मेचीनगर । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्वास्थ्यकर्मीलाई भड्काउने कोशिस भइरहेको टिप्पणी गरेका छन् ।
मन्त्री भट्टराईले सामाजिक सञ्जालमा ११ बुँदे वक्तव्यमार्फत कोरोना भाइरस ९कोभिड–१९० को महामारीविरुद्ध सरकारका सबै संयन्त्रहरु परिचालित भएका बेला धमिलो पानीमा जाल थाप्नेहरु सल्बलाएको बताएका हुन् ।
‘स्वार्थी राजनीतिका घिनौला सुँड यत्रतत्र घुसार्ने कोशिस भइरहेको’ भन्दै उनले त्यस्तालाई कामबाटै जवाफ दिइने र जनस्तरबाट भण्डाफोर हुने बताए ।
उनले लेखेका छन्, ‘हाम्रो इतिहास, हाम्रो राजनीति र जनादेशले हामीलाई भागेर होइन । सामना गरेर अघि बढ्न र सफल हुन सिकाएको छ । यस्तो अवस्थामा स्वार्थी राजनीतिका घिनौला सुँड यत्रतत्र घुसार्ने कोशिस गरेको देखिन्छ । त्यसलाई कामबाट जवाफ दिइने छ र जनस्तरबाट त्यसको भण्डाफोर हुने छ ।’
स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत कर्मचारीले जोखिम मोलेर काम गरिरहेको र थप हौसलाका लागि सरकारले विभिन्न प्याकेज घोषणा गरेको उनले बताएका छन् । तर धमिलो पानीमा जाल थाप्नेहरुले भड्काउने कोशिस गरेको भन्दै उनले सबै होसियार बन्नुपर्ने र आफ्नो जिम्मेवारी छाड्न नहुने बताए ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का नेतासमेत रहेका मन्त्री भट्टराईले स्वास्थ्यमन्त्री भानुभक्त ढकालको बचाउ गर्दै उपकरण तथा औषधि आपूर्ति र वितरणमा स्वास्थ्यमन्त्रीको अगुवाईमा सरकारी तथा निजी क्षेत्रका सबै निकायहरुले गम्भीरतापूर्वक काम गरिरहेको र छिटै सहजता आउने दाबी गरेका छन् ।
‘कहिले को माथि त कहिले को माथि आक्रमण गर्ने गिरोहले अहिले स्वास्थ्यमन्त्रीमाथि आक्रमण शुरु गरेका छन् । उनीहरुको नियत र स्वार्थ सबैले बुझ्नुपर्छ’ उनले भनेका छन्, ‘हामी सबै तोकिएका जिम्मेवारी पूरा गर्दै स्वास्थ्यमन्त्रीको अगुवाईमा स्वास्थ्य मन्त्रालयले अघि सारेका नीति तथा कार्यक्रम सफल पार्न प्रतिबद्ध छौं ।’
मन्त्री भट्टराईले जटिल परिस्थितिमा आपतकालीन शैलीमा काम गर्नु परेकाले केही कमजोरी हुनसक्ने भन्दै त्यस्ता गल्ति सच्याउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले विश्वकै लागि अस्वाभाविक र अप्रत्याशित महामारीविरुद्धका लडाईमा सिंगो देश एकजुट हुनुपर्नेसमेत बताएका छन् ।
(अनलाइन खबरबाट)