स्वास्थ्य क्षेत्रमा सहकारीको भूमिका

  प्रकाशित मिति
२ असार २०७८, बुधबार १०:४१


मानिसको जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको बाँच्नु रहेछ । जन्मेपछि मर्नु निश्चित छ । तर जति दिन, सकिन्छ पहिला बाँच्ने र त्यसपछि मात्रै जीवनलाई सार्थक बनाउनु पर्ने रहेछ ।
सार्थकको परिभाषा धेरै लामो हुन सक्छ । बहस र छलफल हुन सक्छ । एउटालाई ठिक लागेको सार्थक अर्कोलाई बेकारको लाग्न सक्छ, यो बेग्लै कुरा हो । तर बाँच्नु सबैका लागि महत्वपूर्ण कुरा हो भन्ने बोध यो बेला झन् धेरै भएको छ ।

मानिस जब मृत्युको नजिकमा पुग्छ, मृत्युलाई वरिपरि देख्न थाल्छ तब बाँच्ने जिजिविशा अभैm प्रवल हुने रहेछ । मानिसले जब वरिपरि नजिकै मृत्युले ताण्डव मच्चाएको देख्न थाल्छ त्यो बेला मृत्युलाई जित्ने र बाँच्ने इच्छा झनै बढेर जाने रहेछ । महामारीको कारण मानव समाजले अहिले यस्तै भोग्नु परेको छ । कोभिड–१९को कारण विश्व आक्रान्त भएको समयमा हामी कसरी सुरक्षित हुने र बाँच्ने भन्ने महत्वपूर्ण विषय हुन पुगेको छ । कोरोना चीनमा मात्रै हुँदा अमेरिकाले चिनियाँ भाइरस भनेर गिज्याएको थियो । जब अमेरिका र युरोपमा यसले गम्भीर असर देखाउन थाल्यो तब हामी यो टाडाको कुरा हो भनेर हामी वास्ता नगर्ने अवस्थामा थियौं ।

भारतमा देखा परेर त्यहाँको समाजलाई नराम्ररी प्रभावित बनाएपछि हामी अलि ठाडा कान लगाएर सुन्न थाल्यौं । जब नेपालमा नै देखा पर्यो तब अलि गम्भीर बन्यौं तर आफ्नै वरिपरि र आफन्त एवम् प्रिय मानिसले संकट भोग्न थाले, मृत्युवरण गर्न थाले, आपैmले भोग्न वाध्य भयौं तब हामी आत्तिन थालेका छौं र सम्भव सबै सुरक्षाका उपायहरुको खोजी गर्न थालेका छौं । कोरोनाबाट बच्ने दुईवटा उपायहरु छन् । पहिलो कोरोना लाग्नै नदिने र दोश्रो लागि हालेमा त्यसलाई पराजित गरेर स्वास्थ जीवनमा फर्किने । कोरोना लाग्नै नदिन अहिले हामी घरमै खुम्चिएका छौं । त्यही हुँदाहुँदै पनि कोरोनाले कसैलाई न कसैलाई दैनिक भेटिरहेको छ ।

हरेक दिन सयको हाराहारीमा नेपालमा मृत्यु भईरहेको छ । हामी सबै आत्तिएका छौं । व्यक्ति, सामाजिक संघ संस्था, सबै तहका सरकार यतिखेर मानव स्वास्थमा लगानि बढाइ रहेका छन् । यो स्वभाविक छ । अहिले स्वास्थ्यमा भएको लगानीको एकदमै ठुलो हिस्सा उपचार पद्धतिमा भएको छ । औषधि, अस्पताल, स्वास्थ्य सम्बन्धि उपकरण आदि थपिएका छन् । स्वास्थ्यमा जनशक्ति सबै सकृय छन् । रोग लाग्न नदिन खानपान, स्वास्थ सुरक्षा, व्यायाम आदिमा समेत उल्लेख्य सतर्कता अपनाईदै छ । यहि बेला भएका अस्पतालको स्तरउन्नती र नयाँनयाँ अस्पताल बनाउने घोषणा वा तयारी हुँदैछन् ।

यसै क्रममा झापा जिल्ला सहकारी संघले केही दिन पहिले एउटा भर्चुअल मिटिङ गरेर झापामा जिल्ला संघको नेतृत्वमा बृहत सहकारी अस्पताल बनाउने घोषणा गर्यो । यसलाई बैठकमा सहभागि सबैले भव्य स्वागत पनि गरे । नेपालमा राज्यले सञ्चालन गरेका अस्पताल केन्द्रदेखि गाउँ गाउँसम्म छन् । जनताको स्वास्थ्य सुरक्षामा राज्यको जिम्वेवारी हुन्छ । त्यही जिम्मेवारी अन्तर्गत यी अस्पताल छन् । निजी क्षेत्रका प्राइभेट अस्पतालको पनि व्यापक उपस्थिति छ । तर यस्ता निजी अस्पतालको उपस्थिति गाउँमा नभएर शहर केन्द्रित छन् । गाउँगाउँमा साधारण औषधि पसलको उपस्थिति छ । अन्य मुलुृकमा जस्तो नाफा वितरण नगर्ने सामुदायिक तर सःशुल्क अस्पतालको उपस्थिति नेपालमा अति न्युन छ ।

सरकारी अस्पतालको सेवा प्रयाप्त छैन । एकातिर साधन, श्रोत र जनशक्तिको सधै अभाव खटकिने गरेको छ । अर्कोतिर भएका साधन, श्रोत र जनशक्तिको पनि उचित प्रयोग नभएको गुनासो यथार्थ हो । सेवाको गुणस्तरमा पनि बेलाबेला कुरा उठिरहन्छ । सरकारी अस्पतालमा सेवारत स्वास्थ्यकर्मीले निजी अस्पताल र क्लिनिकमा समेत सेवा दिन पाउने व्यवस्थाले पनि आलोचना हुनु स्वभाविक देखिन्छ । सहकारीले अस्पताल सञ्चालन गरेको छैन भन्दा हुन्छ । केही थोरै सहकारीले सञ्चालन गरेको जानकारी छ । तर तिनले दिने सेवाले छुट्टै पहिचान र प्रभाव दिनसकेको जस्तो लाग्दैन ।

निजी क्षेत्रका अस्पतालले दिने सेवा सरकारी अस्पतालको भन्दा राम्रो त छ तर स्वास्थ्य सेवा शुल्क महंगो पर्ने भएकाले सर्वसाधारणका लागि धान्नै नसक्ने खर्चिलो हुने गरेको छ । यदि नेपालका सहकारीलाई उचित नीतिसहित स्वास्थ्य क्षेत्रमा लगानी गर्न आकर्षित गर्ने हो भने सहकारीले दिने स्वास्थ्य सेवा सरकारी अस्पतालको भन्दा गुणस्तरीय र निजीको भन्दा सस्तो मुल्यमा सर्वसाधारणका लागि उपलब्ध हुन सक्छ । तर, यस्ता सहकारीले सञ्चालन गर्ने अस्पताललाई सरकारको शशर्त अनुदानको आवश्यकता पर्छ ।

सहकारीले सञ्चालन गर्ने स्वास्थ्य सेवाको पहिलो आधार भनेको विरामी भएपछिको उपचारमा भन्दा बिरामी हुनबाट बचाउने उपायको बारेमा ध्यान दिनु पर्छ । सहकारीले आफ्ना सदस्य र समुदायमा रोगका कारणको बारेमा सचेतना मुलक कार्यक्रम निरन्तर चलाउनु पर्छ । उचित र सन्तुलित आहार, शारिरिक श्रम वा नियमित व्ययाम, सरसफाइ र तनाव मुक्त जीवनशैलीले रोगलाई नजिक आउनबाट रोक्छ । यी विषयमा सहकारीले सघनरुपमा सदस्यलाई जागरुक बनाउन सक्छन् । स्वास्थ आचरण र स्वास्थ जीवनशैलीले मानिसलाई रोगसँग लडन सक्ने प्रतिरोधि क्षमताको विकास गर्छ । यस्तो अवस्थामा रोग लागि हालेमा पनि उपचार कम खर्चिलो हुन्छ । गुणस्तरीय सेवा

विरामीले पाउन सक्ने अवस्था बन्छ । तर अस्पतालले त उपचार गरेको मात्रै पैसा पाउने चलन छ । उपचार नै नगरि सल्लाह मात्रै दिएको, जागरण अभियान चलाएको अवस्थामा मानिसले पैसा तिर्दैनन् बरु अभियान चलाउन नै पैसा लाग्छ, त्यो कसरी धान्ने भन्ने हुन्छ । त्यसैले यहाँ शशर्त सरकारको सहयोगको आवश्यकता पर्छ । सरकारले अस्पताल निर्माण, उपकरण खरिद आदिमा ५० प्रतिशतसम्म अनुदान दिएर सहकारीले सञ्चालन गर्ने स्वास्थ्य सेवालाई सर्वसाधारणको सहज पहुँचमा पुर्याउने व्यवस्था गर्न सकिन्छ । सहकारीमा पहिलो सेवाग्राही सदस्य हुने भएकोले सहकारीले आफ्ना सदस्यलाई दिने सेवामा तलमाथि गर्न सक्दैनन्, गर्नु हुँदैन । किनकी संस्थामा सदस्यको पहुँच र नियन्त्रण हुन्छ ।

अहिले कतिपय सहकारीहरुले आफ्ना सदस्यहरुलाई स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत उपचार खर्च दिने गरेका छन् । सदस्यको उपचारमा हुने खर्चलाई अलिकति बढाएर रोकथाम र उपचारमा विभाजन गर्न आवश्यक छ । रोकथामका उपाय प्रभावकारी बनाउन सक्दा उपचारमा हुने खर्च कम गरे हुन्छ । सहकारीले रोकथामका लागि प्राकृतिक उपायमा जोड दिन सक्छन् । सदस्यको जीवनशैलीमा सुधार गर्न सक्छन् । सदस्यको समेत योगदानमा स्वास्थ्य सुरक्षा कोष बनाएर एकमुष्ट ठुलो धनराशी खर्च गर्नुपर्ने संकटबाट सदस्यलाई सजिलै बचाउन सक्छन् ।

स्वास्थ्य सेवा दिनु वा अस्पताल चलाउनु साधारण कुरा होइन । यसमा सेवाको भावले काम गर्न सक्दा मात्रै उपलब्धि र सन्तुष्टि प्राप्त हुनसक्छ । सदस्य वा सेवाग्राहीले पाएको सेवा र सन्तुष्टिमा रमाउन सक्ने मन भएकाले मात्रै यो क्षेत्रमा लागि रहन र रमाउन सक्छन् । त्यसैले यो काममा हातहाल्नु भन्दा पहिला गम्भीर भएर सोच्न र मनन गर्नु पर्छ । सामान्य लगानीमा पनि स्वास्थ्य सेवा सुरु त गर्न सकिन्छ तर स्वास्थको सेवास्तर कमजोर हुने, एकै छानोमुनी धेरै सेवा नपाइने भएकाले सकेसम्म गुणस्तरीय र एउटै छानोमुनी अधिक सेवा दिन सकियोस भनेर सोच्नु पर्ने भएकाले अलि धेरै लगानीको आवश्यकता पर्छ । त्यसैले सामुहिक र धेरैको सहभागिता हुनु राम्रो हो । एउटै व्यक्ति वा संस्थाले धेरै लगानी गर्नेभन्दा धेरैको सहभागिताको खोजी बढी उपयुक्त हुन्छ ।

धेरै वटा स्वास्थसेवा दिने आजका ठुला अस्पतालहरु पनि सुरुमा सानो आकारबाट सेवा शुरु गरेको पाएको छु । यो स्वभाविक लागेको छ । किनकी स्वास्थ्य सेवा दिने अस्पतालले पहिला सेवाग्राही समुदायको मन जित्नु पर्छ । मन जित्नु भनेको सेवाले सन्तुष्टि दिएर मात्रै सम्भव छ । सानो आकारबाट शुरु गरेर समुदायको मन जित्तै अगाडि बढ्दा सुरुको सञ्चालन खर्च धेरै हुन पाउँदैन । अनुभव बढदै जान्छ । अनुभवले आवश्यकताको पहिचान गराउछ । पहिचान भएका प्रविधि, उपकरण, दक्ष जनशक्ति आदिको व्यवस्था गर्दै अगाडि जान सकिन्छ । श्रोत जुटाउन समय पाईन्छ ।

करिव एकसय वर्षमा आएको यो विश्वव्यापी महामारीका कारण अहिले धेरै मानिसको ध्यान मानव स्वास्थ्यलाई कसरी व्यवस्थित बनाउने भन्नेमा छ । यसमा पहिलो विरामी हुनबाट कसरी बच्ने र विरामी भएपछि कसरी स्वास्थ हुने भन्ने हुन्छ । हाम्रो समाजमा विरामी भएपछि उपचारको खोजी गर्ने क्रम धेरै छ । सरकार, सामाजिक संघसंस्था, समुदाय, व्याक्ति प्राय सबैको ध्यान विरामी भएकाको उपचार गरेर वा उपचारमा सहयोग गरेर वाहावाही बटुल्ने, जसलिने, प्रचार गर्ने एक प्रकारको होडबाजी नै छ । यो अहिलेको विकाउ र चल्तीको मोडल नै हो ।

केही आफुलाई चतुर ठान्ने धुर्त मानिसहरुले त अस्पताल खोल्ने नाममा व्यापार गरिरहेका हुन्छन् । पहिलो व्यपार समाजसेवी बन्ने चाहना पुरा गर्ने र त्यसैलाई भजाएर पद र प्रतिष्ठा हासिल गर्ने, दोश्रोमा अस्पताल स्थापना गर्ने भनिएको वरिपरि सुरुमै जग्गा खरिद गर्ने र महंगोमा बिक्री गरेर पैसा कमाउने, तेश्रोमा अस्पताललाई चाहिने जग्गा, निर्माण गरिने भौतिक संरचना, आवश्यक पर्ने औजार उपकरण आदिको सप्लाईमा आफ्नो वा सानो टिमको एकाधिकार कायम गरेर नाफा आर्जन गर्ने, चौथोमा त्यहाँ आवश्यक पर्ने जनशक्तिमा आफ्ना नजिकका मानिसलाई जागिर दिने । आदि ।

यी र यस्ता सोचले काम गरेको रहेछ भने अस्पताल त बन्छ कि बन्दैन भन्न सकिदैन, बनिहालेछ भने त्यसले उद्देश्यअनुरुप काम गर्छ कि गर्दैन त्यो समयले बताउँदै जान्छ । तर केही मानिसलाई अवश्य फाइदा हुनेछ । यो नेपाली समाजको अहिलेको चल्तीको मोडल हो । यात्रा सुरु नगरी गन्तव्यमा पुगिदैन, काम सुरु नगरी उपलब्धि हात लाग्दैन । त्यसैले सबै प्रकारका जोखिमको शुष्म अध्यायन गरेर स्वास्थ्य क्षेत्रमा सेवा दिने गरी देशै भरिका सक्षम सहकारीहरुले सामुहिकरुपमा वा एकलरुपमा पवित्र मन र भावले काम सुरु गर्ने समय आएको छ ।

फेरि पनि भनौं सहकारीले गर्ने काममा निजी क्षेत्रले जस्तो चाडै कसरी पैसा कमाउने भन्ने ध्येयले होइन सदस्यलाई कसरी निरोगी बनाउने र रोग लागि हालेमा कसरी कम लागतमा गुणस्तरीय सेवा दिने भनेर सोच्ने र काम थाल्नु पर्ने समयको माग हो ।

लेखक : रामचन्द्र उप्रेती

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज