हेम सरिता फाउन्डेशनको पुरस्कार घोषणा

  प्रकाशित मिति
२४ जेष्ठ २०७५, बिहीबार ०९:४१


झापा । अमेरिकाको टेक्सासमा रहेको हेम–सरिता फाउन्डेसनले हरेक बर्ष प्रदान गर्ने पत्रकारिता र सङ्गीत पुरस्कारबाट सन् २०१८ मा सम्मानित हुने पत्रकार तथा कलाकर्मीको नाम सार्वजनिक गरेको छ ।

मङ्गलवार सार्वजनिक गरिएको सूचना अनुसार यस बर्ष टङ्कप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासङ्घका पूर्वसभापति तथा खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेलाई पुरस्कृत गरिने भएको छ ।

सम्मानपत्र सहित दुई हजार अमेरिकी डलर रहेको सो पुरस्कारबाट यसअघि जिवेन्द्र सिम्खडा, तीर्थ कोइराला, रविन्द्र मिश्र, हरिबहादुर थापा र राजन शर्मा सम्मानित भइसकेका छन् ।

यसैगरी सम्मानपत्र र पाँचसय अमेरिकी डलर बराबरको रकमसहित प्रदान गरिने टङ्कप्रसाद रमादेवी साधना पुरस्कारबाट नेपाल पत्रकार महासङ्घका पूर्व महासचिव तथा कञ्चनजङ्घा एफएम झापाका प्रबन्ध निर्देशक पत्रकार चन्द्र भण्डारीलाई पुरस्कृत गरिने भएको छ ।

यो पूरस्कारबाट बरिष्ठ पत्रकार राजेश्वर नेपाली, मोहन भण्डारी, मदन ढकाल सम्मानित भइसकेका छन् ।

यस्तै सम्मानपत्र सहितपाँचसय अमेरिकी डलर बराबरको टङ्कप्रसाद रमादेवी प्रोत्साहन पुरस्कार प्रेस चौतारी नेपालकी केन्द्रीय सचिव तथा थाहाखबर डटकमकी सम्वाददाता देविका घर्तिमगरलाई पुरस्कृत गरिने भएको छ ।

यसअघि यो पुरस्कारबाट माधव विद्रोही, लिला बराल, लियाकत अलि सम्मानित भइसकेका छन् ।
यसैगरी यस बर्षको हेम सरिता सङ्गीत पुरस्कार बरिष्ठ कलाकार जेवी टुहुरेलाई प्रदान गरिने भएको छ ।

नेपाली कला र सङ्गीतका माध्यमबाट समाज परिवर्तनका लागि बिशिष्ठ योगदान दिए वापत सम्मानपत्रसहित एक हजार अमेरिकी डलरको यो पुरस्कारबाट यसअघि डा. भोला रिजाल, प्रेमराजा महत, सपनाश्री, वीवी अनुरागी, जीवन शर्मा, कृष्ण कँडेल र नारायण रायमाझी सम्मानित भइसकेका छन् ।

पत्रकारिता पुरस्कार निर्णयका लागि नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइरालाको संयोजक र जिवेन्द्र सिंखडा तथा फाउन्डेसनका प्रतिनिधि रहेको समिति गठन गरिएको थियो भने सङ्गीत पुरस्कारका लागि प्रेमराजा महतको संयोजकत्वमा तीर्थ कोइराला, जिवेन्द्र सिंखडा र फाउन्डेसनका प्रतिनिधि रहेको समिति गठन गरिएको थियो ।

अमेरिकामा रहेर व्यापार व्यवसायमा संलग्न समाजसेवी हेम पाठक र सरिता पाठकले स्थापना गरेको हेम सरिता फाउन्डेसनले काठमाडौंको उत्तरी क्षेत्रमा रहेको घुमारचोक स्थित उग्रतारा माध्यमिक विद्यालयको भवन निर्माणमा सहयोग गरी कक्षा आठ देखि दशसम्म निजी खर्चमा सञ्चालन गर्दै आएको छ भने सोही क्षेत्रमा विपन्नहरुका लागि दश वटा आवास पनिनिर्माण एवम् जीविकोपार्जनका लागि कोष खडा गरी सामाजिक काम गर्दै आएको छ ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: