हामी सपना बोक्ने भरिया भएका छौं

  प्रकाशित मिति
२९ जेष्ठ २०७७, बिहीबार १६:४२


हामी कहिलेकाहिँ मान्छेलाई भगवान बनाउन खोज्छौं त कहिलेकाहिँ व्यक्तिलाई नायक । कहिले हामी पुष्पलालका सपना बोकेर हिँड्छौ त कहिले वीपीका । कहिले केपीका सपना पछि दौडन्छौं त कहिले राजसंस्थाको पुनस्र्थापनाको पछि दौडन्छौं । हामी कहिल्यै स्वतन्त्र भै आफ्ना सपना देख्न नपाउने ? किन हामी बारम्बार अरु व्यक्तिको सपना पछि दौडिरहेका छौ ? व्यक्तिको सपना बोकाइएर आफ्नो जीवनको उर्वरता क्षय गराइरहेका छौं ।

तत्काल समयसापेक्ष सपना वीपीले देखे होलान् या पुष्पलालले, ती सपना अहिलेको समय सान्दर्भिक हुन सक्दैनन् । तसर्थ पनि कसैको सपनाको वजन कसैको टाउकोमा थोपर्नु राम्रो कुरा होइन । के हामी एउटा सिंगो देश निर्माण र विकासको परिकल्पना एउटा व्यक्तिवाट आश गर्न सक्छौं र भर पर्छौ । एउटा व्यक्तिबाट मात्रै देशको समृद्धि सम्भव छ ? हामी गलत दिशामा कतै तीर त चलाइरहेका छैनौं ?

अहिलेसम्मको राजनीतिक अभ्यासमा व्यक्तिलाई शक्तिशाली बनाउँदा हामी स्वतन्त्र फुल्न फल्न सक्यौं त ? अहिले हामीले जति पनि कठिनाई, अफ्ठ्यारा सामना गर्नु परिरहेको छ त्यो सब व्यक्तिलाई शक्तिशाली बनाउनाले हो । अव हामीले व्यक्तिलाई शक्तिशाली बनाउन नभएर व्यवस्थालाई व्यवस्थित बनाउन सके मात्रै हामी र हामीभन्दा पछि आउने पुस्ता पनि यो अर्काको सपना साकार पार्ने बोझबाट उन्मुक्ति पाउने छन् र जीवन जिउने नयाँ आयामहरूको खोजी गर्ने छन् । हामी झुटलाई झुट र सत्यलाई सत्य भन्न डराएर बाँच्नु पर्ने दिन समाप्त भएर जानेछन् ।

कुनै पनि राज्यमा व्यक्तिले नभएर सिस्टमले मानिसलाई दौडन सिकाउँछ । अहिलेसम्म हामी व्यक्तिको पछि घिस्रने अभ्यास गरिरहेका छौं । अव हामीले सिस्टमले चल्ने आधुनिक समाज र राज्यको निर्माण गर्नु जरुरी छ । सिस्टमले नागरिकलाई अनुशासन सिकाउँछ, नियम कानुनको पालना गर्न सिकाउँछ । राज्यको समृद्धि र आत्मनिर्भर बढाउँछ । सिस्टमले राज्यको असल शासकीय प्रवन्ध गर्ने इच्छा र इमान्दार बन्नलाई उत्प्रेरित गर्दछ ।

हामीसँग गलत राजनीतिक संस्कृति र संस्कार मौलाएका कारण नै राजनीतिक अस्थिरता र असमानजस्यता उत्पन्न हुन पुग्दछ । जति नै सुकै गल्ती किन नगरोस् हामी हाम्रा पार्टी बचाउँछौ, हामी हाम्रा आफन्त बचाउँछौं, हामी हाम्रा गुट बचाउँछौ र समाजमा अन्याय, अत्याचार, हिंसा, घृणा, भ्रष्टाचार, हत्या जस्ता जघन्य अपराधमा संलग्न हुन पुग्छौं ।

हामी राम्रालाई नभएर हाम्रालाई राजनीतिक नियुक्ति दिन्छौं र उच्च ओहोदामा पुर्याउँछौं । शासकीय हस्तक्षेप गरी कतिपय अवस्थामा अमानवीय निर्णय गर्न र गराउन वाध्य पार्दछौं । हामी हाम्रै स–साना गल्ती र लापरवाहीले कानुनी राज्यको धज्जी उडाइरहेका छौं । हामी बारम्बार उहि इतिहास दोहोर्याइरहन्छौं । हामीले परिस्कृत र परिमार्जित हुन कहिल्यै जानेनौं या हुनै चाहेनौं । हामी किन अर्काको सफलता हेर्न सक्दैनौं ? अर्काको विचारको कदर गर्नै सक्दैनौं । किनकि हामीसँग अरुका सपना घिसार्ने र आफ्नो सपनाहरु तुहाउने आदत परिसकेको छ ।

वास्तवमा हामी रुग्ण भइसकेका छौं । उठ्नै नसक्ने विषाक्त रोग लागिसकेको छ हाम्रा शरीरका पार्टपुर्जामा । हामी त अर्काको सपना बोकेर हिँड्ने भरिया भयौं भयांै कम्तीमा हामीभन्दा पछिल्लो पुस्तालाई अर्काको सपना बोकी हिँड्ने भरिया नबनाऔं । उनीहरुलाई आफ्ना सपनासँग खेल्न दिउँ, आफ्नो सपनामा रमाउने वातावरण तयार गर्न प्रोत्साहित गरौं । अवको पुस्ता निरीह छैनन्, प्रविधि र ज्ञानयूक्त दक्ष जनशक्ति बन्न चाहन्छन् । उनीहरुका लागि दौडन खुल्ला प्रयोगशाला आवश्यक छ । उनीहरुले भत्काउँदैछन् रुढीग्रस्त मूल्य र मान्यताहरु, अनि तोड्दैछन् निरंकुशताका जन्जिरहरु र फैलाउन खोज्दैछन् स्वतन्त्रताका प्वाखहरु ।

नयाँ उमङ्ग र जोशका साथ आएको युवाशक्तिको कदर गर्न र प्रोत्साहित गर्न बरु हामी कोही पनि नचुकौं । नयाँ तरिकाबाट नयाँ कामको थालनी गर्न दिउँ । सत्ता र कुर्सीको भोक तिनमा जन्मिसकेको छैन । बरु काम गर्ने मौका र अवसर दिने हो भने पक्कै समाजमा चमत्कारिक कार्य हुने कुरामा आशावादी हुन सकिन्छ ।

हिजो हामी दरवारिया रहनसहन र जीवन शैलीको खुलेर विरोध गर्दै सडकमा आन्दोलन गथ्र्यौं । हाम्रा अग्रजहरुले हामीलाई रटाइरटाइ समानताका लागि आन्दोलन भनी भनी किताव कपि फ्याकेर पार्टीको झण्डा बोकाएर गाउँगाउँबाट उठ बस्ती बस्तीबाट उठ भन्दै हिडाउँथे । हामी लुरुलुरु हाम्रा आदर्श मानिएका नेतृत्वबाट अँध्यारोको विरुद्ध उज्यालो ल्याउने लक्ष्यका साथ जीवन आहुति दिन तम्तयार हुन्थ्यौं । हामीलाई जन्मदिने बाबुआमा भन्दा हाम्रा अग्रजहरु हामीलाई निकै प्रिय लाग्थे । आज तिनै आदर्श मानिएका अग्रजहरु दलबलसहित सत्तामा हुनुहुन्छ । एकपल्ट सोध्न मन छ वहाँहरुले आफुले उपभोग गर्न नपाएको दरवारिया रहनसहन उपभोग गर्न वहाँहरु चाहिँ कहाँ नचुक्नु भएको छ र ? आम जनताको जीवनस्तर खै कहाँ उठ्न सकेको छ र ? जनतालाई रैतिवाट कहाँ उठाउन सक्नु भा’छ र ? निश्चित व्यक्तिलाई झोलामा बोकेर के देशको विकास सम्भव होला ?

जबसम्म युवाशक्ति वेरोजगार भै भौतारिरहेको हुन्छ तबसम्म हामी यो भन्न सकिन्न कि हामी समृद्ध देशका नागरिक हौ भनेर । कम्तीमा पाँच वर्षे सरकारको कार्यकालमा असल शासकीय प्रबन्धको जग बसाउन मात्र सके पनि सरकारको ठूलै उपलब्धि मान्नुपर्छ । जनताले भरोसा गरेर पठाएको विश्वासको भद्दा मजाक नेतृत्वले कहिल्यैँ पनि गर्नु हुन्न ।

सडकमा जन्मेको मान्छेले सडकको समस्या नबुझ्ने हो भने महलमा हुर्के बढेको मान्छेले सडकको व्यथा चाहेरै पनि कदापि वुझ्न सक्दैन । स्वयम् जनता आफैले पनि आफ्ना सपनाको तलासमा आफ्ना अभियानहरु जारी राखे मात्रै हरेकका सपनाले आफ्नै बगैंचामा फुल्ने अवसर पाउँछ । नत्र त तपाईँ हाम्रा सपना माथि अरु कसैले नियन्त्रण गरिदिन्छ र वर्षौसम्म अर्काको सपना बोकेर हिड्न बाध्य हुनेछौं । फेरि पनि हाम्रा सपनाहरु तुहिने छन् । सपना देख्न छोडेका दिन हामी भित्र भित्रै टुट्नेछौं र बाटो मै अलमलिने छौं । हामी अरुको सपना घिसार्ने भरिया अब पनि बनिरहने हो भने हामी कदापि आजको विश्वस्तरीय मानव बन्न सक्ने छैनौ । सिद्धान्तको अनुशरण गर्न सकिन्छ जुनसुकै, तर कसैको सपना बोकेरै आफ्ना सपना तुहाउने कार्य कसैले पनि गर्नु हुन्न ।

(मेचीनगर–१०, झापा)
Email: [email protected]

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: