मायामितु
पर्यावरण आफै असन्तुलित हुँदैन । आफै बिग्रँदैन । पर्यावरण बिग्रिनुको मुख्य कारण मानव हो । मानवीय हर्कतका कारण सन्तुलन बिग्रिएको हो । पर्यावरणीय सन्तुलन आफैमा व्यापक विषय हो । आफैमा दीर्घकालीन अवधारणा पनि हो भने बिगार्नेले नै सपार्नु प्राकृतिक न्यायको सामान्य सिद्धान्त पनि हो । अतः बिग्रिएको पर्यावरण सन्तुलनमा ल्याउने दायित्व पनि मानिसकै हो । पछिल्लो समयमा विश्वमै पर्यावरण सम्बन्धी विभिन्न पुस्तकहरु प्रकाशित भइरहेका छन् । यहाँ पनि हालै लेखक सन्जीव उप्रेतीले पर्यावरणलाई केन्द्रमा राखेर उपन्यास लेखेका छन् हंस ।
हंस सुन्दा र पढ्दा आत्मा जस्तो लाग्छ । मानिसको आत्मा र त्यही आत्मा भड्किएको कथा हंस हो भन्ने लाग्न सक्छ । हो, यो मानवीय आत्माको कथा त हो नै तर त्यसभन्दा बढी प्राणी जगतको हो अर्थात् हाँसको कथा हो । अनि हो पर्यावरणीय चेतको कथा, चराचुरुङ्गीको कथा, राजनीतिको कथा, विदेसिनेहरुका कथा, सर्प, भ्यागुता आदिका कथा । एउटा पाठकको नाताले हंसलाई मैले विभिन्न दृष्टिकोणले नियाल्ने कोसिस गरेकी छु ।
पर्यावरणीय चेत र विनासको चिन्ता
मानिसको जीवनसँग प्रकृति पनि सँगसँगै जोडिएको हुन्छ । प्रकृतिसँग पनि अन्य कुराहरु जोडिएका हुन्छन् । जस्तैः बोट विरुवा, चरा चुरुङ्गी आदि । मानव जीवनका लागि अपरिहार्य भए पनि हामी तिनै बोट विरुवा मासिरहेका छौं । जीव जन्तु मारिरहेछौं । भएका वन जङ्गल मासिरहेका छौं र कङ्क्रिटको शहर बनाइरहेका छौं । प्राणी जगतमा सर्वश्रेष्ठ हुनुको अहम् या भ्रमले । भोलि आउन सक्ने प्राकृतिक विपत्तिका बारेमा अनभिज्ञ जस्तै भएर हामीले आधुनिकताको नाममा मानिस र प्रकृतिबीचको अन्तरसम्बन्ध बिर्सिदै गएका छौं । हुन त अहिले पनि भूक्षय, अनावृष्टि, अतिवृष्टि आदि हामीले खेपिरहेका छौं । तर, भोलि झन् ठूलो भयावह स्थिति आउन सक्छ भनेर हामीले सोचेका छैनौं या वेवास्ता गरिरहेका छौं । वन जङ्गल मासिए सँगसँगै विभिन्न जीवजन्तुहरु मासिदै गएका छन् । जसको प्रत्यक्ष प्रभाव वातावरणमा परेको छ । जलवायु परिवर्तन पनि यसकै एउटा कारण हो । सन्जीव उप्रेतीको पछिल्लो पुस्तक हंसले पर्यावरण चेतका विषयमा आवाज उठाएको छ ।
उपन्यासमा भनिएको छ– ‘चरा हावामा उड्दा एउटा बाटो बन्छ । पछि त्यो बाटो आफैं हराउँछ । खोलाहरू कहिले मिस्सिएर बग्छन्, कहिले छुट्टीएर आ–आफ्नै बाटोमा । आफ्नो साथ दिने त कथाहरू नै हुन् । सायद त्यसैले मानिसहरूलाई कथा चाहिन्छन्, हाँसहरूलाई जस्तै ।’ स्वस्थ र सन्तुलित जीवनका लागि पर्यावरण अति आवश्यक छ । पृथ्वीमा भएका हरेक वस्तुको आफ्नै जीवन हुन्छ, आफ्नै अस्तित्व हुन्छ, आफ्नै कथा र इतिहास पनि हुन्छ । त्यसलाई जोगाइ राख्नु आवश्यक छ । यदि जोगाउन सकिएन भने गम्भीर समस्या आउन सक्ने सङ्केत पनि छ उपन्यासमा ।
‘टौदहका थुप्रै कथा हराए’, आमैले भनिन्, ‘केही पाकाहरूलाई मात्र था’छ । अनि टौदह पनि पहिलेजस्तो कहाँ रह्यौ र बाबै ! पहिले डिलबाट टलक्क हिमाल देखिन्थ्यो । सडकछेउ घर बन्न थालेसी पूरै छेकियो । दहको पानी सुक्दै गयो । पहिला सेता भुँडीफोर चरा आउँथे । बट्टाई र चैते चरा आउँथे । अब खासै आउँदैनन् ।’ यसरी मानवले प्रकृति र अन्य प्राणीको पनि कथा मेट्दै गएका छन् । मानव आफूप्रति मात्र होइन, प्रकृतिप्रति पनि क्रुर बन्दै गएको चिन्ता छ । मानवकै कारण खडेरी पर्दै जानु, जीवजन्तु लोप हँुदै जानुले मानवलाई हानी गरिरहेको छ । तर बुझ्ने कहिले ?
‘पहिलेभन्दा पानी निक्कै घटेको छ । पोखरी वरिपरि सिमेन्टको बाटो बनाएपछि त झनै सुक्यो । टापुलाई समेत सिमेन्टको पर्खालले घेरिदिए । पहिले हाँस, चराहरू सजिलै टापुमा उक्लन्थे । अब उडेर मात्र पुग्न सक्छन् । हेर त बिचराहरूलाई सास्ती ।’ सिमेन्टको बाटो र पर्खाल बनेपछि मान्छेको मन पनि सिमेन्ट जस्तै बन्दै गएकोप्रति चिन्ता छ लेखकलाई । मानवीय संवेदना मर्दै गएको पीडा छ । वरिपरि पर्खालले घेरिदिएपछि प्राणीहरु सजिलै एक ठाउँबाट अर्काे ठाउँ जान नसक्ने भए । उनीहरु खुम्चनु पर्ने भयो । यसरी मान्छे कृत्रिम बन्दै गएको कुरा उपन्यासमा उल्लेख छ । मानिसले गर्दै आएको चरम विकास र मानवीय अहम्का कारण वातावरण प्रदुषित बन्दै गएको पाइन्छ उपन्यासमा । साथै प्राणीको भाषालाई कलात्मक तरिकाले प्रस्तुत गरिएको छ । देश देशबीचका सीमामा लागेका पर्खालले वन्यजन्तुको आवागमन र बासस्थानमा उत्तिकै प्रभाव परिरहेको छ । तर, यी पर्खालहरु ठडिने क्रम बढ्दो छ ।
उपन्यासमा मानिसका मात्र कथा नभएर पृथ्वीमा भएका हरेक प्राणीका आ–आफ्नै कथा र जीवनशैली भएपनि सर्वश्रेष्ठ प्राणी कहलिएको मानवले भने ती भाषा र जीवनशैली बुझ्न नसकेकामा चिन्ता पनि छ । उनीहरुले बुझे जस्तै हामीले पनि उनीहरुलाई बुझ्न आवश्यक रहेको देखाइएको छ । यदि हामी उनीहरुबाट टाढा भयौं भने मानव सभ्यता नै सङ्कटमा पर्न सक्ने समेत सङ्केत पाइन्छ । प्राणीहरुले सजिलै अरुको भाषा बुझ्न सक्छन् । तर, प्राणी जगतकै सर्वश्रेष्ठ प्राणी मानिसले भने आफ्नो बाहेक अरु कसैको भाषा बुझ्न नसक्नुलाई एउटा चुनौति र व्यङ्ग्यको रुपमा पनि प्रस्तुत गरेको छ उपन्यासले मानव जातिप्रति । पर्यावरण, मानव र प्राणीका विषयमा समानान्तर तरिकाले विषय उठान गरिएको छ ।
महिला केन्द्रित
हंसमा उडन्ते हसिनीमार्फत् नारी पनि पुरुषभन्दा कमजोर छैनन् र कतिपय अवस्थामा पुरुषभन्दा शक्तिशाली पनि छन् भन्ने देखाएका छन् लेखकले । साथै, अनुजबाट छुटिएपछि सीमा र मायासँगै बसेका छन् । यसले पनि महिला शक्ति देखाएको छ । महिलाले प्राय सुन्नै नसक्ने शब्द हो– सौता । तर, उपन्यासमा सुरुमा विवाद भएपनि पछि दुवै मिलेर बसेका छन् । अत्यन्तै आत्मीय रुपमा । यति मात्र होइन जीवन सहज तरिकाले जिउने क्रममा उनीहरु बसाइँ समेत सरेर गएका छन् । बसाइँ सरेर गएपछि पछि माया र सीमा सँगै बसेका छन् । यसबाट महिलाका शत्रु महिला नै हुन्छन् भनेर कतिपयले भन्दै आएको एउटा भ्रम तोड्न थोरै मात्र भए पनि सफल भएको छ भने अर्कातर्फ सौतामाथि हेर्ने दृष्टिकोणमा समेत परिवर्तन ल्याइदिएको छ । यति हँुदाहुँदै पनि एउटा प्रश्न छोडिदिएको छ उपन्यासले । के सीमा र माया साँच्चै नै सहज बसेका छन् त ? उनीहरु एक अर्काका सहयोगी बनेर बसेका छन् त ? कतै उनीहरु समलिङ्गी (लेसवियन) त होइनन् ? बदलिँदो मानव सम्बन्ध, अझ भनौं लैङ्गिक सम्बन्धबारे घोत्लिन बाध्य हुन्छन् पाठक । उपन्यासले सोच्ने ठाउँ थुप्रै छाडेको छ पाठकका निम्ति ।
महिला शक्ति अगाडि देखाए पनि पुरुषत्व हावी हुन खोजे जस्तो पनि लाग्छ उपन्यास पढिरहँदा । कमजोर पात्रकै रुपमा भए पनि । नत्र किन त्यति धेरै माया गर्ने सीमालाई हिंसा गर्न पुग्छ अनुज । किन थाहै नदिई बाहिर बाहिर बसेर नेपाल फर्कन्छ ? कमजोर मनस्थिति र आत्मग्लानीले भित्रभित्रै कमजोर बनाएको छ अनुजलाई । उता, कैयौं प्रयास गर्दा पनि उड्न सफल नहुनु लहडे हाँसको लहड मात्रै देखिएको छ । यस अर्थमा जसरी मावनजातिको विकासक्रममा मातृशक्ति सबल र सक्षम थिए, त्यसरी नै अहिले मातृशक्तिको समयको सङ्केत दिएकोे छ । राजनीतिक रुपमा पनि सिमा बिवाद चलिरहेको बेला महिलाहरुले आवाज उठाइरहेका बेला नारी पात्र सबल देखिएका छन् उपन्यासमा ।
‘माकुराहरु आफ्नो जीवनकालभरि मात्र जाला बुनिरहन सक्छन् । मान्छेले बुन्ने जाला युगौंसम्म चलिरहन्छन् । अन्य जीवले गर्ने हिंसा शारीरिक हुन्छ । हामी विचारका जाला बुन्न माहिर छौं,’ सीमाले अनुजलाई भनी, ‘संसार बुझ्न पुरुषहरुलाई मात्र दर्शन पढ्नुपर्छ । हामी त जीवनका भोगाइबाटै बुझ्छौं ।’ वास्तवमै भोगाई भन्दा ठूलो दर्शन अरु के हुन सक्छ र ?
यहाँ जसरी माकुरीले बुनेको जालमा माकुरा नै पर्छ, त्यसरी नै अनुज पनि अन्तिममा सीमा र मायाबाट एक्लिएको छ । अनि मानव सोचको जालो माकुरे जालो भन्दा भयानक हुने देखाइएको छ, पितृसत्ताले बनाएको पुरुषत्वको जालो । जुन जालो मानवले बुन्दै आएका छन् लामो समयदेखि र लामो समय बुनिरहनेछन् । यो पितृसतात्मक सोच पनि यही माकुराको जालो जस्तै एउटा पुस्ताबाट अर्काे पुस्तामा चलिरहेको छ । र, अझै बर्षाैं यसरी नै चलिरहन सक्छ ।
पौडिन र उड्न दुवैमा उत्तिकै खप्पिस उडन्ते हसिनी आफू हुनुको अर्थ उड्नमै देख्छे । उड्न पाइन भने आफ्नो अस्तित्व नरहने भन्दै उड्नु नै आफ्नो पहिचान भएको बताउँछे । उड्न छाड्नु भनेको आफ्नो पहिचान गुमाउनु हो भन्दै उसले सगर्व लहडे हाँसलाई आफू हुनुको बोध गराएकी छ ।
राजनीतिका कुरा
चराहरु मार्फत नागरिकता र पासपोर्टका कुरा उठान गरिएको छ । मान्छेको जीवनमा जसरी शक्तिशालीले कमजोरलाई हेपेका छन्, कमजोरमाथि शासन जमाएका छन् ठिक त्यसरी नै जीवहरूले पनि एकअर्कोलाई थिचोमिचो गरेको देखाइएको छ । बाज र गरुडले रूपी, ढुकुर र भँगेराजस्ता साना चरालाई । बकुल्ला, सारस, जलेवाहरूले साना माछालाई । चराले गँड्यौला, कीरालाई ।
उपन्यासमा हाँस काकाले– ‘एकले मौका पाउँदा अर्कालाई निल्न खोज्दा रहेछन् । त्यही निलाइ र ठुँगाइको परिणाम रहेछ इतिहास’ भन्दै बलियाले निर्धालाई हेप्ने गरेका कुरा गरेका छन् । साथै, इतिहास त बलिया बाङ्गाहरुको मात्र कथा रहेछ भनेर गहिरो राजनीति व्यङ्ग्य समेत गरेका छन् । यहीँनेर जर्ज अर्वेलको विख्यात उपन्यासको चर्चित भनाइ अझ बढी सान्दर्भिक देखिन्छ– ‘सबै जनावर समान हुन्छन् तर केही जनावर भने विशेष समान हुन्छन् ।’
वैदेशिक रोजगारका कथा
आधुनिकतासँगै मानिसका इच्छा आकांक्षाहरु बढ्दै गएका छन् । चेतनाको स्तर फराकिलो हुँदै जाँदा विभिन्न अवसरको खोजी गर्ने क्रममा बैदेशिक रोजगारीमा जानेहरुको कथा पनि पाइन्छ उपन्यासमा । अध्ययनको सिलसिलामा होस् या श्रमका लागि । बाध्यताले होस् या रहरले, वैदेशिक रोजगार एउटा विकराल समस्याको रुपमा देखिएको छ । यसरी वैदेशिक रोजगारमा जानेहरुलाई पनि कहाँ सजिलो छ र ? यस सन्दर्भमा उपन्यासमा बकुल्ला र गँड्यौलाको संवाद छ उपन्यासमा ‘…अनि आफ्नो थलो छाडेर अर्कै ठाउँमा जाँदा तिनेरु सजिलै जान पाउँदैनन् । तिनले कागज लिनुपर्छ ।’
‘कागज अरे !’ गँड्यौलाले अचम्म मान्दै सोध्यो ।
‘अर्काको ठाउँमा जान उनीहरूलाई कागज चाहिन्छ,’ बकुल्लाले भन्यो, ‘लुआ लाउनेलाई बाँच्नको निम्ति थुप्रै थरीका कागज चाहिन्छन् ।’
‘हो र ! कस्ता कागज ?’
‘आगरिकता, आस्पोर्ट, इसा, आलपुर्जा, खोई केके हो केके ! ….
‘बिचरा लुआ लाउनेको जीवन हामी भुइँहारा अड्यौलाहरूको भन्दा पनि कठिन रहेछ त !’ गँड्यौलाले भन्यो, ‘विचरा लुआ लाउनेहरूको कागजे जीवन ।’
उपन्यासमा लेखकले प्राणी जगतका भाषालाई पनि सरल र रोचक तरिकाले प्रस्तुत गरेका छन् । विदेश जान चाहिने नागरिकता, पासपोर्ट, भिसा, लालपूर्जा जस्ता कागजी दस्तावेजहरु समसामयिक विश्वको आर्थिक तथा राजनीतिक संरचनासँग पनि प्रत्यक्ष रुपमा जोडिएका छन् । त्यसैले उपन्यासमा राजनीतिक व्यङ्ग्य पनि पाइन्छ । साथै, वैदेशिक रोजगारीमा जानेहरुका लागि झन्झटिलो व्यवस्थाका कारण खेप्नु परेका सास्ती पनि दर्शाइएको छ ।
‘काठमाडौंमा भेटेको भए सीमाले मलाई रोज्दिनथी होला,’ अनुजले भन्यो, ‘तर न्युयोर्कको जीवनले हामी जस्तालाई मुसा बनाउँछ । मै हुँ भन्ने ठूलठूला बाघ पनि न्युयोर्क आएर मुसा बनेका छन् । झन् हामीजस्ता किचनमा काम गर्नेलाई त न्युयोर्कले मुसारोस्ट नै बनाउँछ । सायद सीमाको मनमा धेरै पीडा थियो । त्यसैले मैले बढाएको हात समातेकी हुन सक्छ ।’ यसरी उपन्यासमा विभिन्न कारण, बाध्यता र परिबन्दले गर्दा आफ्नो मुलुक छाडेर विदेसिनेहरु समस्यामा पर्ने गरेको पनि देखाइएको छ ।
हामीले पहिले सुन्दै आएका लोककथा पनि आमैको कथा वाचनमार्फत फरक ढङ्गले प्रस्तुत गरिएको छ । उहिले उहिले वायुपङ्खी घोडामा राजकुमार आएको कथा भन्ने र सुन्ने गरिएकोमा त्यही कथा जीवजन्तु र चराचुरुङ्गीमार्फत सुन्दर ढङ्गले पस्किइएको छ । लोककथा या किंवदन्तीलाई आधार मानेर कथा भन्ने शैली पनि फरक छ, उत्तिकै मनोहारी पनि ।
पृथ्वीमा भएका हरेक वस्तुका आ–आफ्नै कथा हुन्छन् । केवल त्यसलाई बुझ्न र छाम्न सक्नुपर्छ । र, सबैभन्दा पहिला आफैलाई छाम्न सक्नुपर्छ । आफूलाई बुझ्नु पर्छ । मनको आँखाले हरेक कुरा हेर्नु पर्छ, मनको आकाशमा विचरण गर्नु सक्नुपर्छ । यदि मनको आँखाले हेरेर मनको आकाशमा विचरण गर्न सकियो भने जीवन सारै सुन्दर बन्छ । बाहिरबाट देखिने सबै चीजहरु फिका लाग्छ यदि मनलाई चिन्न सकियो भने । सबैका आ–आफ्नै कथा हुन्छन्, हामीले बुझ्न नसकेको मात्र हो । अझ आवश्यक छ, विविध कोण र पाटाबाट कथाहरु अरु भनिनुपर्छ, लेखिनुपर्छ किनकी नाइजेरियाली उपन्यासकार चिमामाण्डा अदिचिको भनाइमा सहमत हुँदै भन्न मन लाग्छ, ‘कथाहरुको महत्व छ, अरु धेरै कथाहरुको महत्व छ ।’