हेरिरहे, तर बोली फुटेन

  प्रकाशित मिति
१२ कार्तिक २०७३, शुक्रबार १३:०८


pusplal

अर्जुनधारा । दिग्गज धार्मिक व्यक्तित्व एवम् अर्जुनधारा जलेश्वरधामका व्यासाचार्य पुष्पलाल निरौला सात महिनादेखि विरामीले थलिएपछि झापाको धार्मिक जगत चिन्तित भएको छ ।

हरेक महत्वपूर्ण धार्मिक कार्यक्रममा उनको उपस्थिति गरिमामय हुने गथ्र्यो । तर विरामी भए पश्चात व्यासाचार्य निरौला कुनै पनि सार्वजनिक कार्यक्रममा जान सकेका छैनन् ।

निरौला सनातन धर्म सेवा समितिका केन्द्रीय उपाध्यक्ष मात्र नभएर महर्षी फाउन्डेसनका कुलपति समेत रहेका छन् । धार्मिक क्षेत्रका कुनै पनि विषयमा उनी जिल्लाकै निर्णायक व्यक्तित्व थिए । उनले दर्जनौँ गुरुकुल विद्यालय स्थापना गरेका छन् भने उनीद्वारा दीक्षित सयौँ शिष्यहरू उच्च ओहोदामा पुगिसकेका छन् ।

वुधवार पूर्वको पशुपतिनाथ भनेर चिनिएको अर्जुनधारा जलेश्वरधाम पुग्दा पुष्पलाल गुरुको अनुपस्थितिले निकै खल्लो तुल्यायो । धाम समितिले आगामी बालाचतुर्दशीमा आयोजना गर्ने धार्मिक अनुष्ठानका बारेमा जानकारी दिन पत्रकार सम्मेलन गरेको थियो ।

सम्मेलनमा धामका अध्यक्ष नवीन गट्टानी, महासचिव विष्णु निरौला, दिपक तामाङ लगायत समितिका अधिकांश पदाधिकारीको उपस्थिति थियो । तर अस्वस्थ भएकै कारण पुष्पलाल गुरु सम्मेलनमा आउन सकेनन् । पत्रकारहरूले उनको स्वास्थ्य अवस्था, उपचार र बालाचतुर्दशी कार्यक्रममा सहभागिता बारेमा समिति समक्ष जिज्ञासा राखे ।

समितिका अध्यक्ष गट्टानीले अस्वस्थताका कारण पुष्पलाल गुरुले यसपटक कथावाचन नगर्ने जनाउ दिदा पत्रकारहरू पनि भावुक बनेका थिए । उद्घाटन अवसरमा गुरुको स्वास्थ्यलाभको कामना गरिने र विशेष सम्मानका लागि केही क्षण भए पनि धाममा उनलाई ल्याइने अध्यक्ष गट्टानीले बताए ।

अर्जुनधारा धामलाई आजको अवस्थामा ल्याउन व्यासाचार्य पुष्पलाल निरौला र स्व. वृजमोहन गट्टानीको सर्वाधिक योगदान रहेको छ । अहिले धामका अध्यक्ष नवीन उनै वृजमोहनका छोरा हुन् ।

२०४१ सालदेखि धाममा अठार महापुराणको वाचन गर्न थालिएको थियो । वार्षिक अनुष्ठानका सिलसिलामा वालाचतुर्दशीमा अठार वटै महापुराणको कथावाचन व्यासाचार्य निरौलाले सम्पन्न गरिसकेका छन् । यसपटक ३४ औँ वार्षिक अनुष्ठान आयोजना हुँदा पहिलोपल्ट कथावाचन गर्न व्यासाचार्य निरौला असमर्थ भएका छन् ।

व्यासाचार्य निरौला मस्तिष्कमा ट्युमर पलाएका कारण गम्भीर विरामी परेका हुन् । उनलाई विरामीले ग्रस्त पारेको पहिलोपल्ट २०७२ चैतमा पत्तो लागेको थियो । लगत्तै चैत २७ गते विर्तामोडको वीएन्डसी हस्पिटलमा न्यूरोलोजिस्ट डा. चन्द्रप्रकाश लिम्बुले उनको ट्युमर अपरेशन गरेर फ्याँकेका थिए ।

उपचारकै सिलसिलामा निरौलालाई भारतको हरिद्वारस्थित पतञ्जलि हस्पिटल र काठमाडौँको अन्नपूर्ण न्यूरो हस्पिटल लगियो । भक्तपुर हस्पिटलमा रेडियो विकिरणद्वारा उपचार गरेर हाल उनलाई शनिअर्जुन–२ स्थित निजी निवासमै वेडरेस्टमा राखिएको छ ।

पत्रकारहरूको टोली वुधवार निवास पुग्दा व्यासाचार्य निरौला ओछ्यानमा आराम गरिरहेका थिए । उनले नमस्तेको अभिवादन फर्काए पनि आवाज भने निकाल्न सकेनन् । उनले टुलुटुलु हेरे, पत्रकारहरूलाई चिने, तर बोली फुटेन ।

उनको स्याहार सुसारमा गुरुकी पत्नी इन्द्रलक्ष्मी निरौला र छोरावुहारी खटिएका छन् । खाना खुवाउन, ह्वीलचियरमा हिड्न र ट्वाइलेट जान उनलाई सहारा चाहिन्छ । उनी दालभात राम्ररी खान सक्ने भएका छन् । ओछ्यानमा कोल्टे फेर्न भने सहारा चाहिने भएको छ ।

व्यासाचार्य निरौलाले स्वास्थ्यलाभको कामना गर्ने र उपचारमा संलग्न सबैलाई इसाराका आधारमा आभार व्यक्त गरेका छन् । हाल वीएन्डसी हस्पिटलका डा. चन्द्रप्रकाश लिम्बु र डा. हेमन्त राठीले उनको आवश्यक हेरचाह गरिरहेका छन् । उनी चाँडोभन्दा चाँडो स्वास्थ्यलाभ गरी धाममा फर्किएको हेर्न उनका हजारौँ शुभचिन्तक व्यग्र छन् । यसका लागि प्रार्थना समेत गरिरहेका छन् । हामी पनि उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: