स्वस्थानी र हाम्रो समाज

  प्रकाशित मिति
२१ माघ २०७२, बिहीबार १०:०४


naresh-khati1-225x300
आज विश्वमा नेपाल र नेपालीहरूको जुन हालत छ, त्यसको मुख्य कारण हिन्दु धर्म ग्रन्थ पनि हो । हिन्दु धर्मद्वारा मानवलाई चार वर्णमा विभाजन गरेर जुन किसिमको जातीय भेदभाव तथा छुवाछुतको संस्कारमा बाँधियो, त्यसका साथै आफ्नै सहजातीयभित्र पर्ने महिलामाथि पनि उत्तिकै व्रmूर ढङ्गले झम्टन पछि परेन हिन्दु संस्कार ।

हिन्दु धर्मका मूल ग्रन्थ भनिएका महाभारत, रामायण लगायतमा प्रशस्तै माहिलामाथि शोषण गर्न पुरुषलाई र भाग्यका नाममा शोषण सहन महिलालाई अभ्यास गराइएको छ । हिन्दु महिलालाई एक वर्षभित्र धेरै पटक यस्ता शोषण सहन गर्न अभ्यास गराइने पर्वमध्ये स्वस्थानी व्रत पनि एक हो र नेपाली महिलाको जुन दयनीय अवस्था छ त्यसको कारण मध्येमा प्रत्येक वर्ष महिलाले लिने स्वस्थानी व्रत हो । हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने एक महिने स्वस्थानी व्रत सुरु भइसकेको छ ।

हिन्दु धर्म अनुसार सत्ययुगमा भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार व्रत बसेर तपस्या गरी मनोकांक्षा पूरा भएको कथा स्वस्थानीमा उल्लेख छ ।

हिन्दुहरू आफ्नो धर्मको मूल ग्रन्थ वेदलाई मान्ने गर्दछन् । यो करिब ३५०० वर्ष अघि रचना गरिएको मानिन्छ । वेदलाई आधार मानेर १८ पुराणको रचना गरिएको जसमध्ये मार्कडेण्य पुराणको हिमवत खण्डबाट स्वस्थानी व्रत कथा झिकिएको हो । विष्णुको सल्लाह अनुसार महादेव पति पाउन पार्वतीले विधिपूर्वक एक महिनासम्म स्वस्थानी व्रत गरेकोमा व्रतको प्रभावले उनले महादेव पति पाएको कथामा भनिएको छ । पौराणिक धर्मग्रन्थ स्कन्द पुराणमा आधारित स्वस्थानी व्रत बस्नाले मनोकांक्षा पूरा हुने विश्वास रहेकोले नै सर्वसाधारण महिलाको आकर्षण बढेको जनाइन्छ ।

हरेक धर्मका नाममा कुनै न कुनै मिथक जोडेर जगतको आदि र अन्त्यको वर्णन गर्नु पुरानै रोग हो । स्वस्थानी कथा पनि यसमा चुकेको छैन । एक्काईसौँ शताब्दीको यो वैज्ञानिक युगमा सामान्य बालबालिकाले समेत नपत्याउने गरी संसारको सृष्टिको वर्णन गरिएको छ । कमलमा ब्रम्हा उत्पन्न भएर संसारको गर्ने विचार गर्न लागे ।

‘विष्णुका कानेगुजीदेखि बडा वीर पराव्रmमी मधु र कैटभ नामका दुई दैत्य जन्मे । विष्णुले दुवैलाई मारे र तिनी दैत्यको बोसो ठण्डामा तुषारोले पानी जमे जस्तो गरी समुद्रमा जम्यो र पृथ्वी भइन् मासुले पर्वत भए , हाडले पत्थर भयो ।’(स्व. दि.अ.)
यसरी पृथ्वीको उत्पत्ति बारे गलत वर्णनबाट सुरु भएको स्वस्थानीमा विभिन्न खण्ड छन् । जसमध्ये पूर्वजन्मको फलको कारण हालको जन्ममा राम्रो नराम्रो, सुख दुःख पाइन्छ भनी त्यसलाई मान्न बाध्य बनाइएको छ ।
वालविवाहलाई प्रोत्साहन
महादेव माग्नेको रुप धारण गरेर शिव भट्टको घरमा गई भिक्षा माग्दछन् । गोमाले कर्तव्यपरायण भई पूजाका लागि केलाएको अक्षता दिन मान्दिनन् । त्यसको झोकमा माग्ने रुपी महादेवले बालिका गोमालाई श्राप दिदै भन्दछन् ‘तँ सात वर्षकी हुदाँ सत्तरी वर्षको बुढोसित तेरो विवाह होस्, फेरि तेरा बाबा महतारीले कष्टले कमाएको सम्पत्ति नाश होस्, फेरि तँलाई पनि अनेक तरहका दुःख परुन् । फेरि तेरा बाबा महतारी चाँडै मरुन् ।’

श्रापका कारण सत्तरी वर्षका शिव शर्मा रुपी महादेवसँग सात वर्षकी बालिका गोमाको विवाह हुन्छ र महादेवले वालिका गोमालाई गर्भवती तुल्याउँछन् । शिव शर्मासँग विवाह हुँदा गोमाका बाबुले सम्झाउँदै भन्दछन् । ‘दैवको सामु कसैको केही लाग्दैन । दैवले जे गर्छन् त्यो व्यहोर्नु पर्छ । यो विश्व दैवको इच्छाले नै चलेको छ । छोरी दैवको यस्तो इच्छा छ भने म के गरौँ ?’ वालिका गोमामार्फत भाग्यलाई स्वीकार गर्न लगाउँदै कथामा बालिका भन्छिन्–‘मेरो भाग्यमा यस्तै लेखिएको रहेछ, फेरि महादेवको श्राप उल्लङ्घन गर्न कसले सक्छ ?’
शिवले सतीदेवी मरेर अर्को जन्म लिएकी पार्वतीसँग विवाह गर्छन् । यति बेलासम्म, शिव बुढा भइसकेका हुन्छन् । यहाँ पनि शिव र पार्वतीको अनमेल विवाह हुन्छ । के हामी एउटा बच्चालाई भिक्षा नदिएकोमा यस्तो जघन्य अपराधी मान्न सक्छौँ ? अपराधी पनि यस्तो कि उसको विवाह सत्तरी वर्षको बुढासँग, अनि बाबु आमाको चाँडै मृत्यु होस् । यदि यस्तै घटना हाम्रो बच्चामाथि हुन्छ भने हामी पूर्वजन्मको फल भन्दै आफ्ना बच्चालाई बुढो मान्छेसँग विवाह गरी दिन सक्छौँ ? आज हाम्रो समाजमा जे जति बालविवाह भइराखेका छन् , ती सबै पूर्वजन्ममा पाप गरेको कारण भएका हुन् ? प्रश्न जटिल छ ।

महिला दासीका रुपमा
स्वस्थानीका प्रशंसकहरू भन्ने गर्छन् कि कथामा नारीको पतिव्रता धर्मको बारेमा विशेष महत्व दिएको छ । नारीलाई आफ्नो धर्मबारे त्यागी र समर्पणयुक्त बनाउन सकिन्छ । गोमा भन्छिन्–‘हे माता पिता ! स्त्री जातिको सबै तीर्थ व्रत, दान धर्म आफ्ना पति हुन् ।’ –(एक्कासौँ अध्याय) विष्णुले आफू विवाहित छँदाछँदै दक्ष प्रजापतिकी बाँकी रहेकी छोरी सतीलाई विवाहका लागि माग्छन् । तर उनले छल गरेर कन्यादानको समयमा सतीको हात शिवको हातमा थमाइदिएर कुलेलम ठोक्छन् । विष्णुलाई दिएकी छोरीको हात शिवको हातमा परेपछि सतीका बाबु दक्ष प्रजापतिले दिएको दान फिर्ता लिनु हँुदैन छोरीलाई सम्झाउँदै–‘तिम्रो पूर्वजन्मको फल यस्तै रहेछ तिमी उसैसँग जाउँ भनी पठाउँछन् ।’

सती देवीका बाबु दक्षप्रजापतिले महादेवलाई निन्दा गरेको भन्दै सहन नसकी सतीदेवी पिताले गरेको यज्ञकुण्डमा फाल हानी आत्महत्या गर्छिन् । स्वस्थानीमा पार्वती शिवलाई पाउन शिवाय अरु काम गरेकी छैनन् । मात्र आफना लागि पतिको कामना गरेकी छन् । यसको माध्यमबाट महिलालाई पति पाउनु नै ठूलो उपलब्धि मान्न लागाइएको छ ।
अश्लिलता पार्वती र महादेव एकान्तमा बसिराखेका ठाउँमा अग्नि आउँदा महादेवले अग्निलाई आफ्नो वीर्य दिएर पठाउँछन् । दिएको वीर्य अग्निले निल्नाले गर्भ रहन्छ र उनले गङ्गाको तीरमा गई कुशको वनमा उकेल्छन् । पछि स्नान गरी आएका ऋषि पत्निले आगो ताप्नाले उनीहरूलाई गर्भ रहन्छ । (पाँचौ अध्याय)

महादेव हिँडिरहेको देखेर एउटी ऋषिपत्नीले आपसमा भन्न लागिन्–‘हे ऋषिपत्नी ती गएको महादेव हुन् । हाम्रा ऋषिहरू एक भक्त रहनाले दुर्बल पनि छन् । हामीहरूलाई कामभोगले सन्तोष गरि दिन सक्दैनन् । त्यसअर्थले हामीहरू महादेवको पछि जाउँ भनी ऋषिपत्नी पछि लाग्छन् । ऋषिले महादेवलाई तिम्रो लिङ्गको कारण हामीहरूका स्त्री पछि लागेका हुन् भन्दै महादेवको लिङ्ग पतन हुने श्राप दिन्छन् । (बाह्रौँ अध्याय)

स्वस्थानी कथामा अनेकौँ अन्धविश्वासी प्रसङ्गहरू छन् जसको जति चर्चा र निन्दा गरे पनि कमी हुन्छ । ‘जो मनुष्य गौरीघाटमा स्नान गरेर किराँतेश्वर शिवलिङ्गको दर्शन गर्छ, त्यसको सबै दुःख नाश हुन्छ, धन सम्पत्ति बढ्छ , यसलोकमा सुख सम्पत्ति पाई परलोकमा कैलाशवास पाउँछ ।’ यस्ता विज्ञान विरोधी तथ्यलाई सत्य सावित गर्ने स्वस्थानी जस्ता पुस्तकहरूदेखि जनमानसलाई सावधान गराउन अत्यन्त आवश्यक हुन आउँछ ।

समाजशास्त्री किमबल योङ्गले भेडाको उदाहरण दिदै सामाजिकीकरण प्रव्रिmया प्रष्ट बनाउने कोशिस गरेका थिए । बालिका कमलालाई दश वर्षसम्म भेडाको बथानमा छोडिन्छ, दश वर्षपछि मानव समाजमा ल्याउँदा, उनी भेडा जस्तो व्यवहार गर्ने भइन् । स्वरुप मानवको भए पनि हिड्ने कराउने कार्य भेडाको जस्तो गर्न थालिन् । के हाम्रो समाजमा महिनौँसम्म पढाइने स्वस्थानी जस्ता धर्मिक पुस्तकको सङ्गतले कमला जस्ता बालिका त उत्पादन गर्दैन ?

कुनै समयमा हिन्दु समाजमा धर्मका नाममा नारीलाई लोग्नेको मृत्युमा जिउँदो आत्मदाह गर्न बाध्य बनाइन्थ्यो, यद्यपि प्रत्यक्ष आत्मदाह अहिले त हँुदैन तर पीडाजनक व्यवहार हिन्दु समाजमा नारीमाथि निरन्तर छ । स्वस्थानी जस्ता पुस्तकले अनेकौं अमानवीय प्रकरणलाई फरि पुनर्जीवित गर्न सघाउँछ । यसले नारीलाई दुर्बल बनाउँछ र दुर्बल नारीबाट सबल शिशुको जन्म हुन सम्भव छैन । दुर्बल शिशु भएको समाज सबल हुन सक्दैन भने सबल देशको कामना गर्न सकिदैन ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: