हाम्रै नेपालमा : जसको गाईफार्म हेर्न खुशीले तिर्छन् दुई हजार

  प्रकाशित मिति
२३ आश्विन २०७७, शुक्रबार १९:५०


झापा, २३ असोज । बाबु बडाहाकिम थिए, घरमा कुनै अभाव थिएन । तर बाबुको चाहनाको ठीक उल्टो उनी किसान भएर निस्किए । तीनै लहडी व्यक्ति यसवर्ष देशभरकै सर्वाेकृष्ट किसान बने ।

उनी खानदानी परिवारमा जन्मिएका थिए । बाबुको चाहना छोरालाई सैनिक अधिकृत वा निजामती कर्मचारी बनाउने थियो ।

गोरखाको पालुङटार नगरपालिका वडा नं. ७ च्याङ्लीका राजेन्द्रराज पन्त कामधेनु गाईपालन केन्द्रका सञ्चालक हुन् ।

काठमाडौमा हुर्के बढे पनि उनी धेरैले अवहेलना गरेको कृषि र पशुपालन गर्न पुख्र्यौली थलो गोरखा आएका थिए । त्यसकै माध्यमबाट नेपालमा मात्र होइन विदेशमा पनि परिचित छन् ।

उनको गाईपालन केन्द्रमा अहिले जर्सी र होलिस्टिन जातका तीन सय ३५ वटा गाई छन् । १३ वटा गोठमा उमेर समूहअनुसार गाईलाई अलग अलग राखिएको छ । दैनिक करिब १३ सय लिटर दूध दुहुन्छन् उनी । उत्पादित दूध सिधै भक्तपुर लगिन्छ ।

‘६ बर्षको सम्झौता छ, एक दिन बिराएर उनीहरु आफै लिन आउँछन्,’ पन्तले भने । उनले गोठबाटै पनि दुध बिक्री गर्छन् । दूध बेचेरै मासिक २१ लाख भन्दा बढी आम्दानी हुने उनको भनाई छ ।

उनको गाई फार्ममै चिस्यान केन्द्र पनि छ । दूध दुहुन मेसिन छन् । भकारो सोहोर्ने, घाँस काट्ने गरी २० जनालाई रोजगारी दिएका छन् । कुल तीन सय रोपनी क्षेत्रफलमध्ये दुई सय ८० रोपनी क्षेत्रफलमा घास खेती गरिएको छ । नेपियर, सिम्बुसेतिया, मोलाटो, गायो, गिदरी, दबदबे लगायतका १८ थरीका घास खेती हुन्छन् ।

यसरी सुरु भयो गाईपालन

बडाहाकिम बाबुको चाहना छोरा सैनिक वा निजामती कर्मचारी बनोस् भन्ने थियो । तर उनको ध्यान बाबुको इच्छाविपरीत खेती किसानीतर्फ देखिएपछि परिवारको साथ पाएनन् ।

‘म एक्लो छोरा, पोलिटिकल साइन्समा बिए पनि गरिसकेको थिएँ, घरमा जागिर खानुपर्छ भन्थे,’ पन्तले भने, ‘म खेती किसानी गर्छु भन्दा राम्रो मान्नुभएन ।’

परिवारले साथ नदिए पनि उनले हार खाएनन् । खासमा उनले काठमाडौंमा १४ वर्षको हुँदैमा कुखुरापालन सुरु गरेका थिए । त्यसबाट केही रकम पनि जम्मा पारेका थिए । त्यही पैसा लिएर फलफूल खेती गर्ने भन्दै २१ बर्षको उमेर (२०३२ सालमा) उनी पुख्र्यौली थलो च्याङ्ली आए ।

करिब ३५ हजारको लगानीमा उनले आँप, लिची, भुइँकटहर, अम्बालगायतका फलफूल खेती शुरु गरे । उनले तनहुँको डुम्रेमा फलफूल पसलसमेत खेले । केही समय राम्रै आम्दानी भयो । खेती गर्न आवश्यक मलका लागि उनले २०३४ सालमा सात वटा भैंसी गोरखपुरबाट किनेर ल्याए । भैंसी किन्नका लागि उनले परिवारलाई गुहारेनन् । बरु कृषि विकास बैंकबाट एक लाख ऋण निकाले ।

खेती गर्दै जाँदा फलफुलमा किरा लाग्न थालेपछि उनले विषादी प्रयोग गरे । तर विषादीको असरले चराहरु बारीमै मर्न थालेपछि उनले फलफुल खेती छाडेर गाई पाल्ने निधो गरे । २०५२ सालमा भारतको सिलगुढीबाट सात लाखमा सात वटा गाई किनेर ल्याए । गाई किन्नका लागि उनले कृषि विकास बैकबाट पुन १८ लाख ऋण निकालेका थिए । फलफुल खेती छाडेर अब उनी पुरै गाई र भैंसीपालनमा केन्द्रित भए ।

२०५४ सालमा पोखराबाट थप १२ र २०५६ सालमा स्याङ्जाबाट १२ गरी २४ वटा गाई ल्याए । गाईको दूध नजिकैको सहकारीमा लगेर बेच्ने गर्थे । ‘२०५२ सालतिर ३०र३५ लिटर दुध हुन्थ्यो, बोकेर सहकारीमा बेच्न लान्थे,’ पन्तले भने ।

भैसीको तुलनामा गाईले बढी दूध दिने भएपछि उनी गाईपालनमा मात्र केन्द्रित भए । २०६० सालमा भएका सबै भैसी बेचिदिए । विस्तारै गाईको संख्या बढाउदै लगे ।

गाईलाई चाहिने दाना उनी आफै उत्पादन गर्छन् । जाडो मौसममा गाईलाई तातो पानी खुवाउन सोलार जडान गरेका छन् । दूधमात्र मात्र होइन बाच्छा बेचेर पनि उनले आम्दानी गरिरहेका हुन्छन् । बाच्छा राष्ट्रिय प्रजजन केन्द्र पोखरा पठाउने उनी बताउँछन् । एउटा बाच्छाको तीसदेखि ६० हजारसम्म लिने पन्त बताउँछन् ।

गाईपालन केन्द्र भ्रमणमा आउनेहरुबाट उनले बार्षिक तीन लाख आम्दानी गर्छन् । ‘भ्रमण आउने एउटा टोलीसँग दुई हजार रुपैयाँ लिन्छु, एक घण्टा प्रशिक्षण दिन्छु,’ उनले भने । स्वदेशबाट मात्र नभई विदेशबाट पनि उनको गाईफार्म भ्रमणमा आउने गरेको उनी बताउँछन् । मङ्सिरदेखि असारसम्म त उनको फार्म हेर्नेको भीड नै लाग्छ ।

गाई पालेरै उनले थुपै्र सम्मानहरु पाएका छन् । २०७३÷७४ सालमा उनले २६ लाख अनुदान रकम पाए । यसै वर्ष उनी सर्वोत्कृष्ट कृषक घोषित भए र नगद दुई लाखसहित राष्ट्रपति सर्वाेत्कृष्ट किसान पुरस्कारबाट पुरस्कृत भए । ‘घरबाट बारम्बार गाईपालन छोडेर जागिर खान आइज, बडा हाकिमको छोरा भएर यस्तो काम गर्न हुन्न भन्नुहुन्थ्यो तर म गइन,’ पन्तले भने ।

उमेरले ६६ पुगिसके उनी । तर उनको जोश र जाँगरमा भने कत्ति कमि आएको छैन । उनी गाईपालनमै व्यस्त छन् ।

छोराहरु राजीवराज र राजकुमार पन्तले पनि बाबुकै बाटो पछ्याएका छन् । वाणिज्यशास्त्रमा स्नातक तह पास गरेका दुई छोराहरु बाबुले सञ्चालन गरेको गाईफार्ममै व्यस्त हुन्छन् । गाईपालनकै सन्दर्भमा पन्तले धेरै देश भ्रमण गरिसकेका छन् ।

नेपालीले गाईपालन गर्न सक्दैनन् भन्ने मानसिकता रहे पनि आफूले गरेर देखाएको पन्त बताउँछन् । सशस्त्र द्वन्द्वको समयमा भने उनलाई यो व्यवसाय अघि बढाउन निकै कठिन भयो । ‘२०५२ साल देखि २०६० सालसम्म म त अन्योलमा थिए, कहिले बन्द, संकटकाल जस्ता कारणले झण्डै हार खाइसकेको थिएँ तर धैर्य गरेर बसेँ, अहिले सफलता मिल्यो,’ उनले भने ।

(झापाको रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानबाट यसवर्षको ‘रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार’ प्राप्त गरेका पन्तको पौरख र जीवनी दर्शाउने यो समाचार अनलाइन खबरबाट लिएर सामान्य सम्पादनसहित प्रकाशित गरिएको हो ।)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: