हिरो बन्ने होइन, मानवीयता देखाउने बेला हो

  प्रकाशित मिति
४ जेष्ठ २०७७, आईतवार ०९:२३


।। बिष्णुप्रसाद रिमाल ।।

देशले पचपन्नऔं दिनको लकडाउन बेहोरिसकेको छ । पछिल्लोपटक थपिएको लकडाउनको म्याद सकिनै लाग्दा सङ्क्रमण बढेसँगै सरकारले पुनः लकडाउनको म्याद थप्ने निश्चितप्रायः नै रहेकोले एउटा सचेत नागरिकको हैसियतले सरकारलाई तपसिल बमोजिम सुझाव पेस गर्न चाहन्छु ।

सरकारले आगामी पन्ध्र दिनसम्म एकैपटक कडा लकडाउन गर्न जरुरी छ, जसकारण जनताले एकखालको मानसिकता बनाउँछन् । यसबीचमा अहिलेसम्म सङ्क्रमित देखिएकालाई अत्यन्तै राम्रो व्यबस्थापन गरौ । सङ्क्रमणको सम्भावना भएको ठाउँका प्रत्येक ब्यक्तिको परीक्षण गरांै, जसकारण परीक्षणको दायरा कम हुँदा भोलिको स्थिति झन् भयावह हुने हो कि भन्ने जनमानसमा रहेको शङ्का दूर हुन जान्छ । सङ्क्रमणको उच्च जोखिममा रहेका बारा पर्सा जस्ता ठाउँलाई पूर्णतयाः शिल गरांै । उक्त स्थानबाट बाहिरिन भित्रिन प्रतिबन्ध लगाऔं ।

तीन सय नजिक सङ्क्रमित देखिइसक्दा एक जनाको हिजो मृत्यु भयो । मृत्युदर कम हुनु नेपाल र नेपालीको लागि अत्यन्तै सकारात्मक पक्ष भएकोले नेपाल जस्तो देशले भ्याक्सिन बनाउन नसके पनि कसरी सङ्क्रमण कम गर्न सकिन्छ भन्ने बारेमा बैज्ञानिक अनुसन्धान गरौ । परीक्षण सफल भएमा विश्वभरिनै वाहावाही पाउन सक्छ देशले ।

लकडाउनको समयमा एम्बुलेन्स, सुरक्षाकर्मी र अत्यावश्यक बस्तुका गाडी मात्र गुड्न दिऔं । लकडाउनले गर्दा सडक खाली हुने र मानिसको आवतजावत कम हुने भएकोले सुरक्षा प्रबन्ध मिलाएर सडक र अन्य ठूला निर्माणको कामलाई तीब्रता दिआंै ।

खाद्य सामान खरिदको लागि देशैभरी ०८ देखि ११ बजेसम्मको समय निर्धारण गरौं । उक्त समय बाहेक कुनै पनि पसल खोल्न नदिउँ । बैङ्क वा बित्तीय संस्थालाई रोटेसनको आधारमा निश्चित समयमा मात्र कारोबार गर्न दिऔं । बैङ्कको नाममा समेत आवतजावतको क्रम बढेको हो । गरिबसँग बैङ्कमा पैसा हँुदैन धनीलाई खाँचो हँुदैन । त्यसैले बैङ्कलाई पनि निश्चित समयमा मात्र कारोबार गर्न दिनु उचित हुनेछ ।

सदैव पहिलो लाइनमा रहेर जनतालाई सुसूचित गराउने पत्रकारलाई पनि कारण खोजेर मात्र आवतजावत गर्न दिअांै । मोफसलका पत्रकारहरुलाई कोरोना सङ्क्रमणदेखि बाहेकको समाचार सङ्कलन गर्न नजान आग्रह गरौं । जानैपर्ने हुँदा स्वास्थ्य सुरक्षा अपनाएर मात्र हिँड्न दिआंै । कतिपय पत्रकारहरु आवश्यकताले भन्दा पनि पहेँलो ज्याकेट लाउने रहर र पत्रकारको पासमा हिड्ने रहरका कारण उनीहरुबाट सङ्क्रमण फैलिने सम्भावना उत्तिकै देखिन्छ ।

भिआइपीका नाममा हुने भिडभाड अन्त्य गरांै । रोगले ठूलो सानो चिन्दैन । राहत बितरण एकद्वार प्रणालीबाट मात्र गरौं । नगर वा वडाले राहत बितरण गर्दा स्वास्थ्य सुरक्षा अपनाएर मात्र बितरण गरौं । विभिन्न समूहका नाममा हुने राहत बितरण तत्काल रोकौं । राहत बितरणका नाममा बेपर्वाह गाडीमा हिँड्न दिएको पास खारेज गरौं । हिरो हुने र चर्चा कमाउने समय हैन यो ।

नगरले मात्र राहत वितरण गर्न कठिन भएको खण्डमा १ वा २ वटा समूहलाइ मात्र राहत बितरण सहयोगको लागि आग्रह गरौं । उनीहरुले समेत राहत बितरण गर्दा स्वास्थ्य सुरक्षा अपनाएर मात्र वितरण गर्न निर्देशन दिऔ । कसैलाई राहत सहयोग गर्न इच्छा भए वडा वा नगरमा जम्मा गर्न आग्रह गरौं । वास्तविक गरिब पहिचान गरेर मात्र राहत बितरण गरौं । दैनिक ज्याला मजदुरी गर्ने प्रत्येक परिवारलाई राहत बितरण गरौं । अन्यथा दैनिक मजदुरी गर्न एक ठाउँबाट अर्को ठाउँमा आवत जावत गर्दा रोग फैलिने सम्भावना बढ्ने छ । राहतमा राजनीति नगरौं । यो भोट बढाउने बेला हैन जनता बचाउने बेला हो, मानवीयता देखाउने बेला पनि हो । त्यसैगरी चोक चोकमा भेला भएर गफ गर्ने कार्यलाई निरुत्साहित गरौं ।

सिमा नाकालाई कडाई गरौं । सिमाबाट कोइला बोकेका ट्रकहरु भित्रिइरहेको खबर सुन्नमा आएको छ । यदि उक्त ट्रकमा आएका ब्यक्तिबाट सङ्क्रमण फैलिएमा त्यो दोष सिमामा खटिने सुरक्षाकर्मी र निर्देशन दिने अधिकारहरुलाई जानेछ । अतः रोगसँग नाफा नसाटौं । सिमानामा आएर अलपत्र परेका नेपालीलाई देश प्रबेश गराई क्वारेन्टाइनमा राखेर परीक्षण गरौं । सिमानामा आइपुगेर प्रबेश नदिँदा लुकिछिपी प्रबेश गरेका कारण जोखिम बढिरहेको छ । भिजिट भिसामा बिदेश गएर अलपत्र परेकालाई देश भित्राउने बाताबरण बनाउँ ।

हामी सबै नागरिकले घरैमा बसी सरकारलाई सहयोग गरौं । मानिस र राज्यले लामो समयसम्म लकडाउन खेप्न नसक्ने भएकोले १५ दिनपछि भने लकडाउन खोल्ने गरी तयारी गरौं । लकडाउनको पालना गर्नु आफ्नै लागि भएकोले नागरिक, टोल, गाउँ, नगरका प्रतिनिधि, प्रशासन सवैले तदनुकूल आ–आफ्नो कर्तव्य पूरा गरौँ ! आफू अनुकूल लकडाउनलाई प्रयोग नगरौं !!

(लेखक चारआली जेसीजका पूर्व अध्यक्ष एवम् युनिक इङलिश बोर्डिङ स्कुलका प्रिन्सिपल हुन् ।)
[email protected]

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: