साह्रै हठी रहेछन् डीएसपी

  प्रकाशित मिति
१२ कार्तिक २०७४, आईतवार ११:१५


Dsp 3मेचीनगर । इतिहासमा एउटा व्यक्तिको अविवेकी हठले ठूलै दुर्दशा निम्तिएका दृष्टान्त पढ्न पाइन्छ । विर्तामोड प्रहरीको नेतृत्व सम्हाल्न आइपुगेका डीएसपी राजकुमार सिलवाल पनि बडो हठी सावित भएका छन्, जसका कारण शुक्रवार विर्तामोड रणभूमिमा परिणत हुन पुग्यो ।

प्रहरीको मूल मन्त्र नै सत्य, सेवा र सुरक्षा मानिन्छ । तर हठी डीएसपी सिलवालले दसैँको टिकाको दिन अर्जुनधाराका ११ वर्षीय वालक लक्ष्मण शिवाकोटी वेपत्ता भएर भोलिपल्ट मृत भेटिएको घटनामा अलिकति पनि जनसेवकको जस्तो शालीन स्वभाव प्रस्तुत गर्न सकेनन् ।

डीएसपीले मृतकका परिवारलाई घटनाको निष्पक्ष अनुसन्धान गरिने र सत्य तथ्य पत्ता लगाएर दोषीमाथि कानूनी कार्वाही गरिने भनी सुरुमै विश्वास दिलाउनु पथ्र्यो ।
वालक हत्या जस्तो सम्वेलनशील घटनामा आम जनता उद्वेलित भइरहेको बेला डीएसपी सिलवालले रुखो, असहयोगी र शङ्कास्पद व्यवहार गरिदिदा प्रहरीमाथि नै सर्वसाधारणको भरोसा टुट्न गयो ।

अर्कातिर डीएसपी सिलवालले पीडित परिवारप्रति मात्र होइन, मिडियाप्रति पनि अप्रिय व्यवहार दर्शाए । आम चासोको विषय बनिसकेको त्यो घटनामा भइरहेको प्रगति सम्बन्धमा मिडियासमक्ष केही बताएनन् । यसो हुँदा पीडित परिवार, मिडिया र सर्वसाधारण सबै पक्ष डीएसपी सिलवालमाथि झन् शङ्कालु बन्न पुग्यो ।

‘बाहिरको भीडले मलाई केही फरक पर्दैन’ जस्ता उनका रुखो अभिव्यक्तिले पीडित परिवार र सर्वसाधारण उनीविरुद्ध सडकमै उत्रिन बाध्य बने । सडकमा डीएसपीको सरुवा माग गर्दै निस्किएको जुलुसलाई पनि उनले नजरअन्दाज गरे ।

3सबैतिरबाट एक्लिएका सिलवालले विरोध प्रदर्शनलाई पेलेरै जाने नियत देखाउँदा अहिलेको ठूलो क्षति निम्तिन पुग्यो ।
शुक्रवार विरोध र बन्द शान्तिपूर्ण हुन पनि सक्थ्यो । तर प्रहरीले विहानै धरपकड सुरु गर्यो । धरपकडको विरुद्ध उत्रिएका युवामाथि दमन सुरु गर्यो । अश्रु ग्यास र लाठी हान्ने काम सामान्य जस्तै बन्यो । भीड उत्तेजित र उग्र बन्नुमा डीएसपीको असहिष्णु एवम् हठी व्यवहार मुख्य कारण मान्न सकिन्छ ।

मृतकका काका विष्णुप्रसाद सिवाकोटीले केही व्यक्तिका नाम किटेरै प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीले किटानी जाहेरीमा नाम परेका व्यक्तिहरुलाई छुनै नहुने अर्थात अनुसन्धानको दायरामा ल्याउनै नहुने जस्तो अर्को अप्रिय व्यवहार गर्यो ।

जसका विरुद्ध आरोप लाग्यो, उनीहरुलाई अनुसन्धान गर्नु स्वाभाविकै हो भनेर डीएसपीले किन बुझेनन् ? यो प्रश्न सबैका मनमा उब्जियो । उनी घटनालाई ढाकछोप गर्न र पीडितको विरोधलाई दमन गर्न लागेको भनेर बुझ्न थालियो । यही पृष्ठभूमिमा शुक्रवार विर्तामोड रणभूमि बन्न पुग्यो ।

विगतका काला कर्तुतः
नेपाल प्रहरीका तत्कालीन आईजीपी उपेन्द्रकान्त अर्यालका विश्वासपात्र मानिने विवादास्पद डीएसपी राजकुमार सिलवाल करिब दुई वर्षअगाडि काठमाडौँको एक डिस्कोमा बाउन्सरबाट कुटिएका थिए ।

२०७२ साल मङ्सिर १५ गते मङ्गलबार मध्यरातमा काठमाडौँको कमलादीस्थित टाइम्स क्लबमा रक्सीले मातिएर पदीय धम्की दिँदै रेस्टुरेन्टका कर्मचारीमाथि गिलास प्रहार गरेपछि बाउन्सरबाट कुटिएका थिए । त्यसबेला उनलाई प्रहरी मुख्यालयले निलम्बनसमेत गरेको थियो ।

टाइम्स क्लब माथिको राजघराना गजल रेस्टुरेन्टमा मदिरा सेवन गरेर अर्धचेत अवस्थामा पाँच जनाको दलबलसहित बिहान पौने एक बजे टाइम क्लबमा प्रवेश गरेका उनले अत्यधिक मादक पदार्थ सेवन गरेका थिए ।

बिहान साढे १ बजे बिल भुक्तानी नगरी हिँड्न खोजेपछि क्लबका कर्मचारीले बिल तिर्न आग्रह गर्दा सिलवालले बार टेन्डरलाई गिलास प्रहार गर्दै पेस्तोल देखाएर तर्साउन खोजेपछि रेस्टुरेन्टका बाउन्सरहरुले कुटेर कमलपोखरी प्रहरी वृत्तको जिम्मा लगाएका थिए ।

बाउन्सरहरुको कुटाइबाट गम्भीर घाइते भएका डीएसपी सिलवाललार्ई महानगरीय प्रहरी वृत्त कमलपोखरीको प्रहरी टोलीले राति नै उद्धार गरेर कमलपोखरीको हिमाल हस्पिटलमा पु¥याएको थियो । कुटाइबाट त्यसबेला उनको जिब्रो गिजा क्षतविक्षत भएपछि उनको जिब्रोमा मात्रै आठवटा टाँका लगाउनु परेको थियो ।

प्रारम्भिक अनुसन्धानको क्रममा प्रहरी आचरणविपरीत काम गरेको ठहर गर्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उनलाई निलम्बनको सिफारिस गर्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीका तत्कालिन डीआईजी मधुप्रसाद पुडासैनीको संयोजकत्वमा तत्कालीन एसपी विश्वराज पोखरेल र डीएसपी नरेशमान श्रेष्ठ सम्मिलित तीन सदस्यीय छानबिन समिति गठन गरेर छानबिन प्रक्रिया अगाडि बढाएको थियो ।

छानबिन समिति गठन भएसंगै उनलाई निलम्बन गरिएको थियो ।

नेपाल प्रहरीका तत्कालीन आईजीपी उपेन्द्रकान्त अर्यालको अत्यन्त निकट मानिने डीएसपी सिलवाल त्यसबेला महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा घुमुवा थिए । विवादास्पद छविका उनी महानगरीय प्रहरीको घुमुवाको रवाफ लगाउँदै हरेक दिन उपत्यकाका विभिन्न रेस्टुरेन्ट तथा डिस्कोहरुमा अड्डा जमाएर बस्ने गरेका थिए ।
त्यस अघि, २०६५ सालमा ठमेलको फायर डिस्कोमा बिल तिर्न अटेर गरेपछि त्यसबेला पनि उनी बाउन्सरबाट कुटिएका थिए ।

पटक–पटक विवादमा आइरहने उनलाई तत्कालीन आईजीपी अर्यालको संरक्षण रहेको कारण कारबाहीबाट जोगिदै आएका छन् । त्यसबेला बाध्यतावश निलम्बनमा परेका डीएसपी सिलवाललाई तत्कालिन आइजीपी अर्यालले कारबाहीबाट बचाएर निलम्बन फुकुवा गरेर आफनै सचिवालयमा राखेका थिए ।
(लोकतन्त्र पोस्टमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: