्मा अमर छ भने किन पटक(पटक वर्षैपिच्छे पिण्ड दिनुपर्ने ? यसको मतलब यो होइन कि हामीले हाम्रा मृतक आमा बाबुलाई सम्झनै पर्दैन भन्ने होइन । सम्झने तरिका रचनात्मक हुनु पर्यो । आजभन्दा तीन हजार वर्ष अघि लेखिएका शास्त्रका कपोकल्पित मिथकमा आधारित हुनु भएन । सृजनात्मक हुनु पर्यो । यसबारेमा केही सोच्ने हो कि !

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: