झापा । झापामा रहेका १५ वटा स्थानीय तहमध्ये दमक नगरपालिकाका महिला जनप्रतिनिधिहरुले नेपाली पोशाकलाई संरक्षण गर्न अभियान थालेका छन् ।
उनीहरु अधिकांश समय ढाकाको साडी चोलोमा सजिने निर्णय पनि गरेका छन् । सबै एकै नेपाली पोशाक (ड्रेस)मा होस् भन्ने उद्देश्यले उपप्रमुख बाहेकका जनप्रतिनिधि महिलाहरुले हरियो ढाकाको साडी लगाउन सुरु गरेका हुन् ।
नगरकी उपप्रमुख गीता अधिकारीले ३ महिना अघि बैठक बसेरै जनप्रतिनिधि महिलाहरुले ड्रेस लगाउने गरेको सुनाइन् ।
‘साडी हाम्रो मौलिकता झल्काउने पहिरन हो,’ उपप्रमुख अधिकारीले भनिन्–‘साडीलाई सभ्य पहिरनका रूपमा पनि लिइने हुँदा उहाँहरुले साडी लगाउने निर्णय गर्नुभएको हो । जसले स्मार्ट पनि देखिन्छ ।’
‘हरित नगर समृद्ध दमक’ मूल नारा लिएर अघि बढेको नगरका कारण उनीहरुले पनि हरियो साडी नै रोजेको उपप्रमुख अधिकारीले बताइन् ।
उनले स्थानीय दमक वडा नम्बर–१ मै उत्पादन गरिने ढाकालाई विशेष प्राथमिकतामा राखेर पोशाकको प्रयोग गरेको बताइन् । जसलाई नेपाली ढाकाको हब बनाउने उनीहरुको योजना छ ।
जनप्रतिनिधि महिलाहरुले कार्यक्रममा जाँदा होस् या नगर वा वडाको बैठकमा जाँदा होस् साडी नै लगाउने गरेका छन् । तर, उपप्रमुख अधिकारीलाई भने पोशाकमा छुट दिएका छन् ।
‘दैनिकजसो धेरैवटा कार्यक्रममा हिंड्नुपर्छ,’ अधिकारीले भनिन्–‘त्यही भएर साथीहरुले मलाई चाहिँ छुट दिनुभएको छ । तर विशेष गरी सबै जनप्रतिनिधि उपस्थित हुने कार्यक्रममा भने म पनि हरियो नभए पनि ढाकाकै साडी लगाउँछु ।’
उनले दमक नगरपालिकाका महिला जनप्रतिनिधिहरु पोशाकमा मात्र होइन हरेक क्षेत्रमा अब्बल रहेको बताइन् । उनले निर्वाचित भएर आउने वित्तिकै पहिलोपटक जनप्रतिनिधिहरुलाई नेतृत्व विकास तालिम दिएर सक्षम बनाएको समेत जानकारी दिइन् ।
त्यसैगरी नगरको बोर्ड बैठकले नै दमक क्षेत्रमा हुने जुनसुकै कार्यक्रम तथा अतिथि सत्कारमा ढाका तथा सुतीको खादा प्रयोग गर्नु पर्ने निर्णय गरेको उपप्रमुख अधिकारीले बताइन् ।