हिंसाविरुद्ध डट्ने मन्त्रीदेखि पत्रकारसम्मको प्रतिबद्धता

  प्रकाशित मिति
२० माघ २०७६, सोमबार १३:१४


मेचीनगर । नारी सञ्चार गृह झापाले आइतवार मेचीनगरमा आयोजना गरेको एक कार्यक्रममा सहभागी मन्त्रीदेखि पत्रकारसम्मका वक्ताले महिला हिंसाविरुद्ध डटेर मुकाविला गर्नुपर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रदेश नं. १ की सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले महिला हिंसाको अन्त्य चुनौतिपूर्ण भएको बताउँदै समाजमा जरो गाडेर बसेको लैङ्गिक विभेद र हिंसालाई उखेलेर फाल्न सञ्चार जगतको भूमिका आवश्यक भएको धारणा व्यक्त गरेकी छन् ।

मेचीनगर नगरपालिकाको सहयोगमा आयोजित ‘लैङ्गिक हिंसा र सुरक्षित सञ्चार’ सम्बन्धी सो प्रशिक्षण कार्यक्रममा राज्यमन्त्री गजमेर प्रमुख अतिथि रहेकी थिइन् ।

उनले आफु भ्रष्टाचार नगर्ने र आफ्नो मन्त्रालय मातहतमा भ्रष्टाचार गर्न नदिने प्रतिबद्धता व्यक्त गरिन् । महिला आन्दोलनकै जगबाट आफु मन्त्री पदमा पुगेको स्मरण गर्दै उनले प्रदेश सरकारले महिला हिंसा र विभेदलाई नसहने बताइन् ।

कार्यक्रममा वरिष्ठ पत्रकार बबिता बस्नेतले लैङ्गिक हिंसालाई विश्वव्यापी आश्चर्य मानिने गरेको जनाउँदै अर्काको घर जानुपर्ने अर्तीबाट हुर्किएका नेपाली महिलाहरुले जिन्दगीभरि नै असुरक्षित भएर जिउनु परेको बताइन् । उनले सो अवसरमा प्रशिक्षण प्रदान गरेकी थिइन् ।

विशेष अतिथि एवम् मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले न्यायिक समितिमा आउने उजुरीमध्ये धेरैजसो महिला हिंसासँग सम्बन्धित हुने गरेको र संविधान र कानूनमा लेखिएका महिला अधिकारलाई व्यवहारमा लागू गर्न अझै बाँकी रहेको बताएकी थिइन् ।

??

झापाको नारी सञ्चार गृहले प्रदेशका मन्त्रीदेखि सञ्चारकर्मीसम्मलाई आइतवार धुलावारीको मेची उद्योग वाणिज्य सङ्घको सभाहलमा एकैथलोमा राखेर लैङ्गिक हिंसा र सुरक्षित सञ्चारका बारेमा विषयविज्ञबाट प्रशिक्षण प्रदान गरेको थियो ।

प्रशिक्षण कार्यक्रममा प्रदेश नं. १ की सामाजिक विकास राज्यमन्त्री गजमेर र मेचीनगर नगरपालिकाकी उपप्रमुख उप्रेतीलगायत मेचीनगरका जनप्रतिनिधिहरु, राजनीतिक दलमा नेतृत्वदायी भूमिकामा रहेका स्थानीय महिला नेतृहरु र सञ्चार क्षेत्रमा क्रियाशील पत्रकार महिलाहरुको सहभागिता रहेको थियो ।

समाजको विभिन्न क्षेत्रमा अगुवाको भूमिकामा रहेका महिला नेतृहरुलाई वरिष्ठ पत्रकार बबिता बस्नेत र प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले प्रशिक्षण प्रदान गरेका थिए । हिंसा किन हुन्छ, यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ, हिंसाको प्रवृत्ति कस्तो छ, न्यूनीकरणमा राज्य र सञ्चार जगतको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा प्रशिक्षण केन्द्रित रहेको थियो । सहभागीहरुले कार्यक्रममा वक्ताहरुसँग अन्तरक्रिया समेत गरेका थिए ।

नारी सञ्चार गृह झापाकी अध्यक्ष अम्बिका भण्डारीले कार्यक्रमको सभाध्यक्षको रुपमा बोल्दै महिला पत्रकारहरुको हकहितका स्थापना गरिएको संस्थाले विभेदरहित समतामूलक समाज निर्माणका लागि स्थानीय तहसँग मिलेर जनचेतनामूलक कार्यक्रम निरन्तर गर्दै आएको जानकारी दिइन् ।

कार्यक्रमको सञ्चालन संस्थाकी सचिव रेजिना रोदन र स्वागत उपाध्यक्ष भीमा शिवाकोटीले गरेकी थिइन् ।

सो अवसरमा नेपाल आदिवासी जनजाति महिला महासङ्घ झापा र मखमली महिला विकास संस्थाकी अध्यक्ष माया गुरुङले राज्यमन्त्री गजमेरलाई खादा ओढाएर संस्थाका तर्फबाट सम्मान गरेकी थिइन् ।

कार्यक्रममा झापाकी पहिलो पत्रकार महिला राधा चम्लागाईले अक्षयकोषका लागि अमेरिकाबाट पठाएको रु. ४० हजार नगद नारी सञ्चारगृहकी अध्यक्ष अम्बिका भण्डारीलाई चम्लागाईका दाजु कर्णाखर चम्लागाईले हस्तान्तरण गरेका थिए ।

महिला नेतृ रञ्जु प्याकुरेलले अक्षयकोष दाता चम्लागाईले अमेरिकाबाट पठाएको सन्देश पढेर सुनाएकी थिइन् ।
…………..

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: