हाम्रो साकोस र विकल्प अब एउटै

  प्रकाशित मिति
४ फाल्गुन २०७६, आईतवार १९:११


मेचीनगर । बिर्तामोडमा रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था र गौरादहमा रहेको विकल्प उपभोक्ता सहकारी संस्थाबीच शनिबार गौरादहमा प्रथम एकीकृत साधारणसभा सम्पन्न गरिएको छ ।

२०६८ साल फागुन १६ गते दर्ता भएको विकल्प उपभोक्ता सहकारी संस्था र २०६९ साल साउन १४ गते दर्ता भएको हाम्रो नेपाल साकोसले गत साधारण सभाबाट एकापसमा एकीकरण गर्ने प्रस्ताव पारित गराएका थिए ।

सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ को भावना प्रतिविम्वित गर्दै सम्भवतः प्रदेश १ मा नै पहिलो एकीकृत साधारणसभा भएको आयोजकको दावी छ ।

सहकारी संस्थाहरु एकापसमा एकीकरण गरिँदै आए पनि सहकारी ऐन र नियमावलीको मर्म एवम् भावनाअनुरुप एकीकृत साधारणसभा गरिएको संस्थाका अध्यक्ष भवानीप्रसाद दङ्गालले बताएका छन् ।

गत मङ्सिर १० गते सहकारी विभागबाट दुई संस्थाबीच एकीकरणको काम सम्पन्न गराइएको कार्यक्रममा अध्यक्ष दङ्गालद्वारा प्रस्तुत प्रतिवेदनमा जनाइएको छ ।

दुई संस्थाबीच एकीकरण गरिएपछि संस्थाको नाम हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था कायम गरिएको छ ।

एकीकृत साधारणसभाले सञ्चालक समितिको सदस्यमा तुलसीराम गौतमलाई चयन पनि गरेको छ ।

एकीकरण पछि पनि बचत तथा ऋणको मुख्य कारोबार गर्ने निर्णय गरेको हाम्रो नेपालको शेयर सदस्य सङ्ख्या अब १२ हजार जनाभन्दा बढी भएका छन् ।

झापा जिल्लाभर कार्यक्षेत्र रहेको र १६ वटा सेवा केन्द्रको स्वीकृति पाएको हाम्रो नेपालका १३ वटा कार्यालय सञ्चालनमा छन् ।

संस्थामा २ हजार ८०० ऋणी तथा ३ हजार ४०० जना बाल सदस्य छन् भने १२७ जना कर्मचारी कार्यरत रहेको जनाइएको छ ।

गत पुस मसान्तमा संस्थाको शेयर पूँजी ६ करोड ८० लाख, कोष हिसाब ३ करोड ८९ लाख, बचत निक्षेप ३५ करोड ९२ लाख र लगानीमा रहिरहेको कर्जा ५८ करोड ३५ लाख रुपैयाँ रहेको अध्यक्ष दङ्गालद्वारा एकीकृत साधारणसभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यमा गौरादहको सामुदायिक भवनमा आयोजित सो कार्यक्रममा मन्तब्य राख्दै उनले झापाको सहकारी क्षेत्रले नेपालको सिङ्गो सहकारी अभियानलाई समेत मार्गदर्शन गरिरहेको बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासङ्घका उपाध्यक्ष तथा राष्ट्रिय सहकारी बैङ्कका पूर्वअध्यक्ष रमेश पोखरेलले नेपालको सहकारी क्षेत्रलाई गुणात्मक बनाउन ब्यावसायिकतामा जानैपर्ने अनिवार्यता रहेको बताए ।

संस्थाका अध्यक्ष दङ्गालको अध्यक्षतामा आयोजित एकीकृत साधारणसभामा तत्कालीन विकल्प उपभोक्ताका संस्थापकदेखि एकीकरण कालसम्मका अगुवाहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

सहकारीकर्मी तथा पत्रकार डण्डीराज घिमिरेले सञ्चालन गरेको एकीकृत साधारणसभामा विकल्पका संस्थापक सचिव शेरबहादुर कार्की, पूर्वनेपाल बहुउद्देश्यीय सहकारीका अध्यक्ष प्रेम सापकोटा, शुभलक्ष्मी साकोसका सचिव राजु घिमिरे तथा गौरादह क्याम्पसका पूर्वप्रमुख भोजराज दाहालले शुभकामना मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: