स्वास्थ्य संकटकाल घोषणाको तयारी

  प्रकाशित मिति
२१ जेष्ठ २०७७, बुधबार १८:१४


झापा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संकटकाल (हेल्थ इमर्जेन्सी) घोषणाको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको छ ।

बुधबार मन्त्रालयमा बसेको बैठकको निर्णय नम्बर २ मा २ हजार भन्दा बढी कोरोना संक्रमणको एक्टिभ केस देखिएकाले संक्रामक रोग ऐन २०२० अन्तर्गत हेल्थ इमर्जेन्सी घोषणाको प्रस्ताव गर्ने भनिएको छ ।

संक्रामक रोग ऐन २०२० को दफा २ मा नेपालभर या देशको कुनै भागको मानिसमा कुनै संक्रामक रोग फैलिने देखिएमा नेपाल सरकारले सो रोग रोकथाम गर्न सर्वसाधारण जनता वा कुनै व्यक्तिहरुको समूह उपर लागु हुने गरी आवश्यक आदेश जारी गर्न सक्ने व्यवस्था छ ।

सोही ऐनलाई टेकेर हेल्थ इमर्जेन्सी घोषणा गर्ने प्रस्ताव गरेको मन्त्रालयको कोभिड इन्सिडेन्ट कमाण्ड सिस्टमको प्रमुख डा.गुणराज लोहनीले बताए ।

उनले भने, –‘हेल्थ इमर्जेन्सीको मापदण्ड मन्त्रिपरिषदले स्वीकृत गरेपछि जारी गर्छौ ।’

बुधबार सोही विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयका तथा स्वतन्त्र विज्ञलाई समेत छलफलमा बोलाएका छन् । छलफलले पनि स्वास्थ्य संकटकालको खाका तयार गर्ने डा. लोहनीले बताए ।

हेल्थ इमर्जेन्सी घोषणा गर्ने आधार के हो ?

डा. लोहनीको अनुसार संक्रमणको रफ्तार बढ्दै जाँदा अस्पतालको बेड, क्वारेण्टिनको क्षमता, लजिस्टिक र जनशक्ति नपुग्ने भएकाले मन्त्रालय संकटकाल लगाउने निर्णयमा पुगेको हो ।

‘संक्रमणको रफ्तार बढ्दै गएपछि पहिले भन्दा बढी सचेत हुनुपर्छ, सोही कारण यो निर्णय गरिएको हो’ –उनले भने ।

मन्त्रालयले गत मे महिनामा बनाएको ‘हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स प्लान’ मा २ हजार भन्दा बढी कोरोना संक्रमित पुगे घरमै आइसोलेसनमा राख्ने उल्लेख गरिएको छ ।

यस्तै दुई हजारदेखि पाँच हजारसम्म संक्रमित पुगेमा दोस्रो चरणको उपचार रणनीति लागू हुनेछ । यस्तै पाँच हजारदेखि १० हजार संक्रमित पुगेको अवस्थामा मन्त्रालयको तेस्रो चरणको उपचार रणनीति लागू हुनेछ ।

१० हजारभन्दा बढी मानिसमा संक्रमण भएको अवस्थामा मन्त्रालयले सबै अस्पतालमा कोभिड–१९ को बिरामी राख्ने योजना बनाएको छ ।

त्यसबेला १५ सयभन्दा बढीलाई अक्सिजन चाहिन सक्छ भने ५ सयभन्दा बढीलाई आईसीयू चाहिन सक्छ । यो चौथो चरणको रणनीति हो ।

‘अक्सिजन सपोर्ट, आईसीयू नचाहिने र लक्षण नभएकाहरुलाई घरमै आइसोलेट गर्ने पहिलेदेखिकै तयारी थियो’ डा. लोहनीले भने, –‘त्यसो नगरिकन सबैलाई अस्पतालमा राख्दा हाम्रो पूर्वाधारले धान्दैन, अहिले त्यही अवस्था आउन लागेकाले हेल्थ इमर्जेन्सीको तयारी गरिएको हो ।’

(अनलाइन खवर)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: