स्वर्णिम तिमीलाई सलाम

  प्रकाशित मिति
४ भाद्र २०७३, शनिबार १३:१३


gn
बर्नेसँग मेरो आफ्नै नाता छ । केही वर्ष अघिसम्म म बनेसँग निरन्तर सम्पर्कमा थिएँ । बर्नेसँग मेरो नाता यसर्थ छ कि त्यहाँको म झण्डै झण्डै स्थायी बासिन्दा भएको थिएँ । तर त्यो भन्दा अघि नै क्याम्पसका दौतरी केसी श्रेष्ठ र तीर्थ पौड्याल जस्ता आत्मीय मित्रहरूको भेटले पछिल्लो समयमा बर्नेका चियाका बुटादेखि चियाका बुटामा अहोरात्र झुम्मिरहने मेहनतकस मजदुर साथीहरू समेत आजका दिनसम्म मेरो हृदयमा छन् र रहिरहने छन् ।

जिन्दगीका जक्सनहरूमा ओर्लने, चढ्ने र रोकिने क्रममा बर्नेसँग झण्डै दश वर्ष मेरो सम्पर्क विच्छेद नै भएछ । तर गएको शनिवार बर्ने पुगेपछि थाहा भयो बर्ने त यो अवधिमा कति छिट्टै हलक्क भएछ ।
भौतिक संरचना, स्वास्थ्य, शिक्षा र सञ्चारसँगै बर्ने नपत्याउने पाराले सिर्जना र साहित्यमा त अरु धेरै पो हौसिएछ । बर्ने माध्यमिक विद्यालयको औपचारिक नियमित शनिवारे कार्यक्रमको एउटा भेटमै म तिनछक्क परेँ । प्रत्येक शनिवार विहान ८ बजे ‘स्वर्णिम वाल क्लव’को नियमित कार्यक्रमका प्रस्तुतिले नै भन्थ्यो कि बर्ने अरु धेरै बढ्दैछ ।

विद्यालयका शिक्षकद्य दिपक सुब्बा र केसी श्रेष्ठ आफैमा त्यो क्षेत्रका चलायमान व्यक्तित्व उनै शिक्षकहरूको प्रेरणा, उत्साह र आत्मीयताले कलिला नानीहरूमा यति धेरै जाँगर भरिएको देखेँ कि ससाना नानीहरूका गुम्सिएका सिर्जनाहरू छताछुल्ल देखिन्थे अर्थात बेफिकर उनीहरू आफ्नो सिर्जनात्मक क्षमतालाई प्रस्फुटन गर्दथे ।

मैले कतै सुनेको थिएँ–सानो भनेर के गर्नु मुटुभरि लुकेको प्रतिभा छ भने ठूलो भनेर हुँदैन हृदयमै ढुङ्गो बसेको छ भने । स्वर्णिम वाल क्लवको शनिवारे भेलामा हरेक पटक स्वास्थ्य, शिक्षा, सूचना, साहित्य, नेतृत्व र व्यक्तित्वसँग सरोकार राख्ने विषयमा छलफल हुँदोरहेछ । विद्यार्थी भाइवहिनीहरू नै कार्यक्रमको सुरुदेखि अन्त्यसम्म प्रस्तुतिका विषयलाई छनौटसँगै आफै कार्यक्रम सञ्चालन गर्दा रहेछन् ।

लाग्यो लामो समयदेखि तयारी गरेको कार्यक्रम होला तर किशोर अवस्थाका भाइवहिनीहरूको व्यवस्थित प्रस्तुतिले उनीहरू आफै सक्षम छन् भन्ने प्रमाणित गथ्र्यो ।

साहित्य, सङ्गीत, समाचार प्रस्तुति जस्ता विषयमा स्वर्णिमका सुनौला भाइवहिनीहरूको प्रस्तुतिले उनीहरूको सिर्जनात्मक क्षमतामा यही रफ्तारले उत्साह भरिदै गयो भने उनीहरूले विविध विधा र क्षेत्रमा भोलिका दिनमा बर्नेलाई बगान भएको चिया गाउँले मात्र होइन, सिर्जनाका पुञ्जहरूको मुहानले चिनाउने बलियो सङ्केत देखाइसकेका छन् ।

स्वर्णिम बाल क्लवको आफ्नै पहिचानयुक्त चेतना र उत्साहले भरिएको सुमधुर गतिबाट कार्यक्रमको थालनी हुँदोरहेछ । नानीहरू आफै सभापति बन्दारहेछन् । नयाँ पाहुनालाई प्रमुख अतिथि बनाइने चलन रहेछ । उनीहरूको कार्यक्रम र कार्यक्रममा देखिएका विषय र शिर्षकका प्रस्तुतिले एकपटक त म यसर्थ पनि झस्किएँ कि म साँच्चै बर्ने कै नानीहरूको कार्यक्रम मै छु ।
मैले यहाँ कुसैप्रति आग्रह दर्शाउनु छैन । तर मैले सलाम गर्नु नै पर्छ स्वर्णिम वाल क्लव बर्नेका ती भाइ र वहिनीहरूको अभिव्यक्तिको बेजोडका प्रस्तुतिलाई, उनीहरूको लगनशीलता, निरन्तरता र अनुशासनलाई ।

बर्नेमा पक्काका घरहरू मात्र बनेका छैनन्, बाटो मात्र बनेको छैन, जग्गाको मोल मात्र बढेको होइन । बर्ने त सिर्जनाको लहरमा उज्ज्वल भविष्य बोकेका प्रतिभाका सम्पन्न भोलिका स्रष्टासँगै धेरै बढेको पाएँ ।

यत्रतत्र चियाका बुटाहरू विच आफ्नो परिचय बनाएको बर्ने आफैँमा शालीन र शान्त छ । आपसी आत्मीयताको परिचय बोकेको छ बर्नेले भन्न्ने बुझेरै मैले बसोवास गर्ने सोच बनाएको थिएँ । तर फेरि जिन्दगीकै जक्सनको कुरा बर्नेको बासिन्दा नै त म बन्न सकिन तर अमिट सम्बन्ध छ अहिले पनि मेरो र बर्नेको । मलाई कार्यक्रमको विचमा पुगेपछि दिक्दारीले च्याप्पै समात्यो । लाग्यो–मैले जग्गा नबेचेर यहँि घर बनाएको भए सँधै विहानको शनिवार म हुन्थेँ नि ।

तर नानीहरूको प्रस्तुतिले मेरो दिग्दारीको दरार पुरिन्थ्यो–आ बरु बेलाबेला आउँला न, स्वर्णिमका नानीहरूको सिर्जनात्मक सुन्दरता नजिकबाट मात्रै देखिने हो र ? आफैले मनको ताला लगाएँ ।
मैले धेरैतिर बाल क्लवका बोर्डहरू देखेको छु । मलाइ थाहा छैन त्यहाँ आवद्ध ससाना नानीहरू अरु धेरै क्षमतावान हुन सक्छन् । म जीवनमै पहिलोपटक स्वर्णिम वाल क्लवको कार्यक्रममा गएको हुँ । तर मलाई लाग्छ जिल्लाकै उत्तरी गाविस, अधिकांश मजदुर र निम्न वर्गको बसोवास क्षेत्र अनि एउटा कुनाको सामुदायिक विद्यालयका ओझेलमा परेका नानीहरूको अपत्यारिलो प्रस्तुतिले साँच्चै फेरि पनि किन हो किन स्वर्णिम तिमीलाई सलाम छ भन्न मन लाग्यो ।

चियाको मुना जस्तै प्रिय स्वर्णिम वाल क्लवका नानीहरू बाटो लामो होला, गन्तब्य टाढा होला तर तिम्रो भविष्य, हेर्दै जानु निरन्तर यात्रामा बढ, साँच्चै स्वर्णिम छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: