हजुरहरुको प्रार्थनाले मैले अर्को जीवन पाएँ

  प्रकाशित मिति
३१ जेष्ठ २०७९, मंगलवार १६:००


कान्छो छोरो मात्र थियो काठमाडौमा । बुहारी अम्बिका, मेरो जीवन साथी र म चन्द्रगढी घरमा थियौँ । काठमाडौबाट फर्किएपछि भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा मेरो नियमित डाईलोसिस चलिरहेको थियो । असार २ गते सदा झैं डाइलाइसिस गर्न ओमसाई पाथिभरा अस्पतालमा गयौं । डाइलोइसिस सुरु भयो तर सदा भन्दा फरक पीडा अनुभव हुँदैथियो, सुरुमा त अब ठिक होला विस्तारै जस्तो लाग्यो तर पीडा झन् बढ्दै गयो । करिव १ घण्टा ज्यादै नै पीडा खपेँ, त्यहाँ काम गर्ने सिस्टरलाई भनेँ आफूलाई पीडा भएको कुरा । अझैं २÷४ ठाउँमा घोचेर हेरे उनीहरुले, तर सफल भएनन् । भएन, दुःखेर खप्नै नसक्ने अवस्था भए पछि मैले मेरो श्रीमानलाई बोलाइदिनु भनेँ, वहाँ अफिस जानु भएको थियो । उहाँ आएपछि डाइलोसिस बन्द गर्न लगाउनुभो ।

घरमा गएर आइसले सेक्नु ठिक हुन्छ भन्ने सल्लाह दिए त्यहाँका प्राविधिक कर्मचारीले । घरमा त्यसै गरियो तर अहँ व्यथा वीसको उन्नाइस भएन, दिउँसो अस्पताल गयौं । दाहिने पाटो हातदेखि कम्मरसम्म सुन्निएको छ । दुःखाई र पीडा खपिनसक्नुको छ । जस्तो परे पनि खप्नै पर्ने । डाक्टरले भने बमोजिम घरमै बसियो, पीडा झन बढ्दै गयो, पर्सिपल्ट फेरि अस्पताल गएर डाक्टरलाई देखाउँदा भने डाक्टरले अप्रेसन गर्नु पर्छ तु घोपा जानु भनेर बल्ल सल्लाह दिए । त्यो कुरा ३ दिन अघि नै भनेको भए मैले त्यति विघ्न दुःख खप्नु पर्ने थिएन, ढिलो सल्लाह दिनु भनेको पनि एक प्रकारको यातना दिनु जस्तै हो । त्यहाँको फिजिसियन डाक्टरले मेरो हातको भिडियो एक्सरे रिपोर्ट हेर्ने बित्तिकै तुरुन्तै अपरेसन गर्नु पर्छ, नत्र गाह्रो हुनसक्छ भन्दै सर्जन डाक्टरकोमा रिफर गरि दिए । तर सर्जन डाक्टरले चाहिँ एक दुईदिन हेरौँ भन्ने सल्लाह दिए । त्यसैदिन कान्छो छोरो प्रभात काठमाडौ गएको थियो । हामीलाई निकै समस्या पनि भयो छोरो साथमा नहुँदा । तीनदिन पछि मात्र सर्जन डाक्टरले धरानस्थित वीपी कोइराला मेमोरियल हस्पिटल जान सुझाएपछि हामी धरान गयौँ । त्यहाँ गएर डाक्टरलाई देखाएपछि अल्ट्रासाउन्ड गर्न डाक्टरले सुझाए र अल्टासाउन्ड गरियो । त्यसको रिपोर्ट भोलिपल्ट मात्रै आउने हुँदा डाक्टरलाई रिपोर्ट देखाउन र हामी आउनु पर्ने या नपर्ने डाक्टरसंग सम्पर्क गरेर बुझिदिन हामीले त्यहीँ काम गर्ने मेरो मामाकी छोरी दिदी राधा दाहाल रेग्मीलाई जिम्मेवारी दिएर फर्कियौँ । भोलिपल्ट मेरो श्रीमान् अफिस जाँदै गर्दा दिदीले फोन गरेर तुरुन्तै आउनु बहिनीलाई लिएर अप्रेसन गर्नु पर्ने भयो भन्नु भएछ । हामी हतारहतार धरान गयौँ ।

शुक्रबारको दिन थियो । ३ बजे पुगेर इमर्जेन्सीबाट अस्पताल भित्रियौँ । कोभिडको महामारी, इमर्जेन्सीमा विरामीको घुइँचो । बस्ने बेड त टाढाको कुरा प्यासेजको एकछेउ पनि पाउन मुस्किल थियो । धन्न दिदीले एउटा स्ट्रेचर मिलाउनु भयो र त्यसमै प्यासेजको एकठाउँमा बसेर आवस्यक चेकजाँचको प्रकृया राति १० बजेसम्ममा सकियो, यही बिचमा भित्रको एउटा वेड खाली भयो र राती ११ बजेदेखि बेडमा बसियो । बिरामी कुरुवाको विजोगको त के कुरा गर्नु ? भनी साध्य छैन । खान र सुत्न त कस्तो हुन्छ भने जस्तै भयो, त्यहाँ बस्दा बस्दै ३÷४ जनाको मृत्यु पनि देखियो । मन भयभित थियो तर पनि उपाय थिएन ।

भोलिपल्ट शनिवार दिदीको अनुरोध र मेरो अवस्था देखेर डाक्टरले अप्रेसन गर्ने हुनु भयो । मलाई ३÷४ प्रिन्ट ब्लड चढाउनु पर्ने भो । त्यसको लागि मेरो श्रीमानको दौडधुप र हैरानी म शब्दमा उतार्नै सक्दिन । महसुस चाहिँ गर्न सक्छु । महेन्द्र कलेज धरानमा हामी आइएमा अध्ययन गर्दाका हाम्रा सहपाठी मित्र बिदुर सुवेदीका दाजु हामी भन्दा सिनियर ब्याजका दाइ मुरारी सुवेदीसंग सम्पर्क गर्नु भएछ र उहाँ मार्फत् ब्लडको समस्या समाधान भयो नत्र ब्लडको अभावमा मेरो अप्रेशन रोकिने थियो । सायद मेरो इहलीला पनि सकिने थियो होला । मुरारी सुवेदी दाइ जो हाम्रा सहपाठी मित्र विदु सुवेदीका दाजु पनि हुनुहुन्छ उहाँ र उहाँको समूहलाई जति धन्यवाद दिए पनि कमै हुन्छ । विहान १० बजे अपरेसन थिएटरमा लगेको ८ जनाको टिमले बल्ल दिउँसोको २ बजे अप्रेशन सकेर बाहिर निकालियो मलाई ।

धेरै ठूलो मिहेनत र कसरतले मेरो छाती र पाखुरामा जमेको सबै ब्लड निकालिएछ । प्लास्टिकको बाल्टिमा एकबाल्टी भएछ सडेको ब्लड । हात पुरै चिरेर त्यहाँबाट निकालेको रहेछ । डाइलोसिस गर्दा मुटुबाट आउने आर्टिलरीमा छेडिएछ र रगतजति सबै छाला र मासुको विचमा छरिएर यस्तो भएको रहेछ, एकदिन ढिलो भएको भए हात काट्नु पर्ने अवस्था आउन सक्थ्यो भनी त्यहाँको डाक्टरले भन्दा आङ नै जिरिङ्ग भयो मेरो । कसो हात काट्नु परेन । काठमाडौबाट निराश भएर घर फर्किएपछि मेरो जीवनसाथी देवीचरण भण्डारीले फेसबुकमा एउटा स्टाटस लेखेर पोस्ट गर्नु भएछ । त्यो स्टाटस कतिले पढ्नुभो, कतिले पढ्नु भएन थाहा छैन र थाहा पाउने कुरा पनि भएन । तर मेरा छिमेकी विद्वान वरिष्ठ अधिवक्ता दाजु लेखनाथ निरौलाले पढ्नु भएछ र मेरो श्रीमानलाई फोन गर्नु भएछ । त्यसैदिन साँझ उहाँ र घनेन्द्र शर्मा सर हाम्रो घरमा आउनुभो । अन्तिम अवस्थामा आएर राष्ट्रिय अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरले काकाससुराले भतिजी बुहारीलाई अङ्ग दान गर्ने कानुनी प्रावधान नभएको भनेर प्रत्यारोपण हुन नसकी फर्कनु परेकोमा दुःखी हुनु भयो दुवैजना । सर्वोच्च अदालतमा मुद्दा हाल्नुपर्छ । पक्कै निकास निस्कन्छ । मुद्दा जितिन्छ । लेखनाथ दाइले आत्मविश्वाशका साथ भन्नु भयो । उहाँले भन्नु भयो ‘तपाईँहरुले केही गर्नुपर्दैन मात्र स्वीकृति दिए पुग्छ । म काठमाडौका मेरा वकील साथीहरुलाई फोन गर्छु ।’

उहाँको सक्रियता र सहयोगले सर्वोच्चमा २०७८।०४।२६ गते मुद्दा दर्ता भएछ । गौरादह निवासी श्रद्धेय दाजु वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले निःशुल्क वकालत गर्नु भयो र २०७८।०५।१३ गते सर्वोच्चले हाम्रै पक्षमा फैसला गर्यो । तर मेरो दिल्ली जाने टुङ्गो भैसकेको थियो र मेरो स्वास्थ पनि अत्यन्तै खराव हुँदै गएको थियो । हामी भदौ ४ गते दिल्ली गयौँ । फेसबुकमा पोस्ट गरेको स्टाटस पढेर अत्यन्तै सम्वेदनशील भई मुद्दा हाल्नुपर्छ भनेर दिलैदेखि मलाई माया गरी संयोजन र सहजिकरण गरिदिने आदरणीय दाजु लेखनाथ निरौला र मुद्दा लडिदिने वरिष्ठ अधिक्ता दाजु टीकाराम भट्टराईप्रति शिर झुकाएर सम्मान गर्दछु र आभार प्रकट गर्दछु ।

मेरा श्रीमानको मित्र, कनकाई नगरपालिकाका लेखा अधिकृत भुपेन्द्र दाहालको पनि मेरो जस्तै दुवै मृगौला फेलियर भएर भारतको नोयडास्थित फोर्टिज हस्पिटलमा प्रत्यारोपण गरेको थियो । उहाँलाई उहाँकै आमाले मृगौला दान गर्नु भएको थियो । भुपेन्द्रकै सल्लाह बमोजिम हामी त्यही हस्पिटलमा जाने निष्कर्षमा पुग्यौँ । उहाँले हामीलाई त्यहाँको सहजकर्ता अजाज अहमदको मोवायल नम्बर पनि दिनु भयो । तर दुर्भाग्य, उहाँको चाहिँ मेरो अप्रेसन भएको छ दिनको दिन दुःखद् निधन भयो । उहाँको सफल प्रत्यारोपण भएर घर आउनु भएको थियो । अपरेसन गरेको दुई महिनादेखि नै अफिस जाने आउने गर्न थाल्नु भएछ । थोरै असावधानीका कारण दुःखद् अन्त्य भयो उहाँको । थाहा पाएर अत्यन्तै मर्माहत भएँ म । मनमा झस्का पर्नु स्वाभाविक थियो मेरो । कतै मेरो पनि हालत त्यस्तै त हुने हैन ?

आफैले आफैलाई समालेँ मैले । जे होस् म पनि त्यहाँ जानुको विकल्प थिएन, अन्त्यमा दिल्ली जाने निधो भयो । जान त जाने अर्थको जोहो कसरी गर्ने ? थोरै खर्चले नपुग्ने । सहकारी संस्था, आफन्त जहाँबाट हुन्छ खोज्न थाल्यौं । हामी जस्ता श्रमजीवीहरुको लागि कडा रोग लाग्यो भने मर्नु भन्दा अर्को विकल्प नरहनेरहेछ । जसोतसो अलिकति खर्चको जोहो गरेर हामी २०७८÷५÷४ गते बाघडोगराबाट दिल्लीको लागि प्रस्थान गर्यौ । त्यहाँ गएर कहाँ बस्ने होला ? कसरी बस्ने होला ? होटलमा बस्नु पर्यो भने कसरी खर्च धान्ने होला ? यक्ष प्रश्न बनेर हाम्रो परिवार सामु तेर्सिरहेको थियो । ‘अजिङ्गरको आहारा दैवले पुर्याउँछ’ भनेझैँ भयो हामीलाई । हाम्रो कान्छो छोरो प्रभातको साथी दिवश राजभण्डारीको काका नेपाल साल्ट ट्रेडिङ कम्पनीमा काम गर्नु हुँदोरहेछ । यस कम्पनीको दिल्लीकी निर्माण विहारमा फार्म हाउस रहेछ । त्यहाँ खान र बस्नको लागि दिवश राजभण्डारी, उनको पिता गणेश राजभण्डारी मार्फत् र हाम्रा अनन्य मित्र चन्द्रगढी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष पुरुषोत्तम अधिकारीको अनुरोधमा दिवशको काका कुमार राजभण्डारीले हामीलाई त्यहाँ बस्ने र खाने बन्दोबस्त गरिदिनु भयो । दिल्लीको ठाउँमा गाँस र बासको खर्च जोगिनु भनेको हाम्रा लागि ठूलो कुरा थियो । हामी ढुक्कले त्यहाँ बस्यौँ खायौँ ।

त्यहाँबाट करिव २०÷२२ किलोमिटरको दुरीमा रहेको फोर्टिज हस्पिटलमा जानु पथ्र्यो हामीले । ६ गतेको डाक्टरको एपोइन्मेन्ट भए पनि त्यहीँ नोएडास्थित फोर्टिज अस्पतालका सहजकर्ता साथी अजाजजीले हामी आएको थाहा पाएर ५ गते नै अस्पतालमा आउन भने पछि हामी ५ गते नै हस्पिटल गयौँ, मेरो पुनः घाँटीमा अप्रेसन गरेर पाइप राखेर तत्कालै डाईलोइसिस सुरु भयो भने उता मृगौला दाता (काका) को पनि चेकअप सुरु भयो । हामीले लामो स्वास फेर्यौ, कालो बादलमा चाँदीको घेरा देखेझै भयो । त्यहाँको प्रविधि र अस्पतालका डाक्टर, कर्मचारीको व्यवहारले हामी धेरै प्रभावित भयौँ । मेरो ७५ प्रतिशत रोग जाति भएको महशुस गरेँ मैले । डोनर र रिसिभरको परीक्षण गर्दै हप्ताको सुरुमा २ पटक पछि ३ पटक डाईलोसिस गरियो मेरो ।

केही कानुनी प्रकृयामा असजिलो झेल्दै अन्ततः २०७८÷०६÷०९ गते सफल प्रत्यारोपण भयो । प्रत्यारोपणमा संलग्न डाक्टरहरु नेफ्रोलोजिष्ट डाक्टर अनुजा पौडवाल, डाक्टर पीयूष भर्सने, डाक्टर दुष्यन्त नायर, हामीलाई हरतरहले आफ्नो परिवारको सदस्य जत्तिकै साथ र सहयोग गर्ने इन्टरनेशनल प्यासेन्ट केयर सेन्टरका सहजकर्ता भाइ अजाज अहमदलाई हामी कहिल्यै विर्सन सक्दैनौं । त्यस बीचमा हामीलाई धेरै ठूलो होस्टे गर्नु भयो हाम्रा सहृदयी साहित्यकारज्यूहरु, मेरा आदरणीय शिक्षक साथीहरू, मेरो विद्यालयका सम्पूर्ण शिक्षक मित्रहरू, कर्मचारी साथीहरू, प्यारा विद्यार्थी भाइबहिनीहरु, महिला समितिका साथीहरू, ०४४÷०४६ व्याच महेन्द्र क्याम्पस धरानका मित्रहरू, कर्मचारी संगठनका साथीहरू, छरछिमेकी इष्ट मित्र, आफन्त नातागोता, शिक्षक युनियन भद्रपुर, शिक्षक संगठन मेची, नगरशिक्षक संगठन दमक, वशिष्ठ गोत्रीय भण्डारी वन्धुहरु, विदेशमा रहनुहुने धेरै साथीभाइ, आफन्त लगायतका हाम्रा शुभचिन्तक, सहृदयी, हामीलाई माया गर्ने सबै सबैबाट हामीले ठूलो साथ, सहयोग, माया र सद्भावना पायौं । आड भरोसा पायौँ । यसले हामीलाई ठूलो आँट, हिम्मत, उर्जा र शक्ति प्राप्त भयो । यसैको परिणाम स्वरुप सफल प्रत्यारोपण पश्चात् १२ दिनको अस्पतालको आइसीयु बसाई र त्यसपछि पटकपटक फ्लोअप पश्चात् हामीलाई डाक्टरले घर जाने अनुमति दिनु भयो र हामी २०७८÷७÷४ गते नयाँ जीवन लिएर घर फर्कियौं ।

घरमा आएपछि पनि हामीलाई प्रत्यक्ष भेटेर, सामाजिक सन्जाल र फोन मार्फत् स्वास्थलाभको कामना गर्नुहुने सबै सबै आदरणीय जनहरुप्रति सदा ऋणी छौं । सर्वप्रथमतः मलाई आफ्नो शरीरको अङ्गदान गर्नु हुने आदरणीय काका (काकाससुरा)को जति प्रशंसा गरे पनि कम हुन्छ, जीवन पर्यन्त ऋणी छ हाम्रो परिवार । हजुरहरु सवैको साथ सहयोग र हौसलाले नै हामीलाई बाँच्ने प्रेरणा मिलेको छ, मनोवल अलिकति पनि गिर्न पाएन, गिरेको छैन । यो साथ, सहयोग, आशीर्वाद र प्रेरणाको सदा स्मरण गर्दै स्वास्थ्यमा आशातीत सुधार भएको सुनाउन पाउँदा औधी खुशी लागेको छ । यस मानेमा आफूलाई भाग्यमानी ठान्दछु म किनकि हजुरहरुको माया र प्रार्थनाले म र हाम्रो परिवार आज यो ठाउँसम्म आउन सफलता मिलेको छ । मैले पुनर्जीवन प्राप्त गरेको छु । आफन्त, इष्टमित्र, शुभिचन्तकहरुको सद्भाव सत्प्रेम माया र प्रार्थनामा एक किसिमको शक्ति हुँदोरहेछ भन्ने कुराको अनुभूति गरेको छु मैले ।

ममा सकारात्मक सोच, जीवन जीजीविषा, उच्च मनोवल र दृढ विश्वाश बढाउन तपाईँहरुको महत्वपूर्ण भूमिका रहेको छ । यसैगरी तपाईँहरुले मलाई हृदयभित्रैबाट माया गरेर मेरो उपचारमा गर्नु भएको हरतरहको सहयोगले नैँ मैले पुनर्जीवन प्राप्त गरेको छु । यसका लागि म सदैव ऋणी रहने छु । अन्त्यमा तपाईँहरु सवैसवै प्रति हार्दिक आभार व्यक्त गर्दछु ।

(शिक्षिका गीताकुमारी भण्डारीको मृगौला प्रत्यारोपण अनुभूति सम्बन्धी लेखको पहिलो श्रृंखला (पुनर्जन्मको ६ महिना–१) यस अघि प्रकाशित भइसकेको छ । यो सोही लेखको बाँकी भाग हो ।)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: