मेचीनगर । छोरी जन्माएको पाँच दिनमा पतिको मृत्यु भएर असहाय बनेकी मेचीनगर नगरपालिका वडा नं. १० की देवीमाया मेचेलाई स्थानीयवासीले सहयोग जुटाएर पक्की घर बनाइदिएका छन् ।
मेचीनगर–९ मा ६ लाख २० हजारमा नवनिर्मित चार कोठे घर उजलाई एक कार्यक्रमविच सोमवार विहान हस्तान्तरण गरिएको छ । विद्यालय जाने उमेरकी ठुली छोरी र काखमा हुर्किदै गरेकी सानी छोरीलाई लिएर आफ्ना लागि बनाइएको नयाँ घरमा प्रवेश गर्दा देवीमायाले हर्षले आँशु बगाएकी थिइन् ।
देवीमाया आफु शारीरिक अशक्त छिन् । उनको एउटा हात विहे अघि नै करेन्ट लागेका कारण काटेर फाल्नु परेको थियो । बच्चा स्याहार्ने, खाना पकाउने, लुगा धुने लगायतका सबै काम उहाँ एउटै हातको भरमा गर्छिन् ।
नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले खरिद गरी प्रदान गरेको ७ धुर जग्गामा टिनको छानो र इँटाको पर्खाल भएको चार कोठे पक्की बनाइएको छ । घरबासका लागि आवश्यक पर्ने किचनका सबै सामान, काठका पलङ, भाडाकुडा, सोलार उपकरण, विजुली र पङ्खा, सिसाको झ्याल, सिमेन्टको भुइँ, टायल्स विछ्याइएको शौचालय, पानीको धारा सबै व्यवस्था गरिएको घर निर्माण समितिका सचिव टिकाराम मग्रातीले बताए ।
देवीमायाको नाजुक अवस्था सार्वजनिक भएपछि दुई महिना अघि स्थानीयवासीले विजय डालमियाको संयोजकत्वमा घर निर्माण सहयोग समिति गठन गरेका थिए । समितिले देश–विदेशका नेपालीबाट स्वतस्फुर्त जुटेको सहयोगबाट घर निर्माण सम्पन्न गर्नुका साथै आगामी दिनमा देवीमायाको जीवन निर्वाहका लािग ५ लाख कोषमा राखिदिने योजना बनाएको संयोजक डालमिया बताउँछन् ।
गृहप्रवेश कार्यक्रममा बोल्दै जग्गादाता एवम् युवा नेता विश्वप्रकाश शर्माले देवीको घर मात्र नभएर मन्दिर बनेको अनुभूति भइरहेको बताए ।
मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले स्थानीय सरकारले गर्न नसकेको काम स्थानीयवासी आफैले गरेर देखाइदिनु भएको बताए ।
संयोजक डालमियाको अध्यक्षता, सचिव टिकाराम मग्रातीको उद्घोषण र सदस्य सुशिल आचार्यको स्वागतमा भएको कार्यक्रममा जनसंसद् दैनिकका सम्पादक मुक्ति पौडेलले समेत मन्तब्य ब्यक्त गरेका थिए ।