बिर्तामोड । बिर्तामोडको शान्ति सुरक्षालाई मध्यनजर गर्दै सीसी क्यामेरा जडान कार्य सुरु गरिएको छ । गत असोजमा गठित सीसी क्यामेरा जडान उपभोक्ता समितिले बिर्तामोडमा सीसी क्यामेरा जडानकार्य सुरु गरेको हो ।
मुक्तिचोकमा जडित अढाई लाख मुल्य पर्ने सीसी क्यामेराको सोमबार शुभारम्भ गरिएको छ । सीसी क्यामेरा जडान उपभोक्ता समितिका अध्यक्ष मिजास पोखरेलको अध्यक्षतामा जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडमा भएको कार्यक्रममा बिर्तामोडका विभिन्न संघसंस्थाका प्रतिनिधिको समेत उपस्थिति थियो ।
प्राविधिक कृष्ण घिमिरेका अनुसार मुक्तिचोकमा जडित सीसी क्यामेरा ‘हाई रेन्ज’को छ । दुईसय मिटर परसम्मको दृश्यलाई जुम गरेर हेर्न सकिने उनले बताए । ‘कहाँ घटना भएको छ, त्यहाँ फोकस गरेर पिक्चर स्न्याप गर्न सकिन्छ,’ उनले भने, ‘क्यामेरा ३६० डिग्रीको हो ।’ समितिले ४ वटा क्यामेरा जडान गर्ने लक्ष्य लिएको छ । मुक्तिचोकमै यसअघि जडित सीसी क्यामेराहरु पनि अन्य स्थानमा जडान गरिने बताइएको छ ।
शुभारम्भ कार्यक्रममा सीसी क्यामेरा जडान उपभोक्ता समितिका सचिवसमेत रहेका इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी केशवकुमार थेवे, बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष कुमार भट्टराई, वीरता जेसीजका अध्यक्ष सञ्जु भारती, वीरता लेडी जेसीजकी अध्यक्ष नैनकला भट्टराई, शिक्षासेवी जयनारायण ढुङ्गाना, झापाका ट्राफिक प्रहरी प्रमुख ढुण्डीराज गिरीलगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन सीसी क्यामेरा जडान उपभोक्ता समितिका सदस्य मेघराज बास्तोलाले गरेका थिए ।