स्वाँठ, कालो झुम्रो र नयाँ शक्ति

  प्रकाशित मिति
२ पुष २०७३, शनिबार १८:०१


sp-luitel

अखबारका पानापाना र सामाजिक सञ्जालका कोठाकोठामा खबर छापियो । ‘पोखरामा, विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्ने कार्यक्रममा डा. बाबुराम भट्टराईमाथि जुत्ता प्रहार गरियो ।’ यो खबर फेसबुके भित्ता र अखबारका पानामा एक निमेषमै फैलियो । आजको द्रुततम सूचना प्रविधिको विकासले घटन वा अघटनको खबर उतिखेरै ल्याउनु मनासिब हो । लोकले खबर पाउनुपर्ने हकदाबीको पहाड खोतल्नु पनि लोकतन्त्रको टल्किने गहनै हो । गहना टल्काउने ध्याउन्नमा लिख् समातेर वा लिख् छाडेर कुद्नु पनि यहाँ स्वतन्त्रता नै मानिन्छ । र, खबर प्रवाहमा आएका चित्रविचित्र नक्साउपर निजी धारणा र विश्वास राख्नु पनि स्वतन्त्र समाजको लक्षण नै हो । खबर तोडिएको वा मोडिएको जो होस््, प्रवाहित हुनासाथ त्यसले एकप्रकारको तरङ्ग पैदा गर्छ । र, त्यस तरङ्गमा जलकुम्भीझैँ हल्लीहल्ली हिँड्ने र तैरने छुट पनि लोकतन्त्रमा होला ।

नेपाललाई यदाकदा यस्ता घटनाले पाकेको पिलोझैँ नसताएका होइनन् । विगतका इतिहासमा कमरेड झलनाथ खनाल वा कमरेड प्रचण्ड पनि यस्ता घटना र क्षणबाट पीडित हुन् । झापडका अनेक सिलसिलामा बेस्सरी तिल्मिलाएका घटनाले नेपाललाई कैयौँ पटक तरङ्गित पारेको छ । घटनाको रुप र प्रकृति जस्तोसुकै होस, त्यसको वर्णनात्मक दिव्य लीला भने पलभरमा तयार हुन्छ । र, आतुरसाथ त्यसको प्रवाह पनि पलभरमै हुन्छ ।

विज्ञान र प्रविधि, सफलतम बाटामा खडा छ । समय, सूचना प्रवाहको तीब्रवेगी रुपले गतिमान छ । र, जमाना यान्त्रिक तथा आकस्मिक रुपमा निरन्तर निर्देशित छ । तब त, देश–दुनियाँमा जहाँ जे घट्छ त्यसको चित्र सघन प्राप्त हुन सफल छ ।
लाग्छ, यस्ता घटना रच्ने र घटाउने क्षुद््र्याहा दुई थरीका हुन्छन् । पहिलो, राजनीतिक सिद्धान्त, विचार, कबुल, निष्ठा, प्रण आदि नियतवश तोडेर मनमौजी गर्दै हिँड्ने दलीय नेता तथा मन्त्रीहरुको आजितलाग्दो आचरणबाट विक्षुब्ध व्यक्ति । दोस्रो, दल, गुट, मोर्चा आदिको प्रयोगमा सहजै हाजिर भैदिने सनकी तथा द्रव्यलोभी व्यक्ति । पहिलो थरी, आफ्नो समाज र जनताप्रति किञ्चित सचेत हुन्छ । र, उसले आफ्ना इच्छा र आकाङ्क्षालाई दिमाखमा कतै न कतै समाजको हितसँग जोडेको हुन्छ । दोस्रो थरी, कसैको उक्साहटको सनकी एवम् महसुलप्रेमी हुन्छ । र, उसको इच्छा र आकाङ्क्षा सामाजिक क्रियाकलापमा भाँड्नु र भाँजी हाल्नु मात्र हुन्छ । पहिलो, सिद्धान्ती, विवेकी, विद्रोही तथा जुझारु मतिको हुन्छ । दोस्रो, दुराचारी, कुकर्मी, स्वाँठ र मूढमतिको हुन्छ । पहिलो थरी, सामाजिक इख बोकेर निर्णायक र निडरसाथ सामुन्ने प्रस्तुत हुन्छ । त्यसैले, ऊ अघिल्ला घटनाक्रमका कमरेडद्वयका भागमा नसीब भएथ्यो । दोस्रो थरी, आफू बिव्रmी भएको पैसो खल्तीमा बोकेर लगलगी काम्दै र ओठमुख सुकाउँदै भीडमा लुकेर जुत्ताको झटारो हान्न मरिमेट्छ । त्यसैले, कुनै दलबाट प्रयोग भएको यो स्वाँठ कालो झुम्रो बोकेर पोखरामा देखियो । पहिलो थरी, अपराधको भागीदार भए तापनि निजको हृदयको कुनै कुनातिर गर्वको मसिनु धर्षा बसेको अनुभव गर्दो हो । दोस्रो थरी, अपराधको भारी बोकेर पनि कुनै दलीय लेपको कुटील छाँटकाँटमा आफूलाई सख्त निर्दोष छु भन्ठान्दो हो ।

पोखरामा त्यत्रो अघटन के घट्यो ? नाथे एउटा भरुवा स्वाँठलाई उपयोग गरेर कुनै एक दलीय विद्यार्थी टोलीले कालो झुम्रो गोजीमा राख्न लगाको हुँदो हो । र, भनेको हुँदो हो, सकिस् यो झुम्रो कुसुमे रुमालझै हावामा हल्ला । सकिनस् गोजीमा हालेर भेला भाँड्ने अर्को बाटाको खोजी गर् । बस् । उता भेलामा विद्यार्थीकै निम्ति योजना र विचार लिएर बाबुराम प्रस्तुत भए । यता उही भरुवा स्वाँठले निजकै गोजी छाम्यो । उता बाबुराम बोले । यता स्वाँठले कालो कुसुमे रुमाल हावामा हल्लायो । यत्ति हो । तर, गरमगरम खबर सहज र सघन रुपमा प्राप्त भो, ‘कुनै कम्निस्ट घटकको एक बीर विद्यार्थीले बाबुराममाथि जुत्ताको झटारो हान्यो ।’

लाग्छ, घटना गराउने यो कलुषित स्वाँठ दोस्रो टाइपको क्षुद्र्याहा हो । विचार, विद्रोह, तर्क र प्रस्तुतिमा यसको निजत्व छैन । अरुबाट आवेगिक मात्रा बोकेर उचालिएको, प्रयोग भएको र भरिएको भरुवाको चेतना त शुन्य नै हुन्छ । र, त्यस्ता अचेत भरुवाको काम भाँजो हाल्ने, भाँड्ने र तमासा हेर्ने बाहेक अरु के नै पो हुन्छ र !

नयाँ शक्ति पार्टीको हकमा यो ठूलो र प्रलयकारी घटना हुँदै होइन । बाबुरामको अपमानमा उत्रेको प्रायोगिक लठुवा पनि ठूलो कुरो होइन । न त त्यसता लठुवाको प्रयोगकर्ता नै कुनै ठूलो उथलपुथलकारी तत्व हो । यदि कतै–कुनै मनसायमा, त्यो घटना नयाँ शक्ति पार्टीको उपज र उत्थान, विचार र विकास तथा प्रभाव र प्रवाहमाथि रोक लाउने कुटील षडयन्त्र हो भने त्यो चाहिँ मण्डले वृत्तिको चुत्थो कर्म हो । त्यो लोकतन्त्रको तगारो हो । त्यो वर्तमानको गतिशील र वामबिधामा विश्वास राख्ने समाजको पतित भाँजो हो । त्यो पुरातन संस्कारले नै ग्रस्त एक कुख्यात् र अलोकतान्त्रिक धमिरो हो । र, त्यो निन्दनीय मात्र होइन, दण्डनीय पनि हो ।

नयाँ शक्ति पार्टी, नितान्त नयाँ विचार, नयाँ सिद्धान्त, नयाँ आयाम र नयाँ ढङ्गको मार्गबाट योजनाबद्ध रुपले उदाएको नयाँ पार्टी हो । यो कुनै दलबाट फुटेर, कसैको कालो कपटमय हिस्सा बोकेर, पदीय मान–मर्यादा नपुगेर टुक्रिएर वा भागवण्डामा चित्त नबुझेर चोइटिएको पार्टी होइन । बरु, यो त देशभित्र ब्याप्त अनेक अकर्मण्य दललाई अब सचेत बन्न र योजनाबद्ध र एकताबद्ध भएर देशको विकास र समृद्धिमा लागौँ भन्न उदाएको पार्टी पो हो । राजनीतिका नाउँमा पगपगमा छल र कपट, विनास र वित्यास, धर्ना र धुत्र्याइँ, आन्दोलन र तोडफोड, हडताल र हुल्लडबाजीका नाटक मात्र देखाउनु नेपालको अहिलेसम्मकै यथार्थ हो । र, यसै यथार्थको धरातलमा जनता येनकेन प्रकारेण बाँचेको छ । यो तथ्यलाई अझ पनि ढाकछोप गरी अब जनताको राजनीति हुँदैन भन्ने पार्टी यही हो । बीच सडकमा टायर बालेर निकालेको धुवाँको मुस्लोले मुलुकमा कुनै लछारपाटो लाउँदैन । जनताका निमित्त चाहिने विकास र समृद्धिको खाका कालो धुवाँले कोर्दैन । बरु, उल्टै धुवाँको राजनीतिले अवरोध खडा गरेको हानिकारक र क्षतिकारक वातावरणमा जनता जहिल्यै कुहिराको काग मात्र बन्न बाध्य हुन्छन् भन्ने पार्टी पनि यही त हो ।

जनताको यथार्थ धरातलमा पुग्न मुलुकमा नयाँ शक्ति गठन भएको छ । पुराना शक्तिको पुरानै शैली, संस्कार र चरित्रले भोट माग्नु, हार्नु, जित्नु, फेरि हार्नु, फेरि जित्नुभन्दा अर्को कुनै काम गरेको छैन । युवा, युवती र विद्यार्थीको ज्ञान, सीप, क्षमता, सिर्जनशीलता आदि पुराना शक्तिको सांस्कारिक नजरमा परेका छैनन् । र, ती दिनहुँ आलुझैँ कुहेका छन् । तर, नयाँ शक्तिले तिनको पहिचान र प्रयोग गरी जनता र देशको उन्नतिपथमा अघि बढ्ने खाका कोरेको छ । र, विकास र समृद्धिको प्रशस्त सम्भावना आफ्नै श्रम, सीप, साधन र स्रोतमा साकार हुने सपना पनि देखेको छ । यथार्थपरक र सम्भावनाको खोजी गरी मुलुक र जनताको समृद्धिका लागि उदाएको पार्टीका संयोजक बाटो देखाउन विद्यार्थीलाई आग्रह गर्छन् । काइदा र कसरतमा ल्याउन उद्धत् छन् । र, अवसर र आत्मियता प्रदान गर्न तल्लीन छन् । तर, विद्यार्थीकै एउटा लठिङ्रे झुण्ड भने हातमा कालो झुम्रो बोकेर आफ्नै पयरको जुत्ताले आफ्नै टाउकोमा हान्न किन मरिमेट्छ, बुझिनसक्नु छ ।
(लेखक नयाँ शक्ति पार्टी, नेपालका झापा जिल्ला परिषद सदस्य हुन् ।)

(लोकतन्त्र पोस्ट दैनिकमा २०७३ पुस २ गते प्रकाशित )

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: