चारआली, २४ चैत । । के तपाइँ हेल्मेट लगाउनु अघि राम्ररी चेक गर्नु हुन्छ ? हुँदैन भने आजैदेखि राम्ररी चेक गरेर मात्र हेल्मेट प्रयोग गर्ने बानी बसालौँ । हेल्मेटको बाहिरी अवस्था, सिसा र फित्ता मात्र चेक गरेर अब पुग्दैन । हेल्मेटभित्र केही खतरनाक कीराकीरी लुकेका छन् कि भनेर पनि अब होशियारी अपनाउनु पर्ने भएको छ ।
किनकि, बुधवारे–५ गैरीगाउँका २१ वर्षीय विप्लव (रुसल) पाठकले लगाएको हेल्मेटभित्र सोमवार सर्प फेला परेको छ । घरको भुइँ तलाको कुनामा बेन्चमुनि राखिएको हेल्मेटमा सर्प घुस्रिएको बारेमा बेखवर विप्लवले करीव ५ मिनेट मोटरसाइकल कुदाएर साथीलाई पालो फेर्न खोज्दा हेल्मेटभित्रबाट सर्प झरेको थियो ।
साथीलाई हेल्मेट थमाउने व्रmममा सर्प फेला परेपछि अत्तालिएका विप्लवलाई आफु सर्पको डसाइमा परेको जस्तो लाग्यो । एकैछिनमा असिनपसिन भएका उनलाई टाउको दुख्न थाल्यो । शरीर लुलो हुन थाल्यो । मुटुको धड्कन बढ्न थाल्यो ।
‘छोरालाई सर्पले डसेको शङ्का लागेपछि तत्कालै चारआलीको सर्पदंश उपचार केन्द्र लग्यौँ’, विप्लवकी आमा नर्वदा पाठकले लोकतन्त्रसँग भनिन्–‘हेल्मेटबाट सर्प निस्कियो भनेपछि म ज्यादै डराएँ ।’
सौभाग्ववश विप्लवलाई सर्पले डसेको थिएन । त्यो सर्प विषालु प्रजातिको पनि थिएन । आत्तिएरै उनी सिकिस्त भएको चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा कार्यरत नेपाली सेनाको कालीबहादुर गणका प्राविधिक उमेश मिश्रले बताए ।
‘यहाँ विप्लवलाई ल्याइपुर्याउँदा ज्यादै आत्तिनु भएको थियो’, सेनाका प्राविधिक मिश्रले भने–‘उहाँको व्लड प्रेसर हाई भएर १४० पुगेको थियो, मुख सुकेको थियो, सर्पले डसेकै हो कि जस्तो लाग्ने अवस्था थियो ।’
उपचारका लागि चारआली ल्याइएका विप्लवसँगै उनको हेल्मेटमा फेला परेको सर्प पनि मारेर ल्याइएको थियो । करेत भनेर शङ्का गरिएको त्यो सर्प अरु नै जातिको भएको सेनाका प्राविधिक मिश्रले बताए ।
सर्पको आनीबानी सम्बन्धी जानकार प्राविधिक मिश्रका अनुसार चिसो रगत भएको सर्प जातीय स्वभाव बमोजिम न्यानो खोज्दै परालको माच, ओछ्यान, व्याग र जुत्ता आदिमा बस्न रुचाउँछ । त्यस्तो बेला होशियारी अपनाइन भने मान्छेको जीवन जोखिममा पर्न सक्छ ।
विप्लव अहिले घर फर्किसकेका छन् । उपचार केन्द्रबाट फर्केपछि उनी भन्छन्–‘हेल्मेटमा पनि सर्प घुस्रिदो रहेछ, अबदेखि सँधै होशियारी अपनाउँछु ।’