मेचीनगर, २२ असोज । झापामा लामो समयदेखि फुटेको आँखा र जिउभरि भालाको चोट बोकेर भौतारिरहने एउटा घाइते हात्तीको आज सफल उपचार भएको छ ।
चितवनबाट आएका वरिष्ठ पशुचिकित्सक डा. बिजयराज श्रेष्ठ नेतृत्वको चार सदस्यीय टोलीले हात्तीलाई वेहोश बनाएर उपचार गरेको हो ।
मेचीनगर–३ बाहुनडाँगीस्थित तेलपानी सामुदायिक बनको ३ किलोमिटर भित्र झाडीमा आज विहान घाइते हात्तीलाई डाट विधिबाट वेहोश बनाउने २ गोली प्रहार गरिएको थियो ।
पहिलो गोली हानेको एक घण्टासम्म हात्ती बेहोश नभएपछि दोस्रो गोली हानिएको थियो । दोस्रो गोली हानेको १० मिनेटमै हात्ती बेहोश भएर ढलेको थियो । हात्ती करिब ४५ बर्षको रहेको डा. श्रेष्ठले बताए । उनले हात्तीको लम्बाई ६ दशमलव ४० सेमी, उचाई ३ मिटर र ८० सेमीको दाह्रा रहेको बताए ।
विगत ३ वर्ष अघि नै आँखा नदेख्ने हात्तीको पहिचान भएको थियो । तर उपचार सम्भव भएको थिएन । गत वर्ष चिकित्सक टोली चितवनबाट आउँदा जङ्गलमा हात्ती भेटिएको थिएन ।
आँखा नदेख्दा सो हात्ती गाउँवस्तीमा जथाभावी डुल्थ्यो । मानिसहरुमा त्रास फैलिने गरेको थियो । घर र रुखहरुमा समेत ठोक्किदै हिँड्ने गरेको सो हात्तीलाई मानिसहरुले भाला र तीरले हानेर घाइते बनाएका थिए ।
चितवन राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागबाट आएका वरिष्ठ पशुचिकित्सक डा. विजयकुमार श्रेष्ठ हात्तीको उपचारमा ख्याति आर्जन गरेको डाक्टर हुन् । डिभिजन वन कार्यालयको पहलमा आएको विज्ञ टोलीमा डा. टेकनाथ दाहाल, बन्यजन्तु प्राविधिक दीपप्रसाद चौधरी, सुरेन्द्र चौधरी थिए । उनीहरुले औषधि उतैबाट बोकेर ल्याएका थिए ।
जङ्गलमा हात्ती देखा परेको सूचनाका आधारमा बन कार्यालयले आज विहानैदेखि हात्ती खोज्न टोली खटाएको जिल्ला बन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताए ।
पछ्याउँदै जाँदा ३ किलोमिटर जङ्गलभित्र झाडीमा लुकिरहेको अवस्थामा घाइते हात्ती भेटिएको थियो ।
डा. श्रेष्ठले हात्तीको दाहिने आँखा फुटेकाले देख्न नसक्ने अवस्थामा रहेको बताएका छन् । देब्रे आँखा समेत चोटका कारण पुरै देख्नसक्ने अवस्थमा नभएको उनको भनाई छ । शरीरको ढाड, साप्रा, पुच्छरलगायतका विभिन्न अङ्गमा भालाले रोपिएको गहिरो घाउ भेटिएको र त्यसको उपचार गरिएको श्रेष्ठले बताए ।
उपचारपछि रमाउँदै रमाउँदै हात्ती जङ्गलतिर कुदेको थियो ।
झापामा जङ्गली हात्तीको उपचार गरिएको यो पहिलो घटना हो । उपचार अभावमा झापामा यस अघि दर्जनौं हात्ती मरिसकेका सामुदायिक वन महासंघ झापाका अध्यक्ष बेदप्रकाश भण्डारीले बताए । ‘यही हात्ती पनि शरीरभरि घाउ चोटका कारण जिउँदै गन्हाउन थालिसकेको थियो’, उनले भने–उपचार पायो अब बाच्छ ।’
अम्बिका भण्डारी