सौर्य एयरलायन्सले भाइटिकाको पर्सीपल्टदेखि विराटनगर–भैरहवा सीधा उडान गर्दै

  प्रकाशित मिति
१८ कार्तिक २०७८, बिहीबार ०७:५१


भद्रपुर, १८ कार्तिक । सौर्य एयरलायन्सले आगामी कात्तिक २२ गतेदेखि मुलुकको औद्योगिक तथा पर्यटकीय सहरको रुपमा प्रसिद्ध विराटनगर र भैरहवाबीच सीधा हवाई उडान सञ्चालन गर्ने भएको छ ।

एयरलायन्स सञ्चालक समितिका अध्यक्ष दिपक पोखरेलले आन्तरिक हवाइयात्रुको माग र मुलुकको पर्यटन प्रवर्धनका लागि प्राथमिकताका कारण कम्पनीले ती दुई सहरबीच सीधा उडान गर्ने निर्णय गरेको बताए ।

विराटनगर प्रदेश नं. १ को राजधानी हो भने भैरहवा भर्खरै अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नति भएको बुद्ध जन्मस्थल नजिकको सहर हो । यी सहरबीच यसअघि सीधा हवाई उडान थिएन ।

यी दुई सहरबीच हवाई यात्राका लागि ५३ मिनट लाग्ने र यसको दूरी २१५ नटिकल माइल रहेको एयरलायन्सका अध्यक्ष पोखरेलले जानकारी दिए ।
विराटनगर र भैरहवाबीच हवाई उडान गर्ने पहिलो सौर्य एयरलायन्स भएको र यसबाट प्रदेश नं. १ र लुम्बिनी प्रदेशका बासिन्दा लाभान्वित हुने उनले बताए ।

लुम्बिनीमा भगवान गौतम बुद्ध जन्मस्थलको भ्रमणमा वर्षेनी पूर्वी नेपालको काँकरभिट्टा र विराटनगरबाट हजारौं भारतीय, भूटानी र म्यानमारका पर्यटक भित्रिने गरेका छन् । उनीहरु यसअघि हवाईमार्गबाट काठमाडौं पुगेर कम्तीमा तीन घण्टा पर्खेर फेरि अर्को जहाँजबाट भैरहवा पुग्ने गरेका थिए ।

“अब त्यो बाध्यता हट्यो, विदेशी पर्यटक र स्वदेशी यात्रुहरु सीधा उडानबाट भैरहवा पुग्न र त्यहाँबाट विराटनगर आउन सक्नुहुन्छ,” एयरलायन्सका अध्यक्ष पोखरेलले भने–“यात्रु महानुभावको समय र लागत दुबै बचत हुन्छ ।”

विगत आठ वर्षदेखि सौर्य एयरलायन्सले नेपालमा आन्तरिक हवाई उडान सञ्चालन गर्दै आएको छ । सीआरजे २०० जेट बिमान नेपालमा भित्र्याउने श्रेय पनि उसैलाई जान्छ । धेरै उचाईबाट उड्ने भएको हुँदा जेट विमानको यात्रा सस्तो, छिटो र सुरक्षित हुने उनको दावी छ ।

कम्पनीले निकट भविष्यमा नेपालगञ्ज र राजविराज विमानस्थलमा समेत उडान थप्ने जनाएको छ । हाल एयरलायन्ससँग ५० सिट क्षमताका तीन वटा जेट विमान छन् । जसमध्ये एउटा मर्मत सम्भारको अन्तिम चरणमा रहेको र दुई जहाज नियमित उडानको क्रममा रहेको छ ।

एयरलायन्सले अहिले काठमाडौंबाट विराटनगर, भद्रपुर, भैरहवा र धनगढीमा दोहोरो उडान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: