हात्ती मारिने क्रम बढ्यो

  प्रकाशित मिति
२२ भाद्र २०७५, शुक्रबार ०९:५४


मेचीनगर । मानव–हात्ती बीचको द्वन्द्व बढेसँगै झापामा हात्ती मारिने क्रम बढेको छ । मानिसले आफ्नो जीउज्यान सुरक्षाका लागि वरिपरि पासो (करेन्ट) थाप्ने गरेका छन् ।

हात्तीले साह्रै दुःख दिन थालेपछि पीडित क्षेत्रका बासिन्दाले सुरक्षाका लागि करेन्ट लगाउने गरेका छन् । सोही करेन्ट लागेर पछिल्लो समय हात्ती मारिने क्रम बढेको हो ।

झापामा अहिलेसम्म १० वटा हात्ती मारिएका छन् । जिल्ला वन डिभिजन कार्यालय झापाका अनुसार करेन्ट लागेरै ती हात्ती मारिएका हुन् । त्यसमा थोरैमात्र कालगतिले मरेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

कार्यालयका सहायक वन अधिकृत नथुनीगोयल यादवले यो वर्ष मात्रै दुईवटा हात्ती मरेका छन् । ‘मान्छे र हात्ती बीचको द्वन्द्व पछिल्लो समय बढेको पाइएको छ,’ उनले भने, ‘पहिले–पहिले यसरी कमै मात्रामा मारिन्थे ।’

बिहीबार मागुरमाडीमा मारिएको हात्ती पनि करेन्ट लागेर मरेको उनको भनाइ छ । रैथाने सो हात्ती गाउँ बस्तीमा खान पसेको र त्यही बेला करेन्ट लाग्दा रन्थनिएर मरेको हुन सक्ने सहायक वन अधिकृत यादव बताउँछन् । सो भाले हात्ती घाँटीमा करेन्ट लागेको अवस्थामा मृत भेटिएको थियो ।

पशु सेवा शाखा कार्यालय काँकरभिट्टाका पशुसेवा अधिकृत दिवाकान्त चौधरीले करेन्ट लागेर सो हात्ती मरेको बताए । ‘कालगतिले हात्ती मरेको देखिदैन,’ उनले भने, ‘घाँटीमुनि करेन्ट लागेको चोट स्पष्ट देखिन्छ ।’

माथिल्लो मागुरमाडी सामुदायिक बन उपभोक्ता समूह वीट नं. २ जङ्गल छेउमा रहेको रोहित ढुङ्गानाको खेतमा घोप्टो परेको अवस्थामा स्थानीयले मरेको हात्ती फेला पारेका थिए । मरेको सो हात्ती २०–२५ वर्ष उमेरको मात्र भएको हुनसक्ने चौधरीले बताए ।

मरेको सो हात्तीको मुचुल्का उठाइ सोही ठाउँमा गाडिएको उनले बताए ।

सो क्षेत्रमा हात्तीले साहै्र दुःख दिने गर्दछ । हात्तीबाट बच्नकै लागि स्थानीयहरु रातभर जाग्राम बस्ने गरेको मागुरमाडीका जीतबहादुर कुँवरले बताए । ‘यो मरेको हात्ती रैथाने हो, यसले हामीलाई साह्रै दुःख दिने गरेको थियो,’ उनले भने, ‘केही दिनदेखि गाउँतिरै थियो, हुनसक्छ करेन्ट लागेर मरेको ।’

दुई वर्षअघि सोही ठाउँका डम्बरबहादुर कुँवरलाई हात्तीले मारेको थियो । हात्ती प्रभावित क्षेत्र मागुरमाडीमा एक वर्षअघि मृत अवस्थामा हात्ती फेला पारिएको थियो । त्यहाँबाट नजिकै रहेको पाँचपोखरी सामुदायिक वन परिसरमा पनि एक महिना अघि कुहिएको अवस्थामा हात्ती फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: