हिउँदे छुट्टी मनाउने झापाका पर्यटकीय स्थल

  प्रकाशित मिति
१९ कार्तिक २०७३, शुक्रबार १४:१९


kechana

झापा । पर्यटकीय दृष्टिकोणले मेची अञ्चलका चारै जिल्ला उत्तिकै महत्वपूर्ण छन् । यसमा पनि झापाको आफ्नो मौलिक विशिष्टता छ । ३ वटा नगरपालिका र ४७ वटा गाविस भएको झापा तराईको समथर भूभागसँगै चुरे क्षेत्रसँग गाँसिएको छ ।

भौगोलिक बनावटले पनि यो जिल्ला अरुको तुलनामा पृथक छ । त्यसमा पनि धार्मिक, पौराणिक एवम् ऐतिहासिक पर्यटकीयस्थलको अनुपम सङ्गमले झापाको पृथकता पुष्टि गरेको छ । जिल्लाका किच्चकवध, टाँसी छ्योलिङ गुम्वा, कनकाई माई, अर्जुनधारा–जलेश्वरधाम, कृष्णथुम्की, केचनाकवल, पातालगङ्गा, बर्ने चिया बगान, विराट पोखर, सताक्षीधाम, साधुटार, जामुनखाडी, दोमुखा, कोटीहोम, सुखानी, समयगढ, चिल्लागढ, सुनमाई, कञ्चनगढ लगायतका दजनौँ स्थान झापाको पर्यटकीय प्रवर्धनका उपयुक्त क्षेत्र हुन् ।

यी क्षेत्रमा पूर्वाधारको विकास सेवासुविधाको विस्तार गर्न सकिए झापासँगै पूर्वकै मुहार फेरिने निश्चित छ । नेपालको सबैभन्दा होचो स्थानदेखि पहाडलाई छोएको हुनाले पनि झापा पर्यटनको राम्रो सम्भावना भएको जिल्लाका रुपमा रहेको क्षेत्रीय पर्यटन कार्यालयका प्रमुख गणेशप्रसाद तिम्सिना बताउँछन् ।

पर्यटन वर्षमा व्यवस्थित र प्रचारप्रसारका कारण यहाँ पर्यटकको आवागमन उत्तिकै छ । यी पर्यटकीय क्षेत्रको व्यवस्थापन गर्न स्थानीयबासी नै जुटेका छन् ।1429105624sal

मेची र देवनिया नदीको बिचमा रहेको किच्चकवधको उत्खनन्पछि चर्चा बढेको छ । झापाको सदरमुकाम चन्द्रगढीदेखि १ किमि पूर्व–दक्षिणमा रहेको किच्चकवध ५ वर्षअघि उत्खनन् गरिएको थियो । किच्चकबधको इतिहास महाभारतकालीन कथासँग जोडिएको छ । छेउमै मेची नदी र वरिपरि देवीदेवताका मन्दिर रहेकाले पनि यसलाई आन्तरिक र बाह्य पर्यटकले रुचाएका हुन् । पृथ्वीनगर–५ र महेशपुर–३ को सीमानाको रुपमा रहेको किच्चकवध क्षेत्र पुरातात्विक उत्खनन् गर्दा ८ कोठा भएको भवनको भग्नावशेष फेला परेको छ । त्यसको तल्लो तहमा अर्को छुट्टै भवनको आकृति छ । जहाँ सबैभन्दा ठूलो कोठा २२ मिटर लामो छ । १० विगाह जग्गामा फैलिएको किच्चकवधको यसअघिको उत्खनन्मा ७ मिटर अग्लो र १ सय २३ मिटर लामो सुरक्षा पर्खाल भेटिएको थियो ।

पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा–जलेश्वरधामको महत्व अझै व्यापक छ । बिर्तामोडबाट ५ किलोमिटर उत्तरमा रहेको अर्जुनधारा–जलेश्वरधाम झापाको प्रमुख पर्यटकीय क्षेत्रमध्ये एक हो । अर्जुनधारा – ४ मा रहेको यो पर्यटकीयस्थलको ऐतिहासिक पृष्ठभूमि महाभारत कथासँग जोडिएको छ । नेपाल, भारत, भुटान, बङ्गलादेशलगायत पश्चिमी देशका धार्मिक पर्यटक यहाँ आउँछन् ।

धामका अध्यक्ष नवीन गट्टानीका अनुसार यहाँ वर्सेनि १० लाखभन्दा बढी धार्मिक पर्यटक आउने गरेका छन् । महाभारत कथासँग इतिहास जोडिएको अर्जुनधारा–जलेश्वरधाममा अर्जुनले वाण हानेपछि निस्किएको पानीबाट पोखरी बनेको विश्वास गरिन्छ । त्यहाँ रहेको पोखरीमा गाईले पानी पिउन लागेको प्रतिमाले पनि पर्यटकहरुलाई मोहित पार्छ । यहाँ प्रत्येक वर्ष बालाचतुर्दशी र साउन महीनाको प्रत्येक सोमबार ठूलो धार्मिक मेला लाग्ने गरेको छ ।

केचना गाविस रहेको केचनाकबल नेपालको सबैभन्दा होचो भूभाग हो । पर्यटकीय महत्व बोकेको केचनाकवल समुन्द्र सतहदेखि ५८ मिटर उचाईमा रहेको छ । चार बिघा क्षेत्रफलमा फैलिएको केचनामा कछुवाको आकृतिमाथि २० फिट अग्लो स्तम्भ बनाइएको छ । यो स्तम्भ नेपाल–भारत सीमानाको ५ सयमिटर वर रहेको छ ।

नेपालका अल्पसङ्ख्यक गनगाई आदिवासीको बसोबास रहेको केचना गाविसबाटै मेची लोकमार्ग सुरु भएको छ । मेची लोकमार्गको २ किलोमिटर पूर्व–उत्तर रहेको केचनाकवल बर्षायाममा दलदलमा परिणत हुने भएकाले हिउँद महिनामा मात्र जानका लागि उपयुक्त हुन्छ ।
दोमुखा सतासीधाम र सुरुङ्गाको बिचमा पर्ने विशिष्ट किसिमको पर्यटकीयस्थल हो । पूर्व–पश्चिम लोकमार्गबाट ३ किलोमिटर उत्तरमा रहेको दोमुखा आन्तरिक पर्यटकको राम्रो गन्तव्य हो । हिउँद महिनामा १ लाखभन्दा बढी आन्तरिक पर्यटक पिकनिकका लागि यहाँ आउने गर्छन् ।

52522750

तराई र पहाडको मिलन विन्दुको रुपमा रहेको दोमुखामा बाह्य पर्यटकको पनि उल्लेख्य उपस्थिति रहन्छ । कनकाई माई नदीको सदावहार उपस्थिति पनि दोमुखाको विकासमा अर्को महत्वपूर्ण आधार बनेको छ । दोमुखा पर्यटकीय क्षेत्र विकाश समितिका अनुसार चालू आर्थिक वर्षमा ५ सय जना बाह्य पर्यटक दोमुखा आएका छन् । झापाको सदरमुकाम चन्द्रगढीदेखि ४० किलोमिटर उत्तर–पश्चिममा रहेको दोमुखा प्राकृतिक सौन्दर्यताले भरिए पनि भौतिक पूर्वाधारको विकास हुन सकेको छैन ।

त्यस्तै काँकरभिट्टाको टाँसी छोयलिङ गुम्बा झापालाई चिनाउने अर्को महत्वपूर्ण धार्मिक पर्यटकीयस्थल हो । नेपाल, भारत, भुटान, थाइल्याण्डलगायतका देशबाट आएका बौद्ध धर्मावलम्बीहरुको गन्तव्यको रुपमा यो गुम्बा रहेको छ । गुम्बामा धार्मिक अनुष्ठान र भिक्षु तथा लामाहरुले नियमित प्रवचन दिने गरेका छन् ।
मेचीनगरमा अवस्थित पातालगङ्गा झापाको अर्को धार्मिक तथा ऐतिहासिक पर्यटकीयस्थल हो । विस १९९० सालमा भूकम्प जाँदा यहाँ दूध जस्तो सेतो फोहरा निस्किएपछि गङ्गाजल प्रकट भएको विश्वास गरेर स्थानीयले पूजाआजा गर्न थालेका हुन् । २०४२ सालमा मन्दिर निर्माण गरिएको छ । यसअघि २०१४ सालमा पनि १ बिघा १२ कठ्ठा जग्गामा नन्देश्वर मन्दिर निर्माण
गरिएको छ ।
पछिल्लो समय आन्तरिक पर्यटकको राम्रो गन्तव्य बनेको झापाको बाहुनडाँगीस्थित कृष्णथुम्कीको पनि छुट्टै विशेषता छ । मेची नदी र सिधि नदीको संगमस्थलमा रहेकाले पनि यसको प्राकृतिक सौन्दर्यता अझै बढेको छ ।

द्वापरयुगमा भगवान कृष्णले गाई चराएको स्थान भएकाले यसलाई कृष्ण थुम्की नामाकरण गरिएको किम्वदन्ती छ । नेपाल प्रवेशद्वार काँकरभिट्टाबाट १३ किलोमिटर उत्तरमा रहेको कृष्णथुम्कीको वरिपरि ५ ओटा थुम्की रहेका छन् । पाथी आकारका ति थुम्कीलाई पाँच पाण्डवको प्रतिकका रुपमा लिइन्छ ।

यसैगरी, जामुनखाडी सिमसार क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकले निकै रुचाएको स्थल हो । सुरुङ्गा –२ र ५ मा रहेको जामुनखाडी लोकमार्गबाट ३ किलोमिटर उत्तरमा पर्छ । जामुनखाडी सामुदायिक वनको २५ हेक्टरमध्ये १५ हेक्टर क्षेत्रफल जग्गामा फैलिएको जामुनखाडी सिमसार क्षेत्रमा ऐतिहासिक महत्वका गङ्गा–जमुना पोखरी छन् ।

संरक्षणको अभावका कारण गङ्गा पोखरीको अवशेष मात्र बाँकी छ । ४ विघा क्षेत्रफलको मध्यभागमा रहेको जमुना पोखरी पर्यटकहरुको आकर्षणको केन्द्रको रुपमा विस्तार हँुदैछ । पोखरीमा नौका र डुङ्गा सञ्चालन गरिएको छ ।

सतासीधाम–१ मा रहेको सताक्षी धाम धार्मिक पर्यटकहरुको अर्को गन्तव्य हो । पूर्व–पश्चिम लोक मार्गदेखि २ किलोमिटर उत्तरमा रहेको धाममा नेपाल, भारत, भुटान तथा तेश्रो देशका पर्यटक आउने गरेका छन् ।

झापाको उत्तरी गाविस खुदुनावारीस्थित साधुटार, जिल्लाको मध्यभागबाट बग्ने कनकाई माई नदी, डाँगीबारीस्थित कञ्चनगढ, शान्तिनगरस्थित बर्ने चिया बगानलगायतका पर्यटकीयस्थल पछिल्लो समय पर्यटकले सर्वाधिक रुचाएका ठाउँ हुन् ।

त्यसैगरी, तोपगाछीस्थित समयगढ, शहीद स्मारक सुखानी पार्क, झापा र इलामको सीमानामा पर्ने सुनमाई झापाको चिनारी हुन् ।
यी पर्यटकीयस्थलको संरक्षण, प्रचार र यी क्षेत्रमा पूर्वाधारको विकास गर्न सकेमा गर्न सके आर्य आर्जनसँगै कला संस्कृतिको उत्पादन र व्यापार अन्तरराष्ट्रियस्तरसम्म पुग्ने ट्राभल्स एशोसिएसन झापाका अध्यक्ष शङ्कर भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: