विर्तामोड । राम्रा र नौला कामका कारण चर्चामा आइरहने हल्दिबारी गाउँपालिका यसपटक धनुष आकारको कार्यालय भवन निर्माण सुरु गरेको समाचारले चर्चामा छ ।
हल्दिबारीको पहिचानको रुपमा रहेको धनुषपोखरी क्षेत्रमा करीव ४ करोडको लागतमा बन्न लागेको भवनको नक्सा तादो चढाइएको धनुष आकारको छ ।
हल्दिबारी–५ मा यो भवन बनाउने गरी हालै प्रमुख, उपप्रमुखसहित २९ जना जनप्रतिनिधिहरुले संयुक्त रुपमा शिलान्यास समेत गरेका छन् ।
स्थानीयबासीले उपलब्ध गराएको १ बिघा ९ कठ्ठा जग्गामा बन्ने भवनको निर्माण किरातेश्वर कन्ट्रक्सन एन्ड ड्रिलिङ कम्पनी काठमाडौँले गर्ने भएको छ ।
किरातेश्वर कम्पनीले २०७६ चैत ३० गते निर्माण सम्पन्न गर्ने सहमति भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताएका छन् ।
भवनमा सबै प्रशासनिक सेवा प्रदान गर्न सकिने गरी सुविधाजनक कोठाहरु बनाइने भएको छ ।
गाउँपालिकाले सार्वजनिक गरेको भवनको नक्सा हेर्दाखेरी धनुष आकारभन्दा कम्युनिस्ट पार्टीको झण्डा (हसिया हथौडा) आकारको देखिएको चर्चा समेत चल्न थालेको छ ।