स्वास्थ्य महोत्सवको तयारी पूरा

  प्रकाशित मिति
७ माघ २०७३, शुक्रबार ०८:५९


kangresh
मेचीनगर । मेचीनगरको इटाभट्टामा यही माघ ८ देखि १४ गतेसम्म आयोजना हुने प्रथम स्वास्थ्य महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ ।

आयोजक नेपाली काङ्ग्रेसको मेचीनगर नगर समितिले विहीवार आयोजनास्थलमै पत्रकार सम्मेलन गरी तयारीबारे जानकारी दिएको हो ।

‘हामीले महोत्सवको शत प्रतिशत तयारी सकेका छौँ’, पत्रकार सम्मेलनमा बोल्दै नेपाली काङ्ग्रेस मेचीनगर समितिका सभापति तथा मूल आयोजक समितिका संयोजक इन्द्र बुढाथोकीले भने–‘पहिलोपटक आयोजना हुने यो महोत्सव भव्य र व्यवस्थित हुने कुरामा ढुक्क छौँ ।’

मेचीनगर–१२ इटाभट्टास्थित मेची ट्युन्स एफएमको पूर्वतिरको खाली जग्गामा महोत्सव स्थल बनाइएको छ ।

महोत्सवस्थलमा प्रवेशद्वार, पूर्जी काट्ने ठाउँ, विरामी जाँच्ने ठाउँ, प्रयोगशाला, दवाई बाँड्ने ठाउँ, प्यानल डिस्कसन हुने मञ्च, सवारी पार्किङ लगायतको छुट्टाछुट्टै व्यवस्थाका लागि अस्थायी संरचना निर्माण गरिएको छ ।

२५ हजार जनालाई उपचार सेवा दिने लक्ष्य राखिएको महोत्सवमा २५ लाख रुपैयाँ खर्च हुने मूल समितिका संयोजक बुढाथोकीको अनुमान छ । सबै खर्च स्थानीय सहयोगबाट जुटाइने र सरकारी निकायबाट एक पैसा पनि सहयोग नलिइएको उनले बताए ।

‘सरकारबाट थुप्रै पैसा सहयोग लिएर महोत्सवको आयोजना भयो अरे भन्ने अफवाह चलाइएको सुनेका छौँ’, संयोजक बुढाथोकीले पत्रकारहरूलाई सुनाए–‘कुनै सरकारी निकायबाट पनि सहयोग लिएका छैनौँ, नजिकै रहेको मेचीनगर नगरपालिकाबाट पनि लिइएको छैन ।’

नेपाली काङ्ग्रेसका कार्यकर्ताबाट स्वेच्छिक रुपमा २५ रुपैँयादेखि माथिको रकम सहयोग सङ्कलन गरिएको र महोत्सवको समापनपछि हिसावकिताव पत्रकार सम्मेलनमार्फत नै सार्वजनिक गरिने उनले बताए ।

सो अवसरमा आयोजक समितिको सचिवालय संयोजक पुष्पराज पौडेलले सर्वसाधारणको सेवा गर्ने र स्वास्थ्य सम्बन्धी चेतना बाँड्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको धारणा राखेका थिए ।
नेपाली काङ्ग्रेसको एकल आयोजना भए तापनि महोत्सवलाई सफल तुल्याउन सबै राजनीतिक दलको सहयोग प्राप्त हुने पौडेलले विश्वास व्यक्त गरे । दलहरूले अब समाजमा फरक ढङ्गले सेवा पुर्याउनु पर्छ भन्ने नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माको सोचबाट स्वास्थ्य महोत्सवमा काङ्ग्रेस होमिएको उनको भनाई थियो ।

महोत्सवमा २५ वटा नामी अस्पतालका विशेषज्ञ डाक्टरले सेवा दिने भएका छन् । महोत्सवमा सबै रोगको उपचार निःशुल्क रुपमा हुने पौडेल बताउँछन् ।

महोत्सवमा विरामीको निःशुल्क उपचार, निःशुल्क औषधि वितरण, जल्दोबल्दो विषयमा प्यानल डिस्कसन र मनोरञ्जनात्मक कार्यक्रम हुने भएको छ ।

पार्टीका विभिन्न जिम्मेवारीमा रहेका नेताको उपस्थिति रहेको पत्रकार सम्मेलनमा महोत्सवको प्रचार विभाग हेरिरहेका सचिवालय सदस्य ज्ञानेन्द्र निरौलाले माघ ८ गते साढे ३ मिनटमा उद्घाटन कार्यक्रम सम्पन्न हुने जानकारी दिए ।

उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल वा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा वा स्वास्थ्य मन्त्री गगन थापालाई आमन्त्रण गर्ने सर्वत्र अनुमान थियो । तर, आयोजकले त्यसो नगरेर सामान्य वेलुन उडाएर महोत्सवको उद्घाटन गर्ने भएको निरौलाले बताए ।

निरौलाका अनुसार उद्घाटन अवसरमा विरामीको जाँच गर्न डाक्टरहरू तयारी हालतमा रहने छन् भने विद्यार्थीहरू हाइड्रोजन ग्यास भरिएको ठूलो बेलुन आकाशमा उडाउन तम्तयार रहने छन् । त्यही बेला राष्ट्रिय धुन बज्ने छ, डाक्टरले विरामी जाँच्न थाल्ने छन् र विद्यार्थीले बेलुन उडाउने छन् । यही नै महोत्सवको उद्घाटन मानिने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: