हात्तीबाट जोगिन गाउँगाउँमा पोस्टर

  प्रकाशित मिति
१७ जेष्ठ २०७६, शुक्रबार ११:५०


भद्रपुर । झापाका अधिकांश स्थानमा दिउँसै जंगली हात्ती गाउँ पस्न थालेपछि स्थानीयवासीलाई सावधानी अपनाउनका लागि डिभिजन वन कार्यालय झापाले सचेतनामूलक पोस्टरहरु टाँस्न थालेको छ ।

कार्यालयले विशेष गरी अर्जुनधारा नगरपालिका, भद्रपुर, मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकाका विभिन्न स्कूल तथा सार्वजनिक स्थानमा ‘हात्तीसँग सावधानीपूर्वक सहयात्रा’ भन्ने नारासहितका पोस्टर टाँस्न सुरु गरेको हो ।

केही दिनयता बाहुनडाँगीको बस्ती नजिकैको चिया बगान र अर्जुनधारा नगरपालिका–५ कञ्चनबारीस्थित किसानका उखुबारीमा बच्चासहित आधा दर्जन हात्ती दिउँसै पसेर गाउँलेलाई आतंकित पारेपछि वनले जंगली हात्तीको आक्रमणबाट जोगिनका लागि आवश्यक पर्ने कुराहरु लेखेर पोस्टर टाँस्न थालेको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताए ।

पोस्टरमा सानो बच्चासहित हात्ती रहेको, जम्का भेटमा अचानक हात्तीको नजिक पुगेको अवस्थामा, चरिरहेको बेला जिस्काएर होहल्ला गरेमा, आगोको अगुल्टा वा कुनै वस्तुले हात्तीलाई हानेमा पनि आक्रमण गर्ने सक्ने उल्लेख गरिएको छ ।

हात्तीको शारीरिक हाउभाउ हेरेर रिसाएको वा नरिसाएको थाहा पाउने तरिका र मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने हाम्रा कर्तव्यको बारेमा समेत बँुद्धागत रुपमा पोस्टरमा उल्लेख गरिएको छ ।

उनका अनुसार झापाको हल्बिारी, बुद्धशान्ति गाउँपालिका, भद्रपुर, अर्जुनधारा, मेचीनगर नगरपालिकाभित्र रहेका सामुदायिक वनहरुमा १३ बढी रैथाने हात्ती रहेका छन् । किसानले लगाएको मकै, धान पाक्न सुरु गरेसँगै हात्ती गाउँ पस्न थालेको उनको भनाई छ ।

प्रमुख घिमिरेले हात्ती प्रभावित क्षेत्रहरुमा साइरनसहितको गाडी लिएर वन हेरालुहरुले दिनरात गस्ती गरिरहेको बताए ।

मानव–हात्ती द्वन्द्वको तथ्याङ्क हेर्ने हो भने आर्थिक वर्ष २०६७–६८ देखि चालू आर्थिक वर्ष ०७५–७६ को हालसम्ममा झापाका ३८ ले हात्तीका कारण ज्यान गुमाइसकेका छन् भने मान्छेका कारण १० हात्ती मरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: