‘हामी कोरोनासँग हारेका छैनौं, थाकेका छैनौं’

  प्रकाशित मिति
१९ जेष्ठ २०७७, सोमबार ०९:४०


झापाको कचनकबल गाउँपालिकामा १०० जना कोरोना सङ्क्रमित भइसकेका छन् । प्रदेशकै ‘कोरोना हटस्पट’ बनिसकेको अवस्थामा गाउँपालिका अध्यक्ष अन्जार आलमले कोरोनालाई क्वारेन्टाइनमै सीमित राखेर समुदायमा फैलिन नदिन गरिरहेको कुशल नेतृत्वको अहिले सर्वत्र खुलेर प्रशंसा भइरहेको छ । यस्तो विषम परिस्थितिको सामना कसरी गरिरहेको छ कचनकबलले ? यही प्रश्नको सेरोफेरोमा लोकतन्त्र पोस्टका सम्पादक मोहन काजीले अध्यक्ष आलमसँग गर्नुभएको अन्तरवार्ता प्रस्तुत छ–

सय जना कोरोना सङ्क्रमित पुगिसके । परिस्थितिलाई कसरी सम्हालिरहनु भएको छ ?
अवस्था यहाँ मात्र होइन, संसारभरि यस्तै छ । हाम्रो कचनकबल गाउँपालिकामा १०० जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको हुँदा बाहिरबाट हेर्दा स्थिति भयावह होला भन्ने लाग्नु अस्वाभाविक होइन । तर हामी अहिलेको विषम परिस्थितिमा सीमित स्रोत र साधनका बाबजुत कोरोना संकटसँग जुधिरहेका छौं । भारतबाट आउनुहुने नेपाली दाजुभाई दिदीबहिनीहरुलाई दशगजाबाटै व्यवस्थित रुपमा उद्धार गरेर क्वारेन्टाइनमा ल्याउने गरेका छौं । क्वारेन्टाइनमा कुनै कमी हुन दिएका छैनौं । सबैको पीसीआर जाँच गरेका छौं । सङ्क्रमित पत्ता लागिसकेपछि उहाँहरुलाई कोभिड अस्पतालमा उपचारका लागि पुर्याउने गरेका छौं । सबैको सहयोग र हाम्रो आफ्नै मिहेनतबाट परिस्थितिलाई ठिकठाकसँग सम्हालिरहेका छौं ।

कचनकबलबासी यति धेरै सङ्ख्यामा कोरोना सङ्क्रमित कसरी भए ?
कचनकबल ४२ हजार जनसङ्ख्या भएको सानो र विकासका दृष्टिले पछाडि पारिएको झापाको दक्षिणी सीमावर्ती गाउँपालिका हो । नेपालकै होचो स्थानको रुपमा परिचित यो ठाउँ वर्षौदेखि विकासमा पनि हेपिएको छ । यहाँका अधिकांश युवा रोजगारीका लागि भारतको मुम्बई, गोवा, केरला, दिल्ली, नासिक लगायतका ठाउँमा जाने गर्छन् । विश्वव्यापी महामारीको कारण उता रहनु भएका सबै युवाहरु लकडाउनपछि जसोतसो घर फर्कनका लागि सीमा क्षेत्रसम्म आइपुग्नु भयो । हामीले उहाँहरुलाई दशगजामै रोक्यौं र सुरक्षित रुपमा क्वारेन्टाइनमा ल्याएर राख्यौं । उहाँहरुलाई सीमाबाट प्रवेश गरेर सीधै आफ्नो घर पुग्न दिएनौं । क्वारेन्टाइनमा राखेर पीसीआर जाँच गर्दा भारतबाट आउनुभएको ठूलो सङ्ख्यामा कोरोना पोजेटिभ रिजल्ट देखियो । भारतबाट आउँदा नै उहाँहरुसँगै कोरोना भित्रियो । नेपालमा आएपछि कोरोना सङ्क्रमण भएको होइन । लामो बाटो असुरक्षित रुपमा रेल, ट्रक र बसबाट यात्रा गर्दा जोखिमा पर्नुभएको हुनसक्छ । उहाँहरु आफुले काम गर्ने ठाउँबाटै पनि सङ्क्रमण भएको हुनसक्छ ।

अहिलेको त्यहाँको परिस्थितिबाट जनसमुदायमा त्रास फैलिएको छ कि छैन ?
कोरोना भाइरसको उपचार पत्ता लाग्न सकेको छैन । खोप परीक्षणको क्रममा छ । अमेरिका, चीन, भारत जस्ता मुलुकका सामू कोरोना ठूलो चुनौति बनिसकेको अवस्थामा हाम्रो मुलुक र यहाँका जनता त्रासमुक्त हुनै सक्दैनन् । तथापि कचनकबलका जनतालाई संक्रमणबाट जोगाउन हामीले गरिरहेको प्रयासलाई सबैले हेरिरहनु भएको छ । अहिलेसम्म भारतबाट आएर क्वारेन्टाइनमा रहनु भएको ४१७ जना सबैको पीसीआर टेस्ट गरिसकेका छौं । जसमध्ये ३०० जनाको नतिजा आउँदा १०० मा सङ्क्रमण देखियो । अरु १०० जतिको नतिजा आउन बाँकी नै छ । सबै सङ्क्रमण भारतबाट आएर क्वारेन्टाइनमा बस्नु भएकाहरुमा देखिएको छ । जसमा देखियो, उहाँहरुलाई उपचारका लागि धरान र विराटनगर पुर्याइएको छ । यसरी पनि बुझौं कि समुदायका एक जनामा पनि कोरोना सङ्क्रमण हुन दिएका छैनौं हामीले । हाम्रो सम्पूर्ण प्रयास समुदायमा रोग सर्न नदिनमा केन्द्रित छ । अहिलेसम्म हामीले समुदायलाई जोगाएका छौं । यसकारण समुदायमा अस्वाभाविक त्रास छैन । हामीले अर्थात् सरकारले राम्रो गरिरहेको छ भन्नेमा कचनकबलबासी विश्वस्त हुनुहुन्छ । हामीले भारतबाट आउनुहुनेलाई सीमाबाटै नियन्त्रणमा नलिएको भए र क्वारेन्टाइनबाट घर जान दिएको भए कल्पना गर्न नसकिने गरी सङ्क्रमणको स्थिति भयावह भइसक्ने थियो ।

क्वारेन्टाइन र सङ्क्रमणको पछिल्लो अवस्था के छ ?
भारतबाट आउनु भएको ४१७ जना कचनकबलबासीलाई बनियानी, केचना र पथरियाको क्वारेन्टाइनमा राखेका छौं । कोरोना संक्रमित १०० जनालाई धरान र विराटनगरको कोभिड अस्पतालमा लगेर उपचार गराइरहेका छौं । अब सय जना जतिको पीसीआर नतिजा आउन बाँकी छ । घेराबारी र बनियानी क्वारेन्टाइनमा रहनु भएकाहरुको पीसीआर चेकजाँच गर्न गाउँपालिका आफैले भीटीएम किट किनेर ल्याएको थियो । जिल्ला वा प्रदेशले किट पठाएन भनेर हामी आफ्ना गाउँबासीलाई निराश पार्न चाहँदैनौं । त्यसैले आफैले किट किनेर ल्याएका हौं ।

क्वारेन्टाइनहरु सुविधाजनक छैनन् । भारतबाट आउनु भएकाहरु बस्न नमानिरहेको सुनिन्छ । केही दिन अघि क्वारेन्टाइनमा विद्रोहको प्रयास भयो भन्ने पनि सुनियो । वास्तविकता के हो ?
क्वारेन्टाइनमा सकेसम्म राम्रो गर्ने प्रयास गरिरहेका छौं । सबैलाई थाहा छ कोरोना आउँछ र यत्रो विपद् व्यहोर्नु पर्ला भनेर कसैले कल्पनासम्म गरेको थिएन । सुविधा सम्पन्न मुलुकहरुको हविगत सुनिरहनु भएको छ । आर्थिक हैसियत र साधनका हिसाबले नेपाल कमजोर अवस्थामा छ । तैपनि सक्दो सुविधाजनक बनाउन कोसिस गरिरहेका छौं । उहाँहरुलाई बस्न, खान र अन्य मानवोचित सुविधा दिएका छौं । एक सय जना सङ्क्रमित पुगिसकेको गाउँपालिकामा हामीले कसरी परिस्थिति सम्हालिरहेका छौं, त्यो थाहा पाउन यही आएर हेर्न सक्नु हुन्छ, स्थलगत बुझ्न सक्नु हुन्छ । जहाँसम्म क्वारेन्टाइनमा विद्रोहको प्रयास भयो भन्ने सुन्नुभयो, त्यो गलत हो । केही दिन अघि एउटा क्वारेन्टाइनका साथीहरुले हामीमा रोगको कुनै लक्षण छैन किन राख्नुहुन्छ भनेर बाहिर निस्कन खोज्नुभएको थियो । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र मैले सम्झाइ बुझाइ गरे पछि उहाँहरु कन्भिन्स हुनुभयो । तपाईहरु यहाँबाट जबर्जस्ती घर जानुभयो भने परिवारका सबैलाई सुरक्षाकर्मी लगाएर यसरी नै उठाउँदै क्वारेन्टाइनमा ल्याउनु पर्ने हुन्छ भन्दै मैले माइकिङ गरेर उहाँहरुलाई सम्झाउनु परेको थियो ।

धरानमा उपचारका लागि पठाइएका २७ जनालाई रातभर गेट बाहिरै राखिएछ । किन यस्तो भयो ?
हेर्नुहोस् कोरोना पुष्टि भइसकेपछि यहाँबाट हामीले राति ११ बजे उहाँहरुलाई धरानमा पठाएका थियौं । प्रदेशका मन्त्रीहरुले विरामी पठाउनुहोस् हामी उपचार गर्छौ भन्नुभएको थियो । तर धरानमा कचनकबलबासीलाई रातभर गेटबाहिर राखिएकोमा हामी बहुतै दुःखी छौं । प्रदेश सरकारले त्यस्तो अवस्था आउन दिनु हुनेथिएन । एम्बुलेन्सहरु पर्याप्त नभएपछि हामीले बसको व्यवस्था गरेर विरामीहरु पठाएका थियौं । राति भित्रै पस्न नदिएपछि बसका चालकले फर्किने अवस्था आयो भन्नुभयो । हामीले फकाएर उहाँहरुलाई धैर्य गर्न आग्रह गर्यौं । सय जना कोरोना सङ्क्रमितलाई हामीले समुदायमा मिसिन नदिई क्वारेन्टाइनमा सुरक्षित रुपमा राख्यौं । तर २७ जनालाई हस्पिटलमा राख्न सकेन प्रदेश सरकारले ।

सानो बजेट होला । खर्च भएको भयै छ । कोरोनाका लागि कसरी आर्थिक स्रोत जुटाउँदै हुनुहुन्छ ?
प्रदेश सरकारले हामी गर्छौं भन्छ । तर अहिलेसम्म दुई पटक गरेर १० लाख मात्र आएको छ । खर्च गर्ने आन्तरिक स्रोत सकिदै गएपछि प्रदेश सरकारलाई पत्राचार गरी सहयोग मागेको थिएँ । केही दिन अघि माननीय आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले फोन गरेर १५ लाख पठाइदिँदैछौं भन्नुभएको छ । हामीले कोरोनासँग लड्न आफ्नै गाउँपालिका भवनका लागि छुट्याइएको बजेट रकमान्तर गरेका छौं । डाइलासिस केन्द्र सञ्चालनका लागि छुट्याइएको ३० लाख बजेट समेत रकमान्तर गरेका छौं । हामी अभावबीच काम गरिरहेका छौं । कोरोनासँग संघर्ष गरिरहेका छौं । थाकेका छैनौं । हारेका छैनौं । जनता बचाउने पहिलो दायित्व हाम्रो हो । विकास निर्माण पछि पनि गर्न सकिन्छ । जनता नरहने अवस्था आयो भने के को विकास ?

समुदायबाट कस्तो सहयोग पाइरहनु भएको छ ?
जनसमुदाय, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, राजनीतिक दल, सामाजिक संघ संस्थाहरुबाट सहयोग पाएकै कारण आज हामी १०० जना कोरोना सङ्क्रमित हुँदा पनि हडबडाएका छैनौं । सीमामा अहोरात्र नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुदृढ सुरक्षा व्यवस्था मिलाएको छ । सीमामा छिरेर कोही पनि समुदायमा पुग्न सक्दैनन् । स्वास्थ्यकर्मीहरु अग्रपंक्तिका योद्धा हुनुहुन्छ । विचलित नभई सीमित स्वास्थ्य सुरक्षाका उपकरणका बाबजुत पनि उहाँहरु कठिन परिस्थितिमा खटिइरहनु भएको छ । राजनीतिक दल र सामाजिक संस्थाहरुको भरपूर सहयोग, सल्लाह र हौसला हामीलाई प्राप्त भइरहेको छ ।

झापाको भद्रपुरमा कोभिड हस्पिटल बनाउने बारेमा तपाईको धारणा के छ ?
हाम्रो गाउँपालिका प्रदेशकै सबैभन्दा धेरै कोरोना सङ्क्रमित भएको क्षेत्र हो । हामीले धरान पठाएका विरामीले बेलैमा भर्ना नै नपाउने अवस्था आइसक्यो । आज यो समस्या हामीले भोगिरहेका छौं । भोलि अरु गाउँपालिका र नगरपालिकामा यस्तै समस्या आउँदैन भन्न सकिन्न । त्यसकारण झापामै छिटोभन्दा छिटो कोभिड हस्पिटल बनाइनु पर्छ । भद्रपुरमा बन्यो भने हामीले छिटो सेवा पाउने थियौं । बनाउने भनेको धेरै भइसक्यो । किन निर्माण सुरु नगरिएको हो केही बुझ्न सकिएको छैन । सङ्कटले घण्टी बजाइसकेको छ । बेलैमा व्यँुझनु पर्छ । आयो लागिसकेपछि इनार खनेर काम लाग्दैन । कोभिड हस्पिटल छिटो बनाउन माग गर्दछु ।

(फोटो : इन्द्रजित मुखिया)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: