मेचीनगरले अब के गर्नुपर्छ ?

  प्रकाशित मिति
२ श्रावण २०७७, शुक्रबार १७:३०


 

                                                       शान्तिराम ढुंगेल

स्थानीय निर्वाचन सम्पन्न भएको तीन वर्ष पूरा भएको छ । स्थानीय तहले अपेक्षाकृत रुपमा जनताका आशाहरुको सम्बोधन गर्न नसके पनि जनप्रतिनिधि उपस्थितिको अनुभूत गराएका छन् । लामो समयदेखि खाली रहेका स्थानीय निकायले निर्वाचनपछि विस्तारै विकासको गति लिन थालेका छन् । देशैभरि भ्रष्ट्राचारको दुर्गन्ध फैलिएको समयमा मेचीनगरमा भने त्यो सुन्नुपरेको छैन । देखिने गरी अनियमितता नहुँदा सुस्त गतिमा भइरहेको विकासलाई पनि नगरवासीले स्वीकृति दिएका छन् ।

अब पनि स्वास्थ्य, शिक्षा, रोजगारी तथा विकास निर्माणले गति लिने कुरामा नगरवासी आशावादी रहेका छन् । नगरपालिकाले त्यसलाई कसरी सम्बोधन गर्दै लैजाने हो त्यो हेर्न बाँकी छ । विगतका तुलनामा यहाँका जनता हरेक रुपमा सचेत छन् । हरेक सार्वजनिक कुरामा चासो राख्नुका साथै सहभागिता उनीहरुले खोजिरहेका छन् जुन विकास निर्माण तथा सुशासनका लागि अपरिहार्य छ । नगरलाई भ्रष्ट्राचारमुक्त बनाउनमा नगरवासीले खेलेको भूमिका सृजनात्मक छ । सामाजिक सञ्जालमा निरन्तर अभिव्यक्त हुने सार्वजनिक चासाको विषयले पनि नागरिक सचेतना र खबरदारीलाई चुस्त राख्न सहयोग गरेको छ ।

मेचीनगरपालिका पूर्वी नेपालको एक सुन्दर अनि विकासको सम्भावना बोकेको नगरपालिका हो । यसले गर्ने सर्वाङ्गीण विकास र सुशासनका आधारमा यो नगरपालिका भोलिको उपमहानगर पालिकाको बाटोमा अगाडि बढ्नेछ । त्यसका लागि अहिलेको नेतृत्वले सुझबुझपूर्ण तरिकाले दीर्घकालीन नगरविकासका योजना बनाउनुपर्ने हुन्छ । जुन पाँच वर्षमा पूरा नभए पनि त्यसले स्पष्ट विकासको मार्गचित्र कोर्न सकोस् र दूरगामी प्रभाव जगाउन सकोस् । अबको दुई वर्षपछि पुनः चुनाव हुनेछ र फेरि जनप्रतिनिधि चुनिने छन् । उनीहरुले अघिल्ला जनप्रतिनिधिले बनाएको योजनाभित्र बसेर काम गर्न पाए भने समयकको सदुपयोग हुनाका साथै विकासको गति सोचे अनुरुप हुनेछ । त्यसो गर्न सके अरुले सुरु गरेको राम्रो कामको अनुशरण गर्ने संस्कारको पनि विकास हुनेछ जुन हाम्रो समाजमा बिरलै देख्न पाइन्छ । मानव सभ्यताको लागि स्वयम् मानवले नै विकास, विस्तार र सिर्जना गर्दै आएको सम्पत्ति नै शिक्षा हो । देशका सम्पूर्ण पक्षको विकासका लागि शिक्षाले महत्वपूर्ण भूमिका खेल्दछ । त्यहाँको जनशक्ति कस्तो प्रकारको छ भन्ने कुरा त्यहीँको शैक्षिक गुणस्तरले निर्धारण गर्दछ । त्यसैले प्रत्येक राष्ट्रले शिक्षा क्षेत्रमा उल्लेख्य मात्रामा लगानी गरेको हुन्छ ।

मेचीनगर पालिकालाई समृद्ध अनि विकसित तुल्याउन यहाँको शैक्षिक स्तरलाई माथि उठाउनु जरुरी छ । मेचीनगरभित्रका सामुदायिक विद्यालयको वार्षिक परीक्षाफल त्यति सन्तोषजनक छैन । गुणस्तरीयताका दृष्टिले पनि हामी पछाडि छौँ । च्याउसरि उम्रिएका अङ्गे्रजी माध्यमका निजी विद्यालयमा जसरी भए पनि छोराछोरी पढाउनु पर्ने संस्कृतिको विकास भैरहेको छ । यहाँका सामूदायिक विद्यालयमा दिनप्रतिदिन विद्यार्थी सङ्ख्या घट्दो छ भने निजी विद्यालयमा छोराछोरी पढाउन नसक्ने अभिभावकले हिनताबोध गर्नुपर्ने अवस्था र्सजना भएको छ । यसले स्पष्ट रुपमा शैक्षिक केन्द्रलाई दुई भागमा विभक्त गर्दै लगेको छ । आर्थिक रुपमा पछाडि परेका चिया मजदुर तथा घरमा काम गर्न राखेका बालबालिकाका लागि मात्र सरकारी विद्यालय हो भन्ने आम धारणा बन्दै गएको छ । यस किसिमको असमानतालाई कम गर्न सामुदायिक विद्यालयको स्तरोन्नतिका लागि नगरस्तरबाटै विशेष भूमिका खेल्नुपर्ने देखिन्छ । त्यसका लागि भवन, शैक्षिक सामग्री, दक्ष एवम् तालिम प्राप्त शिक्षक तथा सिकाइ वातावरणलाई प्राथमिकताका साथ हेर्नुपर्दछ । व्यवस्थापन समितिलाई पार्टीगत भागबण्डाभन्दा माथि राखेर शैक्षिक उन्नयनमा टेवा दिन सक्ने अनुभवी व्यक्तिको चयन गर्न सके शैक्षिकस्तर माथि जान सक्छ । सरकारी विद्यालयमा अध्यापन गराउने शिक्षकलाई जसरी सम्मानका साथ हेरिन्छ त्यसरी नै विद्यार्थीलाई पनि सरकारी विद्यालयमा पढ्दा गर्वानुभूति हुनुपर्दछ । त्यसको एक मात्र बाटो भनेको शैक्षिक गुणस्तमा वृद्धि नै हो ।

मेचीनगरभित्र आज पनि विद्यालय नजाने, गए पनि प्राथमिक तह पनि पूरा नगरी विद्यालय छाड्नेको सङ्ख्या ठूलो छ । त्यसको तथ्याङ्क सङ्कलन गरी विद्यालय नजानु र बीचमै विद्यालय छाड्नुका कारण खुट्याउनु पर्छ । चिया मजदुरका छोराछोरी माछा मारेर अनि वस्तु चराएर अमूल्य समय व्यतीत गरिरहेका छन् । त्यसैगरी गाडीमा काम गर्ने खलासी, विभिन्न इटाभट्टा तथा घरायसी कामदारका रुपमा रहेका बालबालिकाहरु पनि शिक्षाबाट बञ्चित छन् । त्यस्ता बालबालिकालाई प्राथमिकताका साथ खोजी गरी विद्यालयसम्म ल्याउन सके सबै बालबालिका शिक्षाको उज्यालोबाट बञ्चित हुने थिएनन् । पाठ्यक्रम विकास केन्द्रले निर्माण गरेको पाठ्यव्रmमको पाठ्यभार न्यूनतम २२० दिन तोकेको भए पनि सरदर १९० दिनभन्दा माथि पठनपाठन हुनसकेको पाइँदैन । अझ यस पटक त कोरोना भाइरसका कारण अहिलेसम्म विद्यालय खुल्न सकेका छैनन् । अनलाइन कक्षाहरु छिटफुट रुपमा सञ्चालन भए पनि त्यो प्रभावकारी छैन । अधिकांश विद्यार्थीसँग मोबाइल, ल्यापटप तथा नेट उपलब्ध छैन । कोरोना कहरपछि सामुदायिक विद्यालयमा विद्यार्थी घट्न सक्छन् । त्यसलाई ध्यानमा राख्दै नगरले विद्यार्थीहरुलाई विद्यालय फर्कने वातावरण निर्माणमा भूमिका खेल्नुपर्छ ।

मेचीनगरमा रहेका राजबंशी, सतार, उराउ , झाँगड, मेचे, धिमालजस्ता आदिवासीका बालिकाहरुका लागि पनि विशेष कार्यव्रmम ल्याउनु पर्दछ । सरकारले तोकेबमोजिम उपलब्ध गराउनु पर्ने निश्चित छात्रवृत्ति पनि यहाँका निजी विद्यालयले लक्षित वर्गलाई उपलब्ध गराएका छैनन् । त्यसलाई पनि नगरपालिकाले अनुगमन गरी लक्षित वर्गसम्म पुर्याउनुपर्ने हुन्छ । सूचना प्रविधिको विकास र विस्तारसँगै आजका विद्यार्थीमा पठन संस्कृतिमा ह्रास आएको छ । पत्रपत्रीका पढ्ने अनि पुस्तकहरु अध्ययन गर्ने बानी हट्दै गएको छ । त्यसैले बालबालिकालाई ज्ञानविज्ञानका क्षेत्रमा अगाडि बढाउन ठाउँठाउँमा पुस्तकालयहरु स्थापना गर्नुपर्छ । स्वास्थ्य नै मानिसको पहिलो धन हो । स्वस्थ मानिसले मात्र विकासनिर्माणका हरेक क्षेत्रमा राम्ररी भूमिका खेल्न सक्दछ । त्यसैले सहज रुपमा स्वास्थ्यसेवा पाउनुलाई जनताको मौलिक हकका रुपमा राखिएको छ ।

मेचीनगर पालिकालाई समृद्ध बनाउनका लागि यहाँको जनशक्ति स्वस्थ हुनु जरुरी छ । आजको अप्राकृतिक अनि विषादीयुक्त भोजनले मानव स्वास्थ्यमा दिनप्रति दिन नकारात्मक असर गरिरहेको छ । त्यसैले प्रत्येक नागरिकले आफ्नो स्वास्थ्यका लागि ठुलै रकम छुट्याउनु पर्छ । मेचीनगरभित्र विशेषज्ञसहितको एउटा पनि अस्पताल छैन । सानोतिनो रोगको निदानका लागि पनि कि त पारी तर्नुपर्ने कि अन्यत्र जानुपर्ने अवस्था रहेको छ । त्यसैले यहाँका जनताले निक्कै दुःख पाइरहेका छन् । त्यसको एक मात्र समाधानका लागि भौतिक पूर्वाधार सम्पन्न विशेषज्ञसहितको अस्पताल निर्माण गर्नुपर्ने हुन्छ । त्यसलाई विस्तारै शिक्षण अस्पतालमा विकास गरी अध्ययन अनुसन्धानमा समेत लाग्न सकियो भने मेचीनगरले स्वास्थ्य क्षेत्रमा त फड्को मार्ने नै छ त्यसका साथै यहाँका विद्यार्थीलाई चिकित्सा शास्त्र पढ्ने अवसर पनि मिल्ने छ ।

मेचीनगरभित्र रहेका चिया बगानका कतिपय मजदुरहरु रोग लाग्दा अस्पताल नै नपुगी ज्यान गुमाइरहेका छन् । त्यसै गरी अधिकांश राजबंशी समुदायमा झारफुकप्रतिको गहिरो विश्वासका कारणले गर्दा पनि अकाल मृत्यु हुनेको सङ्ख्या ठुलै छ । मदिराजन्य पदार्थको बढ्दो प्रयोगले अशिक्षित तथा अर्ध शिक्षित युवालाई नराम्ररी गाँजेको छ । यो विकराल बन्दै गएको समस्याको न्यूनीकरण स्थानीय सरकारको प्राथमिकतामा पर्नुपर्छ । प्राकृतिक भोजन नित्य व्यायाम, स्वस्थ जीवनका दुई आयाम को नारालाई सबैका माझ पुर्याउनु आजको टट्कारो आवश्यकता भएको छ । स्वास्थ्य क्षेत्रमा यसरी अगाडि बढ्न सकियो भने ठुलो धनराशी बाहिरिनबाट जोगिने छ ।
कुनै पनि क्षेत्रको उन्नति र प्रगतिको सूचक त्यहाँको खेलकूद पनि हो । खेलकुदले मानिसको शारीरिक, मानसिक विकासका साथै स्वस्थ रहन मद्दत गर्दछ । झापा जिल्ला व्रिmकेट, भलिबल तथा फुटबलका लागि उर्वर मानिन्छ । अन्य खेलकुद प्रतियोगिताहरु पनि विभिन्न समयमा यहाँ आयोजना गरिन्छन् तर ती खेलहरु मात्र औपचारिकतामा सीमित रहन्छन् । मेचीनगरबाट केही राष्ट्रिय खेलाडी छनौट नभएका होइनन् तर तिनले निरन्तरता पाउन सकेनन् । त्यसैले मेचीनगरले अब खेलकुदको पाटोलाई पनि उत्तिकै प्राथमिकताका साथ अगाडि लैजानु पर्छ । मेचीनगर फुटबल तथा क्रिकेटका लागि नेपाललगायत भारतका सिलिगुडी, सिक्किम तथा दार्जिलिङको पनि केन्द्र बन्नसक्छ ।

कम्तिमा एउटा राष्ट्रिय स्तरको रङ्गशाला निर्माणलाई मेची नगरले पहिलो सूचीमा राख्नुपर्छ । त्यसका साथै अहिले विभिन्न स्थानमा रहेका मैदानहरुको स्तरोन्नति गरी कम्तिमा एक वडामा एक मैदान निर्माण गर्नुपर्दछ । वार्षिक रुपमा गरिने खेलकुद सप्ताहलाई नगरपालिकाको क्यालेण्डरमै समावेश गरी यहाँ रहेका विद्यालयलाई पनि खेलकुदका कार्यक्रमहरु आफ्नो क्यालेण्डरमा समावेश गर्नका लागि अनुरोध गर्नुपर्दछ । मेची नगरमा रहेका पन्ध्र वडाका बिच समय समयमा फुटबल, भलिबल तथा क्रिकेट प्रतियोगिता गरी प्रतिस्पर्धा गराउन सकेको खण्डमा मेचीनगरबाट राष्ट्रिय खेलाडी उत्पादन गर्न सकिने छ । युवावर्गमा खेलकुलप्रति ज्यादै लगाव रहेको हुन्छ तर उपयुक्त वतावरण तथा स्थानको अभावका कारण भएको जोस जाँगर मर्दै जान्छ । त्यस किसिमको खेलकुदप्रतिको उर्जाशील तत्परतालाई मर्न नदिन नगरपालिकाले भूमिका खेल्नुपर्ने हुन्छ । नगरभित्रका सुषुप्त अवस्थामा रहेका विभिन्न क्लबहरुलाई केही आर्थिक सहयोगका साथ ब्यूँताउन सकियो भने खेलकुदका क्षेत्रमा ती क्लबहरुलाई उभ्याउन सकिन्छ ।

यस नगरपालिकामा दिन प्रतिदिन लागु पदार्थ सेवन गर्नेको सङ्ख्या बढ्दै गएको छ । युवाहरुलाई लागु पदार्थको दुव्र्यसनबाट जोगाउनु मेचीनगरको प्रमुख चुनौति हो । विशेष गरी खेलकुदले युवा वर्गलाई आकर्षित गर्ने हुनाले खेलमा लागेका युवाहरु कुलतमा लाग्ने सम्भावना पनि कम हुन्छ । त्यसैले युवाहरुको सुबाटोको व्यवस्थापनका लागि खेलकुदको अनिवार्यतालाई नगरपालिकाले बुझ्नु जरुरी छ । ‘रोजगार खोज्ने होइन सृजना गर्ने हो’ भन्ने अभियानका साथ मेचीनगरले युवाहरुलाई आधुनिक तथा व्यावसायिक कृषिमा आकर्षित गर्नुपर्दछ । मेचीनगरको जमिनको उर्वरा शक्ति बलियो छ । आफ्नो श्रम बिक्री गर्न खाडीमा भौँतारिने यहाँका युवाहरुलाई व्यावसायिक कृषिमा आकर्षित गर्न सकेको खण्डमा बिस्तारै हामी खाद्यान्नमा आत्मनिर्भर हुन सक्छौँ । नेपालमै सबैभन्दा बढी धान फल्ने जिल्लाका रुपमा परिचित भएर पनि हाम्रो जिल्लाले ठुलो मात्रामा भारतबाट चामल आयात गर्ने गरेको छ । त्यसैगरि साठी प्रतिशतभन्दा बढी तरकारी पनि पारीबाट नै आउँछ ।

जबसम्म हामी कृषिजन्य कुरामा आत्मनिर्भर हुन सक्दैनौ तबसम्म आर्थिक रुपले सम्पन्न बन्न सक्दैनौ । त्यसैले आर्थिक फड्को मार्नका लागि हामीले व्यावसायिक कृषिमा युवाहरुलाई आकर्षित गर्नै पर्छ । कृषिमा युवाहरुलाई आकर्षित गर्न सर्वप्रथम उनीहरुलाई कृषिबाट पनि आम्दानी गर्न सकिन्छ भन्ने भरोसा दिलाउनु पर्छ । त्यसका साथै व्यावसायिक तालिमको अवसर दिइ सहुलियत ऋण तथा अनुदानको व्यवस्था गर्न सकेमा कृषिमा आकर्षण बढ्न जान्छ । कृषक समूहको निर्माण गरी उत्कृष्टताका आधारमा अनुदानमा बढोत्तरी गर्न सके प्रतिस्पर्धाका आधारमा व्यावसायिक कृषि अगाडि बढ्ने छ । उत्पादित वस्तुको बजारीकरणमा पनि नगरपालिकाले विशेष ध्यान पुर्याउनु पर्छ । नगरभित्र उत्पादन भएका तरकारी तथा फलपूmललाई विशेष ग्राह्यताका साथ नेपालका बजारमा उभ्याउनु पर्छ । उत्पादित वस्तु भारतीय बजारमा समेत निकासी गर्न सकिएमा आर्थिक उन्नतिमा टेवा पुग्नाका साथै अधिक विषादीयुक्त तरकारीको आयातमा कमी आउनेछ जसले हामीलाई दोहारो फाइदा पुर्याउनेछ ।

त्यसैगरी हाल मेचीनगरभित्र रहेका मत्स्य व्यवसाय तथा पशु पालन व्यवसायलाई अझ व्यावसायिक रुपमा अगाडि बढाउन कृषकहरुलाई प्रोत्साहित गर्नुपर्छ । त्यसका लागि सहुलियत ऋण तथा अनुदानलाई लक्षित वर्गसम्म पुर्याउनु पर्छ । पशु बिमालाई सहुलियत दर निर्धारण गरी अनिवार्य गर्न सकियो भने किसानले ठुलो घाटा बेहोर्नु पर्दैन । मेची नगरमा उत्पादित दुधको बजार नेपाल मात्र नभइ भारतसमेत रहेकाले गाई फारमलाई विशेष प्राथमिकता दिनु जरुरी छ । मेची नगरपालिकाका कतिपय ठाउँमा कृषियोग्य जमिन प्लटिङको नाममा वषौँदेखि बाँझै रहेका छन् । व्यवस्थित बसोवासको वैज्ञानिक आधार खोजी निश्चित मापदण्ड अपनाएर कृषियोग्य जमिनलाई प्लटिङ गर्नबाट जोगाउनु पर्छ । आफ्नो खेत बाँझै राखी चामल तरकारी किन्न पारी जाने प्रवृत्तिलाई निरुत्साहित गर्नका लागि बेलाबेलामा कार्यव्रmमहरु आयोजना गरी छलफल गर्नु पर्दछ । त्यसैगरी कृषिविज्ञहरुको भेला गरी मेचीनगरमा नगदे बालीको सम्भाव्यताको विषयमा अन्तर्कि्रया गर्न सके नयाँ किसिमका नगदे बालीलाई भित्र्याउन सकिन्छ । परम्परागत खेतीलाई पनि यथावत् राख्दै आधुनिक खेतीमा जोड दिँदा दुबै प्रकारका खेतीलाई निरन्तरता दिन सकिन्छ । युवाहरुमा देखिएको विलासी अनि अल्छीपनालाई कम गर्नका लागि पनि युवालाई कृषिमा लगाउनु अपरिहार्य बन्दै गएको छ ।

अन्त्यमा मेचीनगर पालिकाको वृहत्तर विकास र समृद्धिका लागि सञ्चार, यातायात, पर्यटन तथा औद्योगीकरणलाई पनि समयव्रmमसँगै प्राथमिकतामा राख्नुपर्दछ । नगरविकासको गुरु योजना निर्माण गरी अविलम्ब त्यसको कार्यान्वयनतर्फ जान सके हामी सुन्दर भविष्यतिर यात्रा गर्नेछौँ । कार्य सम्पादनका व्रmममा केही बिरोधका स्वरहरु सुनिन सक्छन् त्यसलाई चिर्दै विकासको सपना साकार पार्न निरन्तर अगाडि बढ्नु जरुरी हुन्छ । अहिलेको नेतृत्वले मेची नगरमा विकासको गोरेटो मात्र कोर्न सके पनि त्यो भोलिकका लागि बलियो आधार बन्नेछ । केही समयपछि अर्को नेतृत्वलाई नगर हस्तान्तरण गर्दा स्पष्ट रुपमा दश वर्षपछिको समृद्ध मेचीनगरको प्रतिबिम्ब देखिने छ । हाम्रो नगर कस्तो बनाउने हाम्रै हातमा छ ।

( लेखक लोफोफोरस स्कुल काँकरभिट्टाका शिक्षक हुन् )

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: