हात्तीका साथी क्रिस्टिन एडवार्ड

  प्रकाशित मिति
४ मंसिर २०७२, शुक्रबार ०६:४२


  • एडवार्डकाे हात्ती क्याम्प त्यस्तो लज हो जहाँ हात्तीलाई नजिकबाट चिन्न र उसलाई माया गर्न सिकाइनेछ ।

केबी राना

कार्तिक १८, २०७२-
नेपालमा पर्यावरणीय पयर्टन प्रबद्र्धन गर्नुसँग टाइगर टप्सको परिचय अग्रणी रूपमा जोडिएको छ । संरक्षणकर्मी तथा व्यवसायी जिम एडवार्डले सुरु गरेको यो अभियान अहिले उनका छोरा क्रिस्टिनको काँधमा छ । सन् २००९ मा किमको निधन भएपछि नेतृत्व सम्हालिरहेका पुत्र क्रिस्टिनले त्यही साखलाई पछ्याउँदै नवलपरासीको अमलटारीमा हात्ती क्याम्पको सुरुआत गरेका छन् । उनको भनाइमा हात्ती क्याम्प त्यस्तो लज हो जहाँ हात्तीलाई नजिकबाट चिन्न र उसलाई माया गर्न सिकाइनेछ । यस्तो प्रयास नेपालमै पहिलो हो ।

जनावरलाई दु:ख दिएर उसबाट फाइदा लुट्नु हुँदैन भन्ने कुरा एडवार्ड खानदानको रगतमै छ जो सन् १९७२ देखि नेपालमा टाइगर टप्स चलाएर बसेका छन् । टाइगर टप्सको स्थापना भने त्यसको ८ वर्षअघि भएको थियो । टाइगर टप्सका अध्यक्ष रहेका क्रिस्टिन यसलाई त्यसकै निरन्तरताको एउटा नयाँ श्रृंखला मात्र भनेर चिनाउन चाहन्छन् । पर्यटक आफैँ हात्तीलाई घाँस, कुँडो, दाना खुवाउनेछन् । सँगै खेल्नेछन् । र, हात्तीसारनजिकै क्याम्पमा सुत्नेछन् । भन्छन्, “हात्तीको हरेक दैनिकी जान्न पाइनेछ । जति नजिकबाट चिन्न सकिन्छ उत्तिनै बढि माया लाग्ने त हो ।”

यहाँ हात्ती चढेर यात्रा गर्न चाहने पर्यटकलाई विस्तारै क्याम्पमा बस्न प्रेरित गर्ने टाइगर टप्सको योजना छ । जसले हात्ती र समग्र जनावरकै संरक्षण संस्कार पर्यटकमा विकास गराउनेछ । उनका अनुसार धेरैलाई अहिलेसम्म हात्ती चढ्नुको मज्जा मात्र थाहा छ तर उत्तिकै मज्जा हात्तीको सेवा गर्दा पनि पाइने धेरैलाई थाहा छैन । आफ्ना बुवासँगै नेपाल आएका क्रिस्टिनलाई यहाँको परिवेश राम्रोसँग थाहा छ । त्यसैले हात्तीलाई खुसी पार्ने नयाँ कुरा के कसरी पत्ता लगाउने भन्ने उनी खोजिरहन्छन् ।

उनले आफूलाई परिचय गराउँदा क्रिस्टिन बहादुर एडवार्ड भनेर चिनाउँछन् । उनी मज्जैसँग नेपाली बोल्छन् । भन्छन्, “स्थानीय थारु माउते र संरक्षणकर्मीले नसघाएको भए यो प्रयास सुरु गर्नै सकिँदैनथ्यो ।” स्थानीय संस्कृतिलाई पनि टाइगर टप्सले अभिन्न अंग मानेर संरक्षण गरेकाले नै यो अभियान बहुआयामिक भएको छ ।

हात्ती सफारीबाटै सिकेर एडवार्ड परिवारले यो कामको थालनी गरेको हो । अहिलेलाई सफारीको पूर्ण विकल्प नभएता पनि विस्तारै सफारीभन्दा पर्यटकलाई क्याम्पमा केन्द्रित गर्ने उनको योजना छ । १६ विघा क्षेत्रफलमा फैलिएर रहेको हात्ती क्याम्पका घाँसे मैदान, हात्तीसार र त्यसैको छेउमै मौलिक संस्कृति झल्कने कटेज बनाइएको छ । क्रिस्टिन भन्छन्, “माउते र गाइडले क्याम्पमा आउने पर्यटकलाई हात्तिलाई सेवा गर्ने घाँस काट्ने/दाना खुवाउने तरिका सिकाउँछन् ।”

अहिले क्याम्पमा १२ वटा हात्ती छन् जसमध्ये ८ वटा झण्डै ५ सय किलोमिटर हिँडाएर बर्दियाबाट ल्याइएको हो । अमलटारी चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ । अर्को महिनामा उनीहरूले त्यहाँ पनि हात्तीपोलो सुरु गर्दैछन् ।

क्याम्पलाई पर्यावरणीय पर्यटनको नमुनाको रूपमा विकास गर्ने योजनामा छन् । “पैसा कमाउने भन्दैमा पर्यावरण संवेदनशील यस्ता ठाउँमा हूलका हूल पर्यटक ल्याएर पनि हुँदैन,” क्रिस्टिन भन्छन्, “पर्यटक आउँदा पर्यावरण संरक्षणमा योगदान थपिनुपर्छ, हात्ती क्याम्पले सिकाउन खोजेको त्यही हो ।”

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: