स्थानीय सरकारको साथी रेडियो

  प्रकाशित मिति
१ फाल्गुन २०७४, मंगलवार १०:४४


आज फेब्रुअरी १३ अर्थात विश्व रेडियो दिवस । रेडियोसँग प्रत्यक्ष र परोक्षरुपमा सम्मिलित विश्वका सम्पूर्ण रेडियो अभियन्ताहरुका लागि आज एउटा खुसीको क्षण हो भने रेडियोको प्रसारणलाई थप जनमुखी र स्थानीयस्तरको आफ्नोपनबाट हुर्काउन आजको दिनलाई चुनौतीका रुपमा स्मरण गर्ने दिन पनि हो ।

नेपालमा सबैभन्दा सरल र सजिलो सूचनाको माध्यमकारुपमा रेडियोलाई लिने गरिन्छ । त्यसको मुख्य कारण नेपालको भौगोलिक अवस्थिति नै हो, त्यसकै कारण पनि पछिल्लो समय संख्यात्मक रुपमा रेडियोको बृद्धि भइरहेको छ । हाम्रो जस्तो देशमा पत्रपत्रिका र टेलिभिजनको पहुँच दूरदराजका गाउँहरुसम्म सहज नभएको अवस्थामा रेडियो नै सूचना पाउने पहिलो माध्यमका रुपमा रहेको छ ।
त्यसैको फलस्वरुप पछिल्ला वर्षहरुमा स्थानीय रुपमा एफएम रेडियोको संख्या ह्वात्तै बढेर गएको छ । यद्यपि स्थानीय रेडियोहरुको संख्यात्मक बृद्धिका अन्य थुप्रै कारणहरु हुन सक्छन् । हाल नेपालमा ५ सय भन्दा बढी एफएम रेडियोहरु प्रसारणमा रहेका छन् भने थप एक सयको संख्यामा सञ्चार मन्त्रालयमा अनुमतिको पर्खाइमा भएको सञ्चार मन्त्रालयको तथ्याङ्क छ ।

झापामा मात्र प्रसारणमा रहेका रेडियोको संख्या १५ पुगिसकेको छ । केही समय अघि झापामा प्रसारण हुने रेडियोको संख्या १७ थियो । विभिन्न कारणले झापाका दुईवटा रेडियोको प्रसारण बन्द भयो । नेपाल सरकारको स्वामित्वमा रहेको रेडियो नेपाल बाहेक पनि नेपालमा प्रसारणमा रहेका रेडियोहरु संरचनाका हिसाबले मुलतः तीन प्रकारका छन् ।

पहिलो समुदाय केन्द्रीत संघसंस्था अर्थात गैरसरकारी संस्था र सहकारी संस्थाहरुमा प्रसारण अनुमति रहेका रेडियोहरु, दोस्रो कम्पनी ऐन अन्तर्गत कम्पनी रजिष्टार कार्यालयमा दर्ता रहेका निजी कम्पनीहरुमा प्रसारण अनुमति रहेका रेडियोहरु र तेस्रोमा स्थानीय समुदायको समेत सहभागिता रहेका नेपाल सरकारका विभिन्न निकाय वा कार्यालयहरु, नेपाल प्रहरी, शैक्षिक संस्थाहरु लगायतमा प्रसारण अनुमति रहेका रेडियोहरु छन् ।

यिनै रेडियोहरुले आम नागरिकलाई सूचना, मनोञ्जन, जनचेतनामूलक सामाग्रीहरु प्रसारण गरेर सूचनाको पहुँच घरघरसम्म पु¥याइरहेका छन् । त्यसैले नेपालमा रेडियोलाई राज्य र नागरिक दुवैपक्षले सूचनाको शक्तिको रुपमा लिएको देखिन्छ ।

रेडियोको संख्या बृद्धिसँगै नेपालमा यसले एउटा सेवामूलक उद्योगको रुप लिँदै गएको छ । हाल सञ्चालित रेडियोमा प्रशासनिक र प्रशारणमा हजारौँ युवाले रोजगारीको अवसर पाएका छन् भने आम नागरिकको दैनिक जीवन भोगाइमा समेत रेडियोले सकारात्मक परिवर्तन ल्याएको देखिन्छ । या भनौँ नेपाली समाजले रेडियोलाई एउटा अभिन्न साथीको रुपमा स्वीकार गरिसकेको छ ।
समाज रुपान्तरणमा नेपाली रेडियोको उपयोग जे जसरी भइरहेको छ, त्यसको दायरा फराकिलो बनाउनु अझै थप केही गर्न जरुरी छ । आजका दिनसम्म केही विशेष परिस्थिति बाहेक रेडियोको व्यवस्थापन र कार्यरत रेडियोकर्मीहरुलेआन्तरिक छलफलबाट मात्रै कार्यक्रम र अन्य सूचनामूलक सामाग्री प्रसारण गर्ने गरेका छन् ।

हाम्रो समाजमा आज पनि रेडियोबाट प्रसारण हुने कार्यक्रम तथा अन्य सामग्री निर्माणमा स्थानीय समुदायको प्रत्यक्ष सहभागिता रहेको देखिदैन । या भनौँ रेडियोले प्रसारण गरेको सुन्नु नै स्रोता वा स्थानीय समुदायको बाध्यता भएको छ । यसो भनिरहँदा अहिले समुदायको प्रत्यक्ष सहभागितामा निर्माण भइरहेका रेडियो कार्यक्रमलाई अवमूल्यन गर्न खोजिएको भने होइन ।

यहाँ प्रसङ्ग के मात्र उठान गर्न खोजिएको हो भने तयार गरिएको कार्यक्रममा स्थानीयको सहभागिता र नयाँ कार्यक्रम निर्माणको तयारी गर्दा नै स्थानीयबासीको सहभागिता बीचको फरकको मात्र विषयलाई राख्न खोजिएको हो । आजका दिनसम्म पनि रेडियोहरुले कार्यक्रमको तयारी गरिसकेपछि स्थानीयको सहभागिता गराएर कार्यक्रमलाई पूर्णता दिने गरेका छन् । तर, कुनै पनि रेडियो कार्यक्रम निर्माण गर्ने तयारीकै बेला स्थानीय समुदायको प्रत्यक्ष सहभागिता गराएर उनीहरुको अपेक्षा अनुरुप कार्यक्रम निर्माण गर्नेतर्फ धेरैको ध्यान गएको देखिदैन ।

रेडियोहरुको संख्यात्मक बृद्धिसँगै यसतर्फ पनि हामी रेडियोकर्मीहरुले सोच्नुपर्ने बेला आएको छ । कार्यक्रमको प्रकृति र त्यसको लक्षित स्रोतालाई मध्यनजर गरेर झापालगायत अन्य जिल्लामा समेत पनि केही रेडियोहरुले रेडियो कार्यक्रम तयारीकै क्रममा स्थानीयको सहभागिता गराउने क्रमको सुरुवात गरेको देखिन्छ । यसले अहिलेसम्म सुन्न मात्र सहभागिता जनाएको स्रोताको तर्फबाट समेत पनि रेडियो कार्यक्रम निर्माणमै आफुलाई उभ्याउने अवसर प्राप्त भएको छ ।

नेपाली रेडियोको प्रसङ्ग उल्लेख गर्दैगर्दा अर्को महत्वपूर्ण बिषय भनेको त्यहाँ कार्यरत जनशक्ति पनि हो । पाँचसय भन्दा बढी रेडियोमा प्रत्यक्ष रुपमा रोजगारीमा रहेका जनशक्तिलाई नजिकबाट नियाल्ने हो भने ती सबै युवा जनशक्ति छन् । जसलाई आज नै सकारात्मकतर्फ उन्मुख गराउने हो भने एकैपटक र एकैक्षण सम्पूर्ण नेपाली नागरिकलाई सकारात्मक रुपान्तरणको सन्देश दिनसक्ने माध्यम हामीसँग तयारी अवस्थामा छ ।

नेपालमा रेडियोको जुन रुपमा संख्यात्मक विकास भयो त्यसको तुलनामा तिनीहरुको गुणस्तरीयतामा भने सम्बन्धित पक्षले खासै ध्यान दिएको देखिदैन । विश्वका अधिकंश मुलुकहरुमा एफएम रेडियोहरुलाई शुद्ध मनोरञ्जनको रुपमा प्रयोग गरेको देखिन्छ भने बेलायतमा स्थानीय रेडियोहरुलाई तत्कालको मौषम जान्नका लागि आम नागरिकले बढी प्रयोग गरेको देखिन्छ । जे जसरी भए पनि एफएम रेडियोहरुले स्थानीयको विश्वास आर्जन गरिरहेका छन् । तर, नेपालको परिप्रेक्ष्यमा स्थानीय रेडियोहरुको प्रयोग अलि फरक ढङ्गबाट गरिएको छ ।

यहाँका रेडियोहरुले प्रसारणका हिसावले विश्वका अन्य मुलुकमा भन्दा अलि फराकिलो दायरा राखेका छन् । चाहे त्यो प्रसारण क्षमताका हिसावले नै किन नहोस् वा प्रसारण सामग्रीका हिसावले नै किन नहोस् । त्यसो त छिमेकी देश भारतमा नै पनि एफएम रेडियोहरु गीत सङ्गीतको प्रसारणमा मात्र सीमित छन् । अर्को छिमेकी देश बङ्गलादेशमा पनि एफएम रेडियोहरुले राजनीतिक कुरा गर्न पाउँदैनन् । बङ्गलादेशी रेडियोहरुमा विकास र कुरीतिबिरुद्ध जनचेतना कुरा मात्र प्रसारण हुन्छन् ।
२०५४ सालदेखि नेपालमा सरकारदेखि बाहिर पनि रेडियो सञ्चालनको अनुमति पाएको भए पनि ०६२÷०६३ सालको जनआन्दोलनको सफलतासँगै नयाँ परिवेशमा रेडियोहरुको स्थापनाले तिब्रता पायो । त्यति मात्र होइन नेपाली भूगोलमा रेडियोहरु समाज रुपान्तरणका सबैभन्दा उपयोगी साधनका रुपमा पनि प्रयोगमा आएका छन् । रेडियोलाई शक्तिको रुपमा बुझेर नै नेपालमा क्रियाशील राजनीतिक दलहरुले आफ्नो सङ्गठनात्मक संरचनाभित्र पनि रेडियो प्रसारणलाई प्रवेश गराएको देखिन्छ ।
जनयुद्धकालमा तत्कालीन नेकपा माओबादीले सुरुङ खनेर होस् वा डोकोमा बोकेर नै किन नहोस् आफ्ना गतिविधि बाहिर ल्याउन रेडियोकै प्रयोग गरेको इतिहास हामीले भोगिसकेका छौँ भने अन्य राजनीतिक दलले समेत अघोषित रुपमा नै भए पनि आफ्ना कार्यकर्तालाई रेडियोतर्फ उन्मुख गराएका छन् ।
नयाँ संरचनाका हिसावले पनि मुलुकको धेरै कामहरु स्थानीय तहबाट सम्पादन हुने कानूनी व्यवस्था भएको अवस्थामा स्थानीय रेडियोहरुको भरपुर प्रयोग गर्नुले विकास निर्माणमा मात्र होइन, सरकारी सेवासुविधा जनजनसम्म पु¥याउने काममा पनि सहजता हुनेछ ।

स्थानीय सरकारको साथीका रुपमा रेडियोहरुले काम गर्न सक्छन् । यदि स्थानीय सरकारले आफ्नो गाउँ तथा नगरमा भएका रेडियोलाई सही ढङ्गबाट प्रयोग गर्न सक्ने हो भने जनप्रतिनिधिको सबैभन्दा भरपर्दो सहयोगीको रुपमा रेडियोले काम गर्ने निश्चित छ ।

आम नागरिकको सूचनाको पहिलो रोजाइका रुपमा मात्र होइन, कि मानिसको व्यवहार परिवर्तनमा समेत रेडियोहरुकै महत्वपूर्ण भूमिका देखिन्छ । नेपाली समाजले आफूमा भएको साधन अर्थात रेडियोलाई आज पनि पूर्ण क्षमतामा प्रयोगमा ल्याउन नसेको देखिन्छ । स्थानीय समाजले सबै प्रकारका बाद र विचारलाई त्यागेर स्थानीय समुदाय र राष्टू निर्माणमा स्थानीय रेडियोहरुको भरपुर प्रयोग गर्ने हो भने समाज विकासको रफ्तारमा अहिलेको भन्दा कैयौँ गुणा बृद्धि हुने निश्चित छ । त्यसैले रेडियोलाई समाजले अझ खारिएको रुपमा प्रयोग गर्नु अत्यावश्यक भइसकेको छ । यदि समाजले नै रेडियोको प्रयोगमा थप सक्रियता देखाउने हो भने नेपालमा संख्यात्मक रुपमा बृद्धिको अवस्थामा मात्र रहेका रेडियो स्टेशनहरुले समेत आफ्नो प्रसारणलाई थप गुणस्तरीय बनाउन अपरिहार्य हुनेछ ।
(लेखक रेडियो सरगम धुलाबारीका प्रबन्ध निर्देशक हुन् ।)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: