स्वास्थ्य वीमाको उपचार अब वीएन्डसीमा

  प्रकाशित मिति
३१ श्रावण २०७३, सोमबार १४:३३


bncविर्तामोड । सरकारी स्वास्थ्य वीमा गराएका नागरिकले अब झापाको वीएन्डसी टिचिङ हस्पिटलमा ५० हजार रुपैयाँसम्मको उपचार सेवा सित्तैमा पाउने भएका छन् ।

सरकारले मुलुकमै पहिलोपल्ट इलाम, कैलाली र बाग्लुङ जिल्लामा स्वास्थ्य वीमा कार्यक्रम लागू गरेको छ । झापा लगायतका विभिन्न जिल्लामा ३ महिना पछि यस्तो स्वास्थ्य वीमा लागू हुँदैछ ।

सरकारले हालसम्म सरकारी हस्पिटलबाट मात्रै वीमा अन्तर्गतको स्वास्थ्य उपचार सेवा दिदै आएकोमा पहिलोपल्ट वीएन्डसी हस्पिटलले त्यस्तो अवसर पाएको हो ।

वीएन्डसी हस्पिटल व्यवस्थापनले आइतवार पत्रकार सम्मेलनको आयोजना गरी स्वास्थ्य वीमा अन्तर्गतको उपचार सेवाका लागि नेपाल सरकारले विश्वास गरेर इजाजत दिएकोमा हौसला बढेको जनाएको छ ।

‘सरकारले निजी क्षेत्रबाट मुलुकमै पहिलोपल्ट हाम्रो हस्पिटललाई स्वास्थ्य वीमाको उपचार सेवा गर्ने अवसर प्रदान गरेकोमा उत्साहित भएका छौँ’, पत्रकार सम्मेलनमा बोल्दै वीएन्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाइँले भने–‘अब यो सेवालाई हाम्रो हस्पिटलले अभिन्न अङ्गको रुपमा महत्व प्रदान गर्ने छ ।’

हस्पिटलका जनसम्पर्क प्रमुख प्रमिश गिरीका अनुसार भदौ १ गतेदेखि नै वीएन्डसी हस्पिटलमा स्वास्थ्य वीमा उपचार सेवा लागू हुने छ ।
सरकारी नियमानुसार सरकारले नै वीमा योजना लागू भएका जिल्लामा घरघरै पुगी प्रत्येक परिवारको स्वास्थ्य वीमा कार्ड बनाइदिने छ ।

त्यसका लागि ५ जनासम्म भएको परिवारले २ हजार ५ सय रुपैयाँ र त्योभन्दा बढी सङ्ख्या भए हरेकले थप ४ सय २५ रुपैयाँ वीमा शुल्क वापत वार्षिक रुपमा सरकारलाई तिर्नु पर्ने छ ।

त्यसवापत ५ जनासम्म सदस्य भएको हरेक परिवारले वार्षिक ५० हजार रुपैयाँसम्मको स्वास्थ्य उपचार सित्तैमा पाउने छन् भने त्योभन्दा बढीको परिवार भए एक लाख रुपैयाँसम्मको उपचार सित्तैमा पाउने भएका छन् ।

गरीव परिवारका लागि सरकारले लागू गरेको स्वास्थ्य वीमा योजना वरदान नै सावित हुने देखिएको छ ।

सरकारले सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत वीमा योजना ल्याएको हो । यस्तो आम नागरिकको स्वास्थ्य वीमा गराउने प्रचलन विकसित मुलुकमा पहिल्यैदेखि लोकप्रिय रहँदै आएको छ ।

नेपालमै निजी हस्पिटलका तर्फबाट वीएन्डसी हस्पिटलले पहिलोपल्ट यस्तो अवसर पाउनु गौरवको विषय भएको हस्पिटलका प्रिन्सिपल डा. अमरनाथ ठाकुर बताउँछन् ।

सरकारका तर्फबाट सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा. गुणराज लोहनी र वीएन्डसी हस्पिटलका तर्फबाट कार्यकारी निर्देशक दुर्गा प्रसाइँले साउन २८ गते सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

(२०७३ साउन ३१ गते लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: