स्थानीय चुनाव र हाम्रो दायित्व

  प्रकाशित मिति
१४ फाल्गुन २०७३, शनिबार १६:५४


bishnu rimal

स्थानीय निकायको चुनावको घोषणासँगै देशमा चुनावी सरगर्मी बढी सकेको छ । सामाजिक सञ्जालका भित्ताहरुमा समर्थन, विरोध, शङ्का, आशङ्का, खुसी दुःखका सन्देशहरुले ढाउँ पाउन थालेका छन् । स्ववियु निर्वाचनको सरगर्मी बढी रहँदा घोषणा भएको स्थानीय चुनावले अब सिङ्गो देशलाई नै चुनावमय बनाएको छ ।

अघिल्लो स्थानीय चुनावको छेउ छाउमा बिहे भएका श्रीमान श्रीमतीबाट जन्मिएको सन्तान युवा भईसक्दा समेत हुन नसकेको चुनावले वास्तवमै स्थानीय निकायलाई परिवर्तन गर्नेछ । एउटा सरकारी कर्मचारीको नेतृत्वमा रहेको स्थानीय निकायले अव जनप्रतिनिधि पाउने भएको छ । जनप्रतिनिधि वास्तवमै जिम्मेवार हुनु पर्छ तव मात्र ऊ जनताको सेवक हुन सक्छ भन्ने चेतना राजनीतिज्ञहरुमा क्रमशः पलाउन थालेको छ र पलाउनु पनि पर्छ अनि मात्र देश विकास सम्भव छ । त्यसका लागि स्थानीय निकायले पूलको काम गर्नेछ ।

चुनावको मिति घोषणा हुँदै गर्दा यसभित्र थुप्रै चुनौती, दायित्व र अवसरहरु छन् । सरकारले चुनावको कार्यक्रम घोषणा गरिरहँदा मधेस केन्द्रित दलहरुले विरोधका कार्यक्रमहरु घोषणा गरिरहेका छन् । मधेश केन्द्रित दलहरुले चुनावमा जानका लागि पहिले टेवुल गरिएको संविधान संसोधन प्रक्रियालाई कार्यान्वयन गरिनु पर्ने अनि मात्र आफूहरु चुनावमा भाग लिने अन्यथा आन्दोलन गर्ने बताइरहँदा प्रमुख प्रतिपक्षि दलले चुनाव घोषणाको स्वागत गरेको छ । यी सबै कुराहरुलाई व्यवस्थापन गर्नु पर्ने दायित्व वर्तमान सरकारसँग छ । फेरि पनि जुन आँट र स्पिरिट लिएर सरकारले चुनावको घोषणा ग¥यो त्यो वास्तवमै सराहनीय छ । हामीले राम्रोलाई राम्रो र खरावलाई खराव भन्ने बाँनी बसाल्नु जरुरी छ ।
मधेशवादी दलहरु मात्र होइन देशका विभिन्न भागमा खुलेका क्षेत्रीय पार्टीहरुलाई समेत सम्बोधन गरेर अधिकतम सहभागिता पनि अहिलेको चुनौती हो । चुनाव बहुमत र अल्पमतको खेल हो । बहुमतले अल्पमतलाई शासन गर्ने पद्दति नै प्रजातन्त्र हो । तर यदि अधितम दलहरु चुनावमा सहभागी हुन सकेनन् भने लामो समयपछि हुन लागेको स्थानीय चुनावले समाधान होइन समस्या निम्त्याउँछ । त्यसैले यस्ता क्षेत्रीय पार्टीको कुराहरुलाई सम्बोधन गर्दै अधिक्तम लचकताका साथ प्रस्तुत भएर सबैलाई सहभागी गराउनु अहिलेको दायित्व हो । कुनै पनि समस्यालाई पर धकेल्नु समाधान होइन, त्यसलाई निर्क्यौल गर्नु चाहिँ समाधान हो । त्यसैले अहिलेको अवस्थामा देखिएका अधिकतम समस्यालाई समाधान गर्नु अहिलेको आवश्यकता हो ।

त्यसैगरी राज्यको पुनसंरचना अहिलेको चुनावका लागि अप्ठ्यारो खुडकिलो बन्न सक्छ । चुनाव पुनःसंरचना आयोगले गरेको सिफारिस अनुसार हुने वा पहिलेकै अवस्थामा हुने हो त्यो पनि वर्तमान अवस्थाको चुनौती हो । यहाँ आयोगको सिफारिस भन्दा अघि वा पछि जुनसुकै अवस्थामा चुनाव गराउँदा पनि समस्या हुन सक्छ । यसको उचित निकास पनि अहिलेको मुख्य चुनौती हो । चुनौतीबाट पन्छन खोज्यो भने यसले समस्या ल्याउँछ तर चुनौतीको समाधान खोज्यो भने यसले अवसर ल्याउँछ । त्यसैले वर्तमान चुनौतीको समाधान खोजेर देशका लागि एउटा राम्रो अवसरको रुपमा चुनावलाई लिनु पर्दछ ।

२०६३ को जनआन्दोलनले पनि माग नगरेको संविधान र राज्यको पूनःसंरचनाको मुद्दा पेचिलो बन्दै गइरहेको छ । देशका लागि सङ्घीयता नखाउ त दिन भरिको सिकार खाउँ त कान्छा बाबुको अनुहार भएको छ । संविधानको बहसका कारण एक मधेश एक प्रदेशदेखि मदेश नै टुक्र्याउने सम्मका धम्कीहरु आउन थालेका छन् । यसको समाधान खोजिन जरुरी छ । अहिले पनि सङ्घीयताको पक्ष र विपक्षमा जनमत गर्ने हो भने सङ्घीयताको विपक्ष बलियो बन्ने निश्चित छ । सङ्घीयता तात्कालिन अवस्थामा केही राजनीतिक पाटीहरुले आफूलाई बढी क्रान्तिकारी देखाउन थालेको फण्डा हो भन्दा केही फरक पर्दैन । राष्ट्रिय जनावर, पंक्षी लगायत परिवर्तनको माग राख्दै झण्डासम्म परिवर्तन गर्न खोज्ने क्रान्तिकारीहरुका लागि एउटा अराजकता निम्त्याउने बहस मात्र थियो सङ्घीयता । सङ्घीयताको नारा जुन अहिले सबैलाई घाँडो भईरहेको कुरा कसैबाट छिपेको छैन । फेरी पनि यी सबै मागको व्यावस्थापन पनि नगरी भएको छैन । त्यसका लागि संविधान घोषणाताका देखिएको राजनीतिक दल बीचको एकता अहिलेको आवश्यकता हो । अव देश बनाउने इच्छा शक्ति राजनीतिक दलमा आउनु जरुरी छ ।

आज व्यक्तिगत इच्छा शक्तिमा धुरमुस सुन्तलीले एउटा सिङ्गो बस्ती बसाउन सक्छन् भने राज्यले इच्छा शक्ति देखाउने हो भने राज्य परिवर्तन हुन बेर लाग्दैन । यदि देश बनाउनका लागि गरिएको राजनीति हो भने देशले अप्ठ्यारो बाटा पार पाउन खोजिरहेका बेला सबै एक जुट हुन जरुरी रहेको छ । अनि हामी जनताले पनि वाद र पाटीमात्र भन्दा पनि असल नेतृत्व छानेर अगाडि बढ्नु पर्दछ । स्थानीय निकाय भनेको हामी आम सर्वसाधारणसँग प्रत्यक्ष जोडिने निकाय भएकाले कुनै पनि वाद वा पार्टी भन्दा पनि असल व्यक्तिको नेतत्वका लागि हामीले अगाडि बढ्नु जरुरी छ । स्थानीय निकायमा असल नेतृत्व हाम्रो मुख्य दायित्व बन्न जरुरी छ ।

कुनै पनि कुरालाई नकारात्मक तरिकाले व्याख्या गर्ने प्रचलन बढी रहेको हाम्रो समाजमा अहिले घोषणा भएकै मितिमा चुनाव हुन्छ नै भन्नेमा धेरैलाई आशङ्का लागिरहेको छ । तर हामीले कुनै पनि कुराको सदैव नकारात्मक व्याख्या गर्नु भन्दा पनि सकारात्मक कुरा गरेर माहोल बनाउनु पर्छ । अव चुनाव हुँदैन भन्दा पनि हुन्छ भन्ने कुरामा हामी दृढ होआँैं । सरकारले चुनाव घोषणा गरिसक्यो अव यसलाइ सही निकास दिने दायित्व हाम्रो पनि हो । त्यसैले हामी सबैले हाम्रो कर्तव्य र दायित्व पालना गर्ने हो भने अब देश बन्न बेर लाग्दैन । त्यसको पहिलो खुड्किलो स्थानीय निकायको चुनाव हो त्यसका लागि सबै एक जुट होऔं ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: