‘हाम्रोमा जे फालाफाल छ, त्यो उनीहरुलाई चाहिएको छ’

  प्रकाशित मिति
१६ पुष २०७४, आईतवार १६:३६


बङ्गलादेशसँगको व्यापारले गति लिन सकेन । किन यस्तो भएको होला ?
नेपाल र बङ्गलादेशविच व्यापार हुँदै नभएको भन्ने होइन । तर जुन सम्भावना छ, त्यसको आधा पनि व्यापार हुन नसकेको सत्य हो । मैले को दोषी छ भनेर भन्न मिल्छ कि मिल्दैन, त्यो एउटा सवाल बन्न सक्छ । तथापि म यसको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले लिनु पर्छ भन्न चाहन्छु । किनकि नेपालका मन्त्रीज्यूहरु बङ्गलादेशसँग व्यापार बढाउन भन्दै पटक पटक भ्रमणमा जानु हुन्छ । तर भोज मात्रै खाएर फर्किनु हुन्छ । उहाँहरुलाई व्यापार बढोस् कि नबढोस् खासै चिन्ता भएको देखिदैन । बङ्गलादेशसँगको व्यापारका सम्बन्धमा नलेज राख्नेहरु मन्त्री नै भएनन् । उनीहरुले नलेज भएकाहरुसँग सल्लाह मागेनन् र दिएको सल्लाह पनि लिएनन् । यही नै हाम्रा लागि दुर्भाग्य बनेको छ ।
तेस्रो मुलुकसँग व्यापार गर्नका लागि नेपालले भारतसँग सम्झौता गरेर पाएको फुलवारी–बङ्गलाबन्ध पारवहन मार्ग किन सञ्चालनमै आउन नसकेको होला ?
यसको कथा व्यथा बडा विचित्रको छ । यो मार्गको महत्व भएर पनि हामीले प्रयोग गर्न नसकेको हो । बङ्गलादेशसँग नै निर्यात व्यापार गर्न र तेस्रो मुलुकसँग जोडिनका लागि यो पारवहन मार्ग उपयोगी छ । हेर्नुस्, हाम्रोमा जे फालाफाल छ, त्यो उनीहरुलाई चाहिएको छ । उनीहरुको जे फालाफाल छ, त्यो हामीलाई चाहिएको छ । यही तथ्यले पनि बङ्गलादेशसँगको व्यापार फस्टाउन सक्ने सम्भावना देखाउँछ । तथापि हाम्रो सरकारले व्यापार बढाउने सोच, नीति र पहलकदमी लिएकै छैन ।

व्यापार बढाउन के गर्नु पर्छ सरकारले ?
बङ्गलादेश सरकारसँग सीधा बाइलेटरल टक गरेर कम्तीमा भूटानले पाए जति सहुलियत माग्नु पर्छ । भूटानले शुन्य भन्सारमा सामान निर्यात गरिरहेको छ भने नेपालले माग्दा त्यो किन नपाउने ? नेपालले मागेकै छैन, अनि व्यापार बढेन भनेर किन रुने कराउने ? मन्त्रीहरु भ्रमणमा जाँदा भोज खान्छन् र घुमेर फर्किन्छन् । १०८ वटा बस्तुमा बङ्गलादेशले हाम्रो मुलुकलाई भन्सार सहुलियत दिएको देखिन्छ । तर त्यो सूचीमा निर्यातमूलक बस्तुको नामै छैन । अलैची, कुचो, चिया लगायतका बस्तुको नाम त्यो सहुलियतको सूचीमा परेकै छैन । नेपालले खास निर्यात हुने बस्तु पहिचान गरेर शुन्य भन्सारमा बङ्गलादेश जाने व्यवस्था मिलाउनु पर्छ । त्यसपछि निर्यात ह्वात्तै बढ्ने छ ।
पारवहन मार्गमा भारतको अवरोध छ पनि भन्ने गरिन्छ । के त्यस्तै हो ?
हामी नेपालीमा आफुले काम गर्न नसके पछि अरुलाई दोषी देखाएर पन्छिने खराब बानी छ । पारवहन मार्गमा भारतको अवरोध कहिँ कतै पनि हामी व्यवासायीहरुले अनुभूति गरेका छैनौँ । पहिला फुलबारीको बाटो साँघुरो र केही भन्सार प्रक्रिया अप्ठेरो थियो । त्यो अप्ठेरो अहिले छैन । बाटो फराकिलो र भन्सार प्रक्रिया सरल भइसकेको छ । भारतले पनि नेपालले त्यो पारवहन मार्ग प्रयोग गरोस् नै भन्ने चाहेको देखिन्छ । यतिसम्म कि बङ्गलादेशका ट्रकहरु भारतीय भूभागसम्म आउन दिइएको छ, नेपालका लागि भनेर । हाम्रो सामान बोकेका ट्रक पनि सीमा नाघेर बङ्गलाबन्धस्थित भन्सारसम्म पुगेकै छन् ।

व्यापार बढ्न सकेन, सबै चिन्तित छन् । तपाइँ संस्थापक अध्यक्ष रहेको नेपाल बङ्गलादेश चेम्बर अफ ट्रेडर्सले चाहिँ के पहल गरिरहेको छ त ?
यो संस्था जन्मनु अघि नै मैले व्यक्तिगत पहलमा पहिलोपल्ट नेपाली सुन्तला, अम्लिसो, अदुवा लगायतका नेपाली कृषि उत्पादनहरु बङ्गलादेशको बजारमा पुर्याएको थिए । म अध्यक्ष रहेको संस्थाले दुई देशविचको व्यापार बढाउने उद्देश्यले पिपुल टु पिपुल सम्बन्ध बढाउने र उच्चस्तरीय पहलकदमी लिने विभिन्न कार्य गर्दै आएको छ । हामीले जनस्तरमा हार्दिक सम्बन्ध विस्तार गर्न सक्यौँ भने व्यापार मात्र होइन, टुरिज्मको पनि प्रबर्धन हुन्छ । तर हामीले सरकारले जस्तो काम त गर्न सक्दैनौँ र गर्न मिल्दैन पनि । बङ्गलादेश सरकारका नीति निर्माण तहका मान्छेहरुलाई भेट्दा नेपाल सरकारले के सुविधा चाहिएको हो, त्यसको सूची बनाएरै कुरा गर्न आउनु पर्यो भन्छन् । यही कुरो नेपाल सरकारका मान्छेहरुलाई भन्दा एउटा कानले सुनेर अर्को कानले उडाइदिन्छन् । तपाइँ नै भन्नुस् यस्तो अकर्मण्य अवस्थामा हाम्रो संस्थाले जति काम गर्दै आएको छ, त्यो त अति धेरै उपलब्धिपूर्ण हो । हामीले बङ्गलादेशी राजदूतावास र ढाकास्थित नेपाली राजदूतावाससँग फेस टु फेस चिनारी बनाउन सकेका छौँ । यसबाट नेपाली निर्यात व्यवसायमा पक्कै सहज भएको छ ।

बङ्गलादेशको राजधानी ढाकामा हुने अन्तर्राष्ट्रिय व्यापार महोत्सवमा नेपाली व्यवासायीहरुको नेतृत्व गरेर तपाइँ जाँदै हुनुहुन्छ । नेपालको उपस्थिति त्यहाँ कस्तो रहला ?
हामी ढाका जाँदैछाँै । यही जनवरी १ देखि एक महिनासम्म ढाकामा अन्तर्राष्ट्रिय व्यापार महोत्सव हुँदैछ । सयौँ मुलुक त्यसमा सहभागी बन्दैछन् । सन् २००१ मा ढाकामा भएको यस्तै महोत्सवमा सहभागी बने यता पहिलोपल्ट केही तयारीका साथ नेपाल त्यहाँ जाँदैछ । ढाकास्थित नेपाली राजदूत डा.चोपलाल भुसाल यही विषयमा निर्यात व्यवसायीहरुसँग प्रत्यक्ष सल्लाहका लागि केही दिन अघि झापा आउनु भएको थियो । उहाँ नेपालको उपस्थिति उपलब्धिपूर्ण होस् भनेर बडो उत्साहपूर्वक जुटिरहनु भएको छ । ढाकाबाट फुलबारी मार्ग हुँदै झापा आउनु भएको राजदूत डा. भूसाल काठमाडाँै नगई ढाका नै फर्किनुको अर्थ उहाँ यस विषयमा सिरियस हुनुहुन्छ भन्ने सावित हुन्छ । उहाँ जस्तो राजदूत पाउनु हाम्रो देशका लागि गौरवको कुरा हो । उहाँकै जस्तो चिन्तन र चासो यस अघिका नेपाल सरकारका प्रतिनिधिहरुले राखिदिएको भए बङ्गलादेशसँगको व्यापारले फड्को मारिसक्ने थियो ।
बङ्गलादेश जाने टोली कस्तो छ ? महोत्सवबाट नेपालले के उपलब्धि पाउँला ?
नेपाली टोली ठूलै हुनेछ । नेपालले यस्तो महोत्सवलाई बढी महत्व दिनै पर्छ । किनकि काँकरभिट्टाबाट आधा सय किलोमिटरको मोटर बाटो पार गर्दा बङ्गलादेश पुगिन्छ । यस्तो निकट तेस्रो छिमेकी मुलुकसँग व्यापार बढाउने कुरा नेपालको प्राथमिकतामा पर्नु पर्छ । टोलीमा ६० जनाभन्दा बढी हुने छन् । केही साथीहरु काठमाडौँबाट हवाइमार्ग भएर सीधै जानु हुने छ भने हामी धेरैजसो फुलवारी–बङ्गलाबन्ध स्थलमार्ग हुँदै ढाका पुग्ने छौँ । टोलीमा केही पत्रकार साथीहरु पनि हुनुहुन्छ । टोलीमा यसपटक निर्यात व्यवसायीहरुको वाहुल्य छ । टोली घुमफिरका लागि होइन, व्यापार प्रबर्धनका लागि सिरियसली लागेको लागेको छ । हामी ढाकामा महोत्सवमा प्रभावकारी उपस्थिति मात्र दर्शाउने छैनौँ, बङ्गलादेश सरकारका प्रतिनिधिहरुसँग पनि आपसी हितका बारेमा सम्बाद गर्ने छौँ ।

ढाकामा रहेको नेपाली राजदूतावास र काठमाडौँमा रहेको बङ्गलादेशी दूतावासले व्यापार प्रवर्धनका विषयमा कस्तो भूमिका खेल्दै आएको पाउनु भएको छ ?
विगतको तीता कुरा अहिले नकोट्याउनु नै जाति हुन्छ । अहिलेको कुरा गर्ने हो भने दुबै देशका दूतावास र त्यहाँका अधिकारीहरुको भूमिका अत्यन्त सकारात्मक पाएका छौँ । महामहिम डा. चोपलाल भुसालसँग बारम्वार सम्पर्क भइरहेको छ । उहाँ फुलवारी–बङ्गलाबन्ध पारवहन मार्गलाई नयाँ सिराबाट प्रयोग गर्न सबै लाग्नु पर्छ भन्ने सोच राख्नु हुन्छ । उहाँले झापामा समेत आएर चिया, अदुवा, अलैची, होलो ब्लक लगायतका विभिन्न उद्यमीहरुसँग भेटघाट गरेर निर्यातको सम्भावना बारे गहिरो अध्ययन गर्नु भएको छ । यसैगरी, बङ्गलादेशी राजदूतावासले नेपाली व्यवसायीहरुलाई व्यापार बढाउन जहिल्यै हौसला दिदै आएको छ । केही दिन अघि बङ्गलादेशी दूतावासका फस्ट सेक्रेटरी मोहम्मद मोहबुबले पनि झापाको भिजिट गर्नु भएको थियो । बङ्गलादेशी पक्ष उसकै सामान धेरै नेपाल आओस् भन्ने चाहन्छ, त्यो उसको देशको हितका लागि स्वाभाविक होला । तर उनीहरुले हामीलाई पनि व्यापार बढाउन मदत गर्ने वचन दिइरहेका छन् । यसका लागि त नेपालको सरकारले नै भन्सार सुविधा लगायतका विषयमा सम्झौता गर्नु पर्यो ।

नेपाल र बङ्गलादेशविचको मित्रताको इतिहास कस्तो छ ?
दुबै देश विकासतर्फ लम्किरहेका छन् । हामी दुबै गरीवीबाट उन्मुक्तिका लागि समृद्धिको मार्गमा हिँडिरहेका छौँ । हावापानी र देशको साइज पनि उस्तै उस्तै छ । मुस्लिम कन्ट्री भए पनि त्यहाँ ठूलो सङ्ख्यामा हिन्दुको बसोबास छ । यस हिसाबले संस्कृति पनि केही हदसम्म मिल्दोजुल्दो नै मान्नु पर्छ । सबैभन्दा राम्रो कुरा के हो भने नेपाल र नेपालीलाई उनीहरु नजिकको मित्र ठान्छन् र व्यवहार गर्छन् । राजनीतिक हिसाबले पनि हाम्रो सम्बन्ध प्रगाढ छ । बङ्गलादेशको राष्ट्रिय मुक्ति आन्दोलनमा नेपालीहरुले प्रत्यक्ष र सशस्त्र सहयोग पुर्याएका थिए । वीपी कोइरालाले बङ्गलादेशी स्वतन्त्रता सङ्ग्रामीहरुलाई बन्दुक नै सहयोग गरेको इतिहासले गर्दा उनीहरु नेपालीहरुलाई अति माया गर्छन् ।

बङ्गलादेशसँगको व्यापार बढाउनु पर्छ भनेर तपाइँ एक्लै र एकोहोरो लागिरहनु भएको दुई दशक वितिसक्यो । खासै प्रगति नहुँदा दिक्क लाग्दैन ?
मैले बङ्गलादेशसँगको व्यापारमा नेपालको समृद्धिको आधार देखेर नै यसमा दत्तचित्त भएर लागेको हुँ । कसैले न कसैले यो कुरा भनिरहेन र यसमा लागिरहेन भने बङ्गलादेशसँगको व्यापार अगाडि बढ्न सक्दैन । मैले नै पहिलोपल्ट नेपाली सुन्तला बङ्गलादेशी बजारमा पुर्याएको हुँ । सरकारले त के पो गर्यो र ? पारवहन मार्गबाट एकपटक ३० टन मुसुरो दाल बङ्गलादेश गएको थियो । त्यसपछि पारवहन मार्गबाट नेपाली सामान जाने होइन, एकोहोरो उताबाट आयात हुने क्रम मात्र छ । आयात प्रतिस्थापन हुने र निर्यात बृद्धि हुने गरी हामी लाग्नै पर्छ । मैले यस अभियानमा लाग्दा व्यक्तिगत रुपमा धेरै आर्थिक नोक्सानी व्यहोरेको छु, तर मेरो देश नेपालले त फाइदा पाइरहेको छ नि । म देशको हितका लागि व्यक्तिगत स्वार्थ त्याग्न सक्ने मान्छे हुँ । म अझै यसरी लागिरहने छु कि एकदिन मानिसहरुले भन्ने छन्–यो पन्नालाल भन्ने मान्छे पागलजसरी नै बङ्गलादेशको व्यापार बढाउनु पर्छ भनेर लागिरहेका थियो, त्यसैको प्रतिफल बल्ल मुलुकले पाउन थाल्यो । म ती दिनहरुको प्रतीक्षामा छु, जुन दिन पन्नाले सही काम गरेछ भनेर दुनियाँले मान्ने छन् ।
भन्नै पर्ने केही कुरो छुट्यो कि ?
म फेरि दोहोर्याएर सम्झाउन चाहन्छु । बङ्गलादेशमा जे फालाफाल छ, त्यो हामीलाई चाहिएको छ । नेपालमा जे फालाफाल छ, त्यो उनीहरुलाई चाहिएको छ । दूरी नजिक छ, पारवहन सम्झौताका कारण स्थलमार्ग सहज छ । नेपालको कुल जनसङ्ख्या जति मानिस बङ्गलादेशको राजधानी ढाकामै बसोबास गर्छन् । हाम्रा हरियाली डाँडाकाँडा र हिमाल उनीहरुका लागि पर्यटकीय गन्तब्य बन्न सक्छन् । यो भन्दा अनुकूलता व्यापारका लागि अर्को के होला ? यति कुरो बुझिदिए हाम्रो दुई देशविचको व्यापारको सम्भावना झल्किन्छ । समृद्धि खोजिरहेका हामीले बङ्गलादेशसँगको व्यापारको सम्भावनालाई नगुमाऔँ । यही मेरो आग्रह सबैलाई ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: