हात्ती आतङ्क उस्तै

  प्रकाशित मिति
२३ कार्तिक २०७३, मंगलवार १०:३७


hatti

बाहुनडाँगी । एक साता नबित्दै झापामा जङ्गली हात्तीको आक्रमणबाट अर्का एक व्यक्तिको मृत्यु भएको छ । झापाको गरामनी–४ का जयनारायण अधिकारीको ज्यान लिएको एक सातापछि सोमबार बाहुनडाँगी–२ का ६० वर्षीय मनोहरि ढुङ्गेलको जङ्गली हात्तीको आक्रमणबाट ज्यान गएको हो ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका इन्स्पेक्टर दीपक सुबेदीका अनुसार सोमबार बिहान ७ बजेतिर घर नजिकै रहेको चिया बगानमा घाँस काट्न गएका ढुङ्गेललाई जङ्गली हात्तीले आक्रमण गरेको हो । उनीसँगै घाँस काट्न गएका स्थानीय ६२ वर्षीय लम्बबहादुर प्रधान हात्तीको आक्रमणबाट घाइते भएको बाहुनडाँगीका पूर्वगाविस अध्यक्ष निलकण्ठ तिवारीले जानकारी दिएका छन् । प्रधानको दाहिने हातमा चोट लागेको तिवारीले बताएका छन् ।

यसरी भयो घटना
सोलार फेन्सिङ गरिएपछि झापाको पूर्वाेत्तर क्षेत्रमा हात्ती नियन्त्रण भएको सरकारी पक्षको दावी छ । तर, झापाका धेरै गाउँ र नगरका नागरिकलाई विद्युतीय तारबारले कतिपनि राहत दिन सकेको छैन । बुधबारे र शान्तिगरनमा शुक्रबारदेखि देखा परेको हात्ती सोमबार बाहुनडाँगी पुुगेको हो । स्थानीयबासी, प्रहरी र सशस्त्र प्रहरीले भगाउन थालेपछि बिच्किएको जङ्गली हात्तीले घाँस काट्न गएका ढुङ्गेललाई शिकार बनाएको हो ।

गरामनी, जलथल, पृथ्वीनगर, मेचीनगर, ज्यामिरगढी, दुवागढीलगायतका स्थानमा धान उठाउन थालेपछि हात्तीले उपद्र गरिरहेको छ । सर्वसाधारणको निन्द्रा हराउन थालेको छ । बुधबारेबाट हात्ती पसेको हल्लाले बाहुनडाँगीका नागरिक चनाखो भएका थिए । तर, गाईवस्तुको पेट भर्न घाँस काट्न गएका ढुङ्गेलले त्यही हात्तीको आक्रमणमा परे । अहिले पनि झापाका १ दर्जनभन्दा धेरै गाविस र नगरका नागरिक हात्तीको आतङ्क सहेर बसिरहेका छन् । अन्न जोगाउन प्रयासमा मानिसको ज्यानै जाने चिन्ताले आमनागरिक पिरोलिरहेका छन् । तिरिङदेखि काँकरभिट्टासम्म विद्युतीय तारबार गरिएको छ । त्यसले गर्दा भारतबाट हात्ती आउन बन्द भएको बाहुनडाँगीका पूर्व गाउँ अध्यक्ष निलकण्ठ तिवारीले जनाए । तर, झापाका जङ्गलमै रहेका हात्तीले पटकपटक वितण्डा मच्चाउने गरेको उनले बताए । तिवारीले जङ्गली क्षेत्रमा बस्ने अनि किसानले लगाएको अन्नबाली हात्तीले सखाप पार्ने गरेको बताए ।

वन कार्यालय झापाका अनुसार आर्थिक वर्ष २०६७÷०६८ यता २५ जनाभन्दा धेरै सर्वसाधारणको ज्यान हात्तीको आक्रमणबाट गुमेको छ । अहिले बाहुनडाँगीमा निर्माण गरिएको सोलार फेन्सिङले आतङ्क थोरै घटेको छ । छोटो समयमा हात्ती समस्या निदानका लागि भनेर ठूलो धनराशी खर्च भइसकेको छ । तर, हात्ती नियन्त्रणमा भएको लगानीको प्रतिफल स्थानीयबासीले महसूस गर्न पाएका छैनन् ।

नियन्त्रण प्रयासमा चुनौति
झापाका अरु गाउँमा अहिले किसानलाई धान काट्ने र थन्क्याउने हतारो छ । बुधबारे, बाहुनडाँगी र शान्तिनगरका धेरै किसान खेतको धान कसरी जोगाउने भन्ने चिन्तामा छन् । थन्क्याउन ठिक्क पारेको धान जङ्गली हात्तीले सखाप पारिदिएपछि किसान चिन्तामा छन् ।
खेतको धान अघिल्ला वर्षभन्दा लहलाउदो आएपनि यस पटक भित्र्याउन नपाइएला भन्ने पिरलो त्यस क्षेत्रका किसानलाई छ । नेपाल–भारत सीमास्थित मेची खोलाबाट प्रवेश गर्ने हात्ती अहिले बाटो फेरेर आउन थालेको स्थानीयले जनाएका छन् । सीमावर्ती भारतीय जङ्गलबाट हात्ती आउने क्रम घटेपनि पूर्ण रुपमा सुरक्षित महसुस गर्न स्थानीयले पाएका छैनन् । धान र मकै भित्र्याउने बेलामा हात्तीको आतङ्क बढ्ने तिवारी बताउँछन् ।

हात्ती बाहुनडाँगी पस्ने बित्तिकै तीर, धनुषकाँड तथा ग्याटिस र गुलेली बोकेर लखेट्न जुट्ने गाउलेको दैनिकी अहिले फेरिएको छ । हात्ती खेद्न हिंसात्मक तरिका अपनाउँदै आएका नागरिकले अहिले त्यति धेरै सास्ती भोग्नु परेको छैन । तर, आतङ्क रोकिएको छैन । हात्तीको आक्रमणबाट धनजनको क्षति भई नै रहेको छ । स्थानीयबासीले अहिले धेरै राहत महसुस गरिरहेका छन् । ‘तर, बाटो फेरेर बाहुनडाँगी प्रवेश गर्ने हात्तीले अझै पनि आतङ्क मच्चाउन छाडेको छैन’ – तिवारीले भने ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: