हात्ती छेक्दा भारतको टाउको दुखाई

  प्रकाशित मिति
२ असार २०७३, बिहीबार १६:०४


Elephant tarbar

झापा । भारतबाट नेपाल छिर्ने जङ्गली हात्तीले वर्षौंदेखि मानवीय तथा भौतिक क्षति गरेपछि त्यसलाई रोक्न नेपालले बाहुनडाँगी झापामा लगाएको सौर्य तारबारबारे भारतीय चासो बढेको छ ।

वन्यजन्तु ओहोरदोहोर गर्ने क्षेत्रमा नेपालले एकतर्फी तारबार लगाएको भन्दै पश्चिम बङ्गालका वनमन्त्री विनयकृष्ण बर्मनले नेपाललाई उक्त तारबार हटाउन चिठी पठाइसकेको बताउनुभएको छ ।

दार्जीलिङमा वन अधिकृतहरूसँग बर्मनले उक्त तारबार नेपालले अन्तर्राष्ट्रिय सिमाक्षेत्रमा लगाएको भन्दै हटाउन पत्र पठाइएको बताउनुभएको छ ।
‘हामीले त्यो हटाउन नेपाल सरकारलाई चिठ्ठी लेखिसकेका छौं’, बर्मनलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ ।

स्थानीय जनताले दुःख पाएको भन्दै नेपालले इलामको जिर्मले गाविसदेखि मेचीनगर–१० काँकरभिट्टासम्म १८ किलोमिटर क्षेत्रमा सौर्य तारबार लगाएको थियो ।

जनताकै बीचबाट यस्तो धारणा आएपछि उक्त क्षेत्रमा सरकारले लगाएको सौर्य तारबार दुई महिना अगाडिबाट सञ्चालनमा आएको थियो ।

बाहुनडाँगीमा जङ्गली हात्तीले १७ जनाको ज्यान गइसकेको छ । दिनहुँजसो आउने हात्तीले बालीनाली सखाप पारेपछि स्थानीय हैरान थिए ।

‘घरबारै छोडेको त छैन तर हात्तीले एकदमै क्षति गरेको अवस्था हो’, प्रकृति संरक्षण समाजका संस्थापक अध्यक्ष अर्जुन कार्कीले भने–‘वैशाख महिनादेखि यो तारबार सञ्चालनमा आएको हो ।’

वन विभागका महानिर्देशक गौरीशङ्कर तिमलाका अनुसार भारतबाट त्यस्तो चिठी आएको छैन । ‘त्यो ट्रान्स बाउन्डरिङ मिटिङमा हुने कुरा हो, क्षेत्रीयस्तरको मिटिङ हुँदा त्यसैमा कुरा उठाउने होला, विभागमा आइपुगेको छैन’–उनले भने ।
तिमलाका अनुसार ‘जसलाई उपचार रोग लाग्छ, उसैले उपचार गर्ने हो’, त्यसैले तारबार लगाइयो । ‘बाहुनडाँगीको बाटो भएर लामो समयदेखि हात्तीले जनधनको क्षति गरेको हुनाले विश्व बैङ्कको सहयोगमा हामीले तारबार लगाएका हौँ’, उनले भने–‘सिमा क्षेत्रमा कति क्षेत्रफलमा यो राख्न हुने नहुने भन्ने विषयमा विज्ञले भन्लान् ।’

बोर्डरमा पूरै लगाइएको नभएर हात्ती पस्ने बाटोमात्र बन्द गरिएको तिमलाले बताए । ‘हिँडडुल गर्नका लागि माथिबाट प्रशस्त ठाउँ छ, जङ्गल छ’, उनले भने–‘हामीले पस्ने बाटोमात्र बन्द गरिदिएका हौँ ।’

हात्तीले दुःख दिन थालेपछि सन् २०१२ मा सौर्य तारबार लगाउने कुरा उठेको थियो । सन् २०१४ मै सक्नुपर्ने गरी प्रस्ताव पठाइ पनि यो २०१६ मा आइपुग्दा निर्माण भइसकेको थियो । विश्व बैङ्कको १ करोड ५० लाख अनुदान सहयोगमा यो तारबार बनेको हो । तत्कालीन वनमन्त्री महेश आचार्यले तारबार शिलान्यास गरेका थिए ।

इलाम जिर्मले गाविसदेखि काँकरभिट्टासम्मको बस्तीक्षेत्रमा तारबार छ । बस्तीमा सोझै हात्ती पस्न नपाओस् भनेर तारबार लगाइएको नेपालस्थित अधिकारीले जनाएका छन् ।

‘यो तारबारमा करेन्ट प्रवाह हुन्छ, हात्तीलाई लडाउँछ । त्यसपछि हात्ती भाग्छ भनेर नेपाल सरकारले लगाएको हो’, कार्कीले भने–‘अहिले हात्ती आउने क्रम रोकिएको छ । यसको स्थायित्व कति पाउँछ भन्ने चाहिँ प्रमुख कुरा हो ।’
जिल्ला वन कार्यालयका अनुसार १८ किलोमिटर क्षेत्रमा २५ वटा गेट राखिएको छ । दिउँसो ती गेट खोलिदिने गरिएको छ ।

जिल्ला वन अधिकृत बोधराज सुवेदीले आवादी क्षेत्रमा तारबार लगाइएको बताए । ‘हामीले जङ्गलमा तारबार लगाएका छैनौँ, आवादी क्षेत्रमा मात्र लगाएका हौँ’, सुवेदीले भने–‘मान्छे र बालीनाली जोगाउने तारबार लगाइएको हो ।’
तारबार लगाइएको सिधा पूर्व भारततिर जङ्गल छ । जङ्गलतिर हिँडडुल गर्ने करिडोर खुला राखिएको छ । ‘हात्ती सिधा मानव बस्तीमा नआओस् भनेर तारबार लगाएका हौँ, हामीले करिडोर पूरै बन्द गरेका छैनौँ’, सुवेदीले भने–‘हात्ती बचाउने नै नियत हो हाम्रो, यसमा बखेडा गर्नुपर्ने जरुरी छैन ।’

बाहुनडाँगीमा हात्ती समस्या २०२५ सालदेखिको हो । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले नेपालले आफ्नो भूमिमा तारबार लगाएको विषयमा भारतले चासो देखाउनुपर्ने कारण नरहेको बताए ।

‘दसगजामा लगाएको भए बिरोध गरेको अर्थ रहन्थ्यो’, उनले भने–‘नेपालपट्टि आएर उताका हात्तीले यताका मान्छे मार्दा भारतलाई नदुख्ने, अहिले तारबार लगायो भनेर किन चित्त दुखाई ?’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: