हारेर पनि जीतको अभिव्यक्ति दिनेहरु

  प्रकाशित मिति
२४ मंसिर २०७४, आईतवार १५:१३


झापा । सामान्यतः निर्वाचनमा पराजित भएपछि नेपालमा उम्मेदवारहरुले भन्ने गर्छन्, ‘जालझेल गरेर हराइयो ।’ नेपालमा राजनीतिक संस्कार र संस्कृतिको विकास हुन सकेको छैन ।

धाँधली, जालझेल तथा अनियमितताका आधारमा निर्वाचन जितेको जनाउँदै हार्नेले जित्नेलाई सत्तोसराप गर्ने संस्कृति हट्न सकेको छैन, जबकि संयुक्त राज्य अमेरिकामा राष्ट्रपतिका उम्मेदवारले हार्ने निश्चित भएपछि तुरुन्तै विजयीलाई बधाई दिने चलन छ ।

नेपालमा पनि केही नेता यस्ता देखिएका छन्, जसले राजनीतिक संस्कार मात्रै होइन, आफ्ना प्रतिस्पर्धी उम्मेदवारलाई आधिकारिक रुपमा विजयी हुनुभन्दा पहिल्यै गएर खादा ओढाई बधाईसमेत दिएको पाइएको छ । झापा क्षेत्र नं १ बाट नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार विश्वप्रकाश शर्माले त्यस्तो राम्रो संस्कार देखाए ।

शर्माले आफूसँगै निर्वाचनमा प्रतिस्पर्धा गर्नुभएका वाम गठबन्धनका उम्मेदवार सुरेन्दकुमार कार्कीलाई विजयी भएकामा बधाई मात्रै दिएनन्, कार्कीको जित आफ्नो पनि जीत भएकामा खुशी व्यक्त गरे ।

मतगणना हुँदै गर्दा धाँधली भएको भन्दै राजधानीमा नै केही उम्मेदवार बहिष्कार गरेर हिँडिरहेका बेला झापामा काँग्रेस उम्मेदवार शर्माले देखाएको राजनीतिक संस्कार तथा सौहार्द अरुका लागि समेत अनुकरणीय बन्न पुगेको छ । शर्माले आफ्ना प्रतिस्पर्धीलाई खादा ओढाइदिए, माला लगाइदिए र सेल्फी पनि खिचे ।
सामाजिक सञ्जालहरुमा भाइरल भएको शर्मा र कार्कीको सेल्फीभित्र उच्च राजनीतिक संस्कार देखिएको छ । निर्वाचन प्रचारप्रसारका समयमा समेत कार्की र शर्माले चर्का कुरा गरेनन् । स्वच्छ राजनीतिक प्रतिष्पर्धा गर्छौं भन्दै सार्वजनिक रुपमा नै प्रतिबद्धता जनाउनुभएका दुवै उम्मेदवारले झापामा देखाएको संस्कार अरु उम्मेदवारले पनि सिक्नु जरुरी छ ।

झापा–१ बाट नेकपा(माओवादी केन्द्र)बाट उम्मेदवार बनेका कार्की ३६ हजार १७३ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार शर्माले ३३ हजार ३१० मत प्राप्त गरे ।

‘हामीले हार्दा पनि जित्दा पनि सहज रुपमा लिन सक्नुपर्छ । नेपाली जनताले फैसलालाई स्वीकार गर्नुपर्छ भन्ने संस्कार सिकाउन नै मैले राम दाइलाई बधाई दिएको हुँ’, शर्माले मतगणनास्थल बाहिर सञ्चारकर्मीलाई बताए ।

शर्माको अनुहारमा हारको कुनै चिन्ता थिएन, उनी आफू पनि विजयी भएको भन्दै खुशी बाँडिरहेका थिए । आफ्नै बारीको फूलको माला उनेर नवनिर्वाचित सांसद कार्कीलाई पहि¥याए ।

आफूसँग पराजित काँग्रेस नेता शर्मा पनि विजयी भएको भन्दै माओवादी केन्द्रका नेता तथा नवनिर्वाचित सांसद कार्कीले ‘आजको समाजवाद’ नामक पुस्तक उपहार दिने बताए । सांसद कार्कीले भने, ‘मेरो विजय विश्वप्रकाशको पनि हो, नेपाली जनताको हो ।’

यस्तै ओखलढुंगामा वाम गठबन्धनका उम्मेदवार यज्ञराज सुनुवार विजयी भएपछि शुभकामना दिएर आफ्नो पनि जीत भएको बताउनेमा काँग्रेस उम्मेदवार रामहरि खतिवडा पनि देखिए । उनले नेकपा(एमाले)का सुनुवारको जित सबैको जित भएको, प्रजातान्त्रिक पद्धतिको जित भएको बताए । उनले भने ‘समृद्ध ओखलढुंगा बनाउन यो जीत सार्थक होस् । मैले आफूले जितेको जस्तै महसुस गरिरहेको छु ।’

असल राजनीतिक संस्कार देखाउनेमा अर्का काँग्रेस नेता चन्द्र भण्डारी पनि देखिएका छन् । भण्डारीले आफ्ना प्रतिष्पर्धी एमालेका सचिव प्रदीप ज्ञवालीलाई विजयप्रति शुभकामना दिँदै भने ‘प्रजातान्त्रिक पद्धतिमा हारजीत स्वाभाविक हो । एक अर्काले कसैलाई पनि मन दुखाउने काम गर्नुहुँदैन । यसलाई मनन गर्नुहोला । गुल्मीको विकास र समृद्धिमा सहकार्य गरेर अगाडि बढौँ ।’

भण्डारीले नवनिर्वाचित सांसद ज्ञवालीको जीतलाई आफ्नो पनि विजय भएको जनाउँदै खुशी बाँड्दै हिँडेका छन् । यस्तै डडेल्धुराबाट काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग पराजित वाम गठबन्धनका उम्मेदवार खगराज भट्टले आफ्ना प्रतिष्पर्धीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: