‘स्वास्थ्य महोत्सव’ मुलुकमै नौलो प्रयोग

  प्रकाशित मिति
११ माघ २०७३, मंगलवार १८:४०


ama

काँकडभिट्टा  । झापाको मेचीनगरमा नेपाली काङ्ग्रेसले आयोजना गरेको सात दिवसीय ‘प्रथम राष्ट्रिय स्वास्थ्य महोत्सव’ मुलुकमै नौलो प्रयोग भएको छ ।

राजनीतिक दलले स्वास्थ्य सेवाको क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गर्नु आफैमा नौलो र उदाहरणीय कार्य भएको वरिष्ठ साहित्यकार अभि सुबेदी बताउँछन् ।

‘स्वस्थ समाजका लागि स्वस्थ साहित्य’ विषयक प्यानल डिस्कसनमा भाग लिन सुबेदी काठमाडौँबाट झापा आउनु भएको हो । उनीहरु दुई दिन महोत्सवमा रहेका थिए ।

महोत्सवमै भाग लिन आउनु भएका अर्का साहित्यकार खगेन्द्र सङ्ग्रौला पनि दलले आयोजना गरेको स्वास्थ्य महोत्सवलाई सामाजिक आन्दोलनको मौलिक प्रयोग भएको बताउँछन् । ‘हामीकहाँ साहित्य, कला, सांस्कृतिक महोत्सव धेरै भएका छन्’, महोत्सव सन्देशमूलक भएको बताउँदै साहित्यकार सङ्ग्रौला भन्छन्–‘यस किसिमको स्वास्थ्य महोत्सव नितान्त नयाँ र रमाइलो लाग्यो ।’

DSCN5675

आयोजकले माघ ८ देखि १४ गतेसम्म सञ्चालन हुने स्वास्थ्य महोत्सवको सातै दिन विशेषज्ञ डाक्टरको सेवा सहित निःशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गरिरहेका छन् भने दिनैपिच्छे स्वास्थ्यसँग जोडिएका विषयमा आयोजना हुने प्यानल डिस्कसनले महोत्सवको आकर्षण थपेको छ ।

महोत्सवमा मुटु, मिर्गौला, कलेजो, मधुमेह, इएनटी, हाडजोर्नी, वालरोग, स्त्री रोग, आँखा, न्यूरो, फोक्सो, वुढ्यौली जस्ता रोगको उपचार काठमाडौँ, पोखरा, विराटनगर, धरान, विर्तामोड, भद्रपुर र काँकरभिट्टाबाट आएका विशेषज्ञ डाक्टरहरुले गरिरहेका छन् ।

eye

साहित्य, कला जस्ता विषयमा मात्र आयोजना हुँदै आएको प्यानल डिस्सकन स्वास्थ्य महोत्सवमा आयोजना हुँदा विज्ञहरूको स्वास्थ्य सम्बन्धी धारणा प्रत्यक्ष सुन्न र आफ्ना मनका जिज्ञासा पोख्न समेत पाइएको मेचीनगर लेडी जेसीजकी अध्यक्ष शोभा श्रेष्ठको अनुभव छ ।

मेचीनगर लेडी जेसीजले महोत्सवमा खाजाघरको स्टल राखेर कोदो, फापर, चामकको रोटीसहितको मौलिक नेपाली परिकार विक्री गरिरहेको छ । जेसीज आफैले खाजाघरको स्टल राखेर स्वस्थ र मौलिक परिकार बेच्दा त्यहाँ खाजा खान सर्वसाधारणहरुको मात्र नभएर डाक्टर, साहित्यकार, शिक्षक लगायतको घुइँचो लाग्ने गरेको छ ।

वालरोग विशेषज्ञ डा. गणेश राई रोगीको उपचारभन्दा प्यानल डिस्कसनमार्फत स्वास्थ्यका विषयमा प्रवाह हुने चेतना अझ बढी महत्वको हुने बताउनु हुन्छ । डा. राईले महोत्सवमा २ दिनसम्म विरामी जाँचेर सेवा पुर्याएका छन् ।

‘म आजसम्ममा धेरै स्वास्थ्य शिविरमा सहभागी भएको छु’, डा. राई स्वास्थ्य महोत्सवको अनुभव सुनाउँछन्–‘तीभन्दा यो महोत्सव फरक प्रकृतिको पाएँ ।’ महोत्सवमा दैनिक हजारौँको सहभागिताले सर्वसाधारण यस्ता गैरराजनीतिक कार्यक्रम रुचाउँदारहेछन् भन्ने देखाएको उनको धारणा छ ।

काङ्ग्रेस पार्टीले आयोजना गरे तापनि महोत्सवलाई सफल तुल्याउन स्थानीय नेकपा एमाले, नेकपा माओबादी केन्द्र, राप्रपा लगायतका अन्य दलको सहयोगी भूमिका पाइएको छ ।

नेकपा माओबादी केन्द्रका मेचीनगर इञ्चार्ज प्रकाश भण्डारी स्वास्थ्य महोत्सव अनुकरणीय कार्यक्रम भएको बताउँदै जनताका समस्यालाई प्रत्यक्ष सम्बोधन गर्ने कार्यमा राजनीतिक दलहरुले भूमिका बढाउन यसले शिक्षा दिएको धारणा व्यक्त गर्छन् ।

महोत्सवमा बुढ्यौलीका कारण हुने रोगको उपचार गर्न ६० वर्ष माथि सय बर्ष नाघेका वृद्धवृद्धाहरुलाई ल्याइएको थियो । बाहुनडाँगी–२ बाट आउनु भएकी ९८ वर्षीया मैयादेवी थापाले दम बढेका कारण उपचार गर्न छोराबुहारीले ल्याएको बताए ।

महोत्सवमा आजसम्मको ४ दिनमा ६ हजार ५ सय भन्दा बढी सर्वसाधारणले पूर्जी काटेर प्रत्यक्ष उपचार सेवा लिएको महोत्सव सचिवालय संयोजक पुष्पराज पौडेलले जानकारी दिए ।

दिनहुँ १६ सय भन्दा ज्यादा मानिस उपचारका लागि आइरहेको र त्यसमध्ये आँखाको उपचार लिन आउनेको सङ्ख्या दैनिक औसत ४ सय रहेको पौडेल बताउँछन् ।

महोत्सवको प्यानल डिस्कसनमा स्वस्थ खाना, स्वस्थ वाली, लागू पदार्थको दुव्र्यसन, सुरक्षित सवारी, स्वास्थ्य विमा, स्वस्थ राजनीति जस्ता विषयमा विज्ञहरुले आफ्ना अनुभव, अनभूति र सुझाव राख्दैछन् ।

‘लागू औषधमुक्त नेपाली समाजको निर्माण’ विषयक प्यानल डिस्कसनमा सम्भाषण दिनु भएका नार्कोनन नेपालका अध्यक्ष एवम् पूर्व एसएसपी सबन्तराज कुँवरले स्वास्थ्य महोत्सवको अवधारणाबाट आफु अत्यन्त प्रभावित भएको र मेचीबाट सुरु भएको यस अभियानलाई महाकालीसम्म पुर्याउनु पर्ने बताउँछन् ।

स्वास्थ्य सम्बन्धी वहसमा माघ १४ गते स्वास्थ्य मन्त्री गगन थापा समेत सहभागी हुने कार्यक्रम रहेको छ । माघ १३ गते वरिष्ठ नेता प्रदीप गिरी, रविन्द्र मिश्र, मुमाराम खनाल लगायतले प्यानल डिस्कसनमा भाग लिने कार्यक्रम रहेको महोत्सवको परिकल्पनाकार एवम् नेतृत्वकर्ता नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा बताउँछन् ।

‘प्रत्यक्ष रुपमा स्वास्थ्य सेवा पुर्याउने र परोक्ष रुपमा स्वस्थ जीवन जिउन ज्ञान बाँड्ने हाम्रो उद्देश्य हो’, काङ्ग्रेसका युवा नेता शर्मा भन्छन्–‘आम जनताको स्वास्थ्यका विषयमा पनि अब राजनीतिक दलहरूले ध्यान केन्द्रीत गर्नु पर्छ भन्ने सन्देश गइरहेको छ, यो हाम्रो मूल अपेक्षा पनि हो ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: