हामी इतिहास कोरिरहेका छौँ

  प्रकाशित मिति
८ माघ २०७३, शनिबार १२:२१


indra (2)

राजनीतिक पार्टीको आयोजनामा स्वास्थ्य महोत्सव ! धेरैले अनौठो मानेका छन् । यस्तो नौलो सोच कसरी जन्मियो ?
–दल भनेको समाज रुपान्तरणको सम्वाहक एवम् नेतृत्वदायी सङ्गठन हो भनेर चिनिन्छ । राजनीतिक दलले जनतालाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र सबै दिलाए । त्यसका लागि जनताको नेतृत्व दलले नै गरे । तर परिवर्तन राजनीतिमा मात्र सीमित रहेर नपुग्ने रहेछ । जबसम्म सामाजिक चेतनाको विकास हुँदैन, तब परिवर्तन दीगो नहुन सक्छ । लोकतन्त्रलाई बलियो तुल्याउन समेत हाम्रा दलहरूले स्वास्थ्य, शिक्षा, कृषि, उद्योग, व्यापार, रोजगार जस्ता महत्वपूर्ण विषयमा ध्यान मोड्नै पर्ने बेला आएको छ । स्वस्थ नागरिक नै मुलुकको सम्पत्ति हुन् । यही सोचले नेपाली काङ्ग्रेसलाई मुलुकमै पहिलो स्वास्थ्य महोत्सव सञ्चालन गर्ने आजको अवस्थासम्म डोहोर्याएको छ ।

महोत्सव कस्तो हुने छ ?
–यो विशुद्ध स्वास्थ्य महोत्सव हो । यहाँ २५ वटा विभिन्न अस्पतालका नामी डाक्टरहरूले विरामीको जाँच र उपचार गर्नु हुने छ । दाँत बाहेक अरु सबै रोगको उपचार यहाँ हुने छ । हामी एउटा वा दुईवटा रोगको उपचारका लागि स्वास्थ्य शिविरको आयोजना गरिरहेका छैनौँ । २५ हजार जनाले उपचार पाउने यो महोत्सवलाई सामान्य कार्यक्रम ठान्न हुँदैन । एउटै थलोमा यति धेरै विशेषज्ञ डाक्टरहरूको सेवा निःशुल्क रुपमा पाउनु ऐतिहासिक अवसर हो । त्यसो भएकाले यसलाई महोत्सव भनिएको हो । अझ हामीले व्यवस्थित प्रयोगशाला स्थापना गरेर विरामीको सबै जाँच गर्न सकिने व्यवस्था मिलाएका छौँ । ती सेवा सबै निःशुल्क हुने छन् । स्वास्थ्यका विषयमा विज्ञहरूसँगको वहसको व्यवस्था मिलाएका छौँ । स्वास्थ्यको पनि महोत्सव हुन्छ र भनेर हाँस्नेहरू धेरै छन् । हुन्छ, यसरी हुन्छ भनेर हामी इतिहासमा एउटा नजिर कोर्न गइरहेका छौँ । यो अभूतपूर्व अवसर हो ।

काङ्ग्रेसले आयोजना गरेको हुँदा अन्य पार्टीको प्रतिक्रिया कस्तो पाउनु भएको छ ?
–यो प्रश्न अन्य पार्टीका मित्रहरूलाई नै सोधिदिनु भएको भए सान्दर्भिक हुने थियो । जहाँसम्म हामीले गरेको अनुभूति छ–अन्य दलका मित्रहरूले यसलाई सकारात्मक भनेर सहयोग पुर्याउने बचन दिनु भएको छ । हामीले नै नेकपा एमाले, माओबादी सेन्टर, राप्रपा लगायतका दलका स्थानीय नेतृत्वसँग यस विषयमा छलफल गरेका छौँ । यो स्वास्थ्य सेवा पुर्याउने कार्यक्रम भएकाले त्यहाँ यो पार्टी र त्यो पार्टी भन्ने भेदभावको कुरा हुँदैन । हामीले कार्यक्रमस्थलमा पार्टीको झण्डाको तामझाम केही गरेका छैनौँ । आयोजक मात्र नेपाली काङ्ग्रेस हो, खासमा यसबाट लाभ आम जनताले पाउने हो । अन्य पार्टीबाट प्राप्त सकारात्मक हौसलाले हामीलाई उत्साहित तुल्याएको छ ।

महोत्सवबाट काङ्ग्रेसको भित्री अपेक्षा अर्कै छ भन्छन् नि, के हो ?
–नेपाली काङ्ग्रेस लोकतन्त्रमा विश्वास राख्ने पारदर्शी पार्टी हो । हाम्रो भित्री अपेक्षा केही छैन, जे अपेक्षा छन् ती सबै सबै सामू प्रस्टै छन् । हुनेखानेले त ठूला ठूला नर्सिङ होमसम्म खर्च गरेर आफ्नो स्वास्थ्य जाँच गर्न सक्छन् । तर हाम्रो समाजमा अझै पनि त्यस्तो विपन्न वर्ग छ, जसले स्वास्थ्यका लागि निःशुल्क शिविर नै कुरेर बसिरहेको हुन्छ । त्यस्ता पहुँच नपुगेका वर्गलाई हामी महोत्सवमा स्तरीय सेवा र सुविधा पुर्याउने छौँ । राजनीतिक विभाजनले समाज नै यो वा त्यो दलको कित्तामा विभक्त भइसक्यो । दलहरू पनि राजनीतिक द्वन्द्वका कुरामा बढी फोकस गर्छन् । हामीले अब राजनीतिक दलहरूको सोचाइ र काम गर्ने शैलीमा नयाँपन आउनु पर्छ भन्ने सन्देश दिन खोजेका छौँ । राजनीतिले विखण्डित तुल्याएको समाजलाई जोड्न चाहन्छौँ हामी । रचनात्मक काम गर्न दलहरूविच प्रतिष्पर्धा चलोस् भन्ने चाहन्छौँ हामी ।

महोत्सवभित्रै निःशुल्क भिडियो एक्स रे, निःशुल्क प्रयोगशाला सुविधा, दिनैपिच्छे भिन्नाभिन्नै विशेषज्ञ डाक्टरको सेवा जस्ता आश्वासन दिनु भएको छ । भने जस्तै सेवा दिन सम्भव हुन्छ ?
–त्यो हाम्रो लक्ष्य हो । पूरा गर्न सकिने भएर नै हामीले भनेका हौँ । तैपनि पहिलोपल्ट यस्तो महोत्सवको आयोजना गरिदैँछ । हुन सक्छ गर्दै जाँदा कतिपय चुनौति पार गर्न कठिन होलान् । हामीले अहिले जे सेवा र सुविधा दिन्छौँ भनेका छौ, त्यो पूरा हुन्छ ।
बाहिरबाट धेरै पैसा आएको छ, धेरै चन्दा उठाइएको छ भन्ने हल्ला पनि छ । वास्तविकता के हो ?
मिडिया हल्लाको पछाडि दगुर्नु हुँदैन । नकारात्मक सोच बोकेकाहरूले असत्य हल्ला चलाएर हामीलाई बद्नाम गर्न खोजेका पनि हुन सक्छन् । वास्तविकता के हो भने हामीले महोत्सवको सम्पूर्ण खर्च कार्यकर्ताको आन्तरिक स्रोतबाट जुटाइरहेका छौँ । कुनै पनि सरकारी निकायबाट एक पैसा पनि लिएका छैनौँ । बरु न्यूनतम २५ रुपैयाँ सहयोग गर्न कार्यकर्ता पङ्तिमा आह्वान गरिएको छ । आफ्नो घर अगाडिको बाटोको सामान्य मर्मत सम्भार पनि नगरपालिकाले आएर गरिदिनु पर्छ भन्ने मानसिकता छ धेरै मानिसमा । तसर्थ आरोप आउनुलाई म अस्वाभाविक मान्दिन । यो हाम्रो समाजको खराब प्रचलन नै हो । अर्कैको मुख ताक्ने वा सरकारकै मुख ताक्ने बानी छ सबैको । हामीले नगरपालिकासँग समेत एक पैसा सहयोग मागेका छैनौँ ।

काठमाडौँका अस्पताल, काठमाडौँकै डाक्टरको भीड हुने हो कि ? स्थानीय अस्पताल र डाक्टरहरूलाई समेटिएको छ कि छैन ?
–बडो सान्दर्भिक प्रश्न हो यो । हामीले झापाका अस्पताल र डाक्टरहरूलाई समेटेका छौँ । काठमाडौँलाई मात्र समेट्दा भोलि विरामीलाई फ्लो अपका लागि काठमाडौँ नै धाउनु पर्ने हुन सक्छ । अहिले झापामै ठूला हस्पिटल र विशेषज्ञ डाक्टरहरूको सेवा उपलब्ध भइसकेको छ । मेची अञ्चल अस्पताल, वीएन्डसी टिचिङ हस्पिटल, ओमसाई पाथिभरा हस्पिटल, कनकाई हस्पिटल, मेची नेत्रालय, काँकरभिट्टा आइकेयर सेन्टर जस्ता अस्पतालले महोत्सवमा ठूलो सेवा पुर्याउने छन् ।

महोत्सवस्थलमा काङ्ग्रेसको झण्डा राखिएका छैनन् । एउटा पार्टीको झण्डा राख्दा अर्को पार्टीको समर्थक आउँदैनन् भनेर हो कि किन नराखेको ?
–सबै पार्टीमा आस्था राख्नेहरू आउन् भन्ने हाम्रो पवित्र मनसाय नै हो । पार्टीमा आस्था नराख्नेहरू पनि होलान्, उहाँहरू पनि स्वास्थ्योपचार सेवा लिन अवश्य आउनु हुने छ । महोत्सव नेपाली काङ्ग्रेसको आमसभा होइन । पार्टीको समर्थकको शक्ति प्रदर्शन पनि होइन । अनि किन राख्नु झण्डा ! पार्टीको आयोजना भए पछि झण्डाको तामझाम देखाउनै पर्ने पुरानो मानसिकताबाट हामी माथि उठ्न खोजिरहेका छौँ । उद्घाटन पनि सामान्य रुपमा हुने छ । झण्डा नराखेरै पनि महोत्सवको आयोजना नेपाली काङ्ग्रेसले गरेको हो भनेर सबैले भनिदिनु हुन्छ नै ।

सर्वसाधारणलाई के आह्वान गर्नुहन्छ ?
–हामीले एउटा राजनीतिक दलको पहिचान बोके पनि सबै दलका आम जनतालाई लाभ पुग्ने स्वास्थ्य जस्तो क्षेत्रमा सुविधा पुर्याउने सोचले मुलुकमै पहिलोपटक स्वास्थ्य महोत्सवको आयोजना गरिरहेका छौँ । आफ्नै आँगनमा भइरहेको यो महोत्सवबाट अधिकतम सेवा र सुविधा लिनका लागि म आम झापावासीलाई आह्वान गर्दछु । नौलो सोचको उपज भएकाले महोत्सवप्रति मुलुकभित्र मात्र नभएर विश्वभरिबाट हामीप्रति तीखो नजर लागिरहेको अनुभूति भइरहेको छ । महोत्सवमा सबै उपचार सेवा निःशुल्क हुने छन् । काठमाडौँ र सहरका आधुनिक हस्पिटलमा मात्र पाइने सेवा महोत्सवमा लिन पाइने अवसर आएको छ । महोत्सव सफल तुल्याउनु सबै मिडियाकर्मीको पनि उत्तिकै दायित्व भएकाले हामी पत्रकार जगतबाट विस्तृत समाचार सम्प्रेषणको अपेक्षा गर्दछौँ ।

प्रस्तुति मोहन काजी

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: