हल्लाकै भरमा पम्पमा लाइन

  प्रकाशित मिति
१५ फाल्गुन २०७३, आईतवार १९:२१


झापा । झापाको अधिकांश पेट्रोल पम्पहरुमा इन्धन भर्न विगत नाकाबन्दीकै बेला जस्तो गरी यातायातका साधनहरुको लाम लाग्न थालेको छ ।
तर नेपाल आयल निगम र पेट्रोलियम डिलर्स एसोसिएसनका अधिकारीहरुले इन्धनको कुनै अभाव नभएको र सबै पम्पहरुबाट धमाधम इन्धन वितरण भइरहेको जनाएको छ ।

मेचीनगरको नन्दा, नेम्वाङ, प्रनिक लगायतका पम्पहरुमा आइतवार अपरान्ह पेट्रोल वितरण थाल्दा मोटरसाइकल, कार, टेम्पो र ठूला यातायातका साधनहरुको ताती लागेको थियो ।

प्रनिक आयलका सञ्चालक समेत रहेका मेची पेट्रोलियम डिलर्स एसोसिएसनका वरिष्ठ उपाध्यक्ष नवीन कोइरालाले हल्ला र भ्रमका कारण मानिसहरु पम्पहरुमा लाम लागेको बताए ।

झापाका सबै पम्पमा पेट्र«ोल र डिजेल धमाधम वितरण भइरहेको जनाउँदै कोइरालाले मधेसमा आन्दोलन सुरु भएको हल्लासँगै सर्वसाधारणमा नाकाबन्दीको त्रास पसेको हुनसक्ने बताए ।

नेपाल आयल निगम चारआली डिपोका सूचना अधिकारी लोकमणि पौडेलले निगमबाट पर्याप्त मात्रामा तेल पठाइएको जनाउँदै अनावश्यक हल्लाका कारण पम्पहरुमा घुइँचो बढेको बताए ।

पौडेलका अनुसार आइतवार झापाका २९ वटा पम्पमा पेट्र«ोल र डिजेल वितरणका लागि पठाइएको छ । उनले शुक्रवार शिवरात्रि र शनिवार पनि विदा भएको कारण अधिकांश पम्पले आइतवार मात्र डिपोबाट तेल उठाएको हुँदा वितरण सुरु गर्न साँझ परेको हुनसक्ने बताउँदै इन्धनको कुनै हालतमा अभाव नहुने कुरामा आश्वस्त तुल्याएका छन् ।

धुलावारीको नेम्वाङ पेट्रोल पम्पमा आइतवार साँझ पेट्रोल भर्न आएका बाहुनडाँगीका रोशन रुम्दालीले नाकाबन्दीको हल्ला सुनेर आफु पम्पमा आएको बताए ।

पम्पमा लाम बढ्नुमा ३ वटा कारण भएको बुझिएको छ । पहिलो हो–मधेश आन्दोलनको हल्ला । सरकारले स्थानीय चुनावको तिथिमिति तोकेपछि मधेशी मोर्चाले तराईमा आन्दोलन सुरु गर्दा सर्वसाधारणलाई पहिलेकै जस्तो इनधनको हाहाकार हुने डर पलायो । त्यहीकारण मानिसहरु आफ्ना यातायातका साधन लिएर पम्पतिर दौडिए ।

दोस्रो कारण हो–ट्याङ्कर मजदुरको आन्दोलन । विराटनगरका मजदुरले गत साता हड्ताल गर्दा कोशीतिरका सम्पूर्ण यातायातका साधनले मेचीका पम्पमा आएर तेल भरेको पम्प व्यवसायीहरु बताउँछन् । मेचीको भन्दा कोशीमा तेलको माग १० गुणा ज्यादा छ । तसर्थ कोशीतिरका गाडीले मेचीमा एक साता पुग्ने तेल दुई दिनमै उठाइदिए ।तर अब कोशीमा मजदुरको हड्ताल सकिएको छ । अहिले उताका गाडीले मेचीमा तेल भर्नु परेको छैन ।

तेस्रो कारण हो तस्करी । नेपालमा भन्दा भारतमा डिजेलको भाउ प्रति लिटर १२ रुपैयाँ ज्यादा छ । नाकाबन्दीका बेला जस्तै भारततिरका यातायातका साधनले विगत एक महिनादेखि बोर्डरका नेपाली पम्पबाट फुलट्याङ्की तेल भर्दै भारततिर तस्करी गर्दै आएका छन् ।

हुन त यसबाट नेपालमा तेलको हाहाकार नै मच्चिनु पर्ने होइन । पम्प व्यवसायीहरु यसको प्रभाव न्यून रहेको बताउँछन् । आयत निगम चारआलीका सूचना अधिकारी पौडेल आइतवार पर्याप्त मात्रामा तेल वितरण भएकाले सोमवारदेखि पम्पमा लाइन लाग्नु नपर्ने बताउँछन् । तर त्रासकै कारण सर्वसाधारण र यातायात व्यसायीहरुले इन्धन स्टक गर्न थाले भने मङ्गलवारसम्म पम्पमा लाइन लम्बिन सक्ने अनुमान गरिएको छ ।

निगमले सोमवार लोसार विदाका कारण व्यवसायीहरुलाई तेल वितरण गर्दैन । त्यसको कारण आपूर्ति सहज बन्न मङ्गलवार पर्खिनु पर्ने हुन सक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: