झापा, २१ कार्तिक । आइपिएल क्रिकेटको एलिमिनेटर खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ ।
यो खेलमा विजयी हुने टिमले फाइनल प्रवेशका लागि दिल्ली क्यापिटल्सको सामना गर्नेछ ।
बैंगलोरले पछिल्ला चार खेल लगातार हारेको छ । हैदराबादले भने लगातार तीन खेल जितेको छ । उसले अन्तिम खेलमा शीर्षस्थानमा रहेको मुम्बई इन्डियन्सलाई १० विकेटले हराएर प्ले अफमा स्थान बनाएको थियो ।
आइपिएलमा हैदराबाद र बैंगलोर हालसम्म १६ पटक भिडेका छन् जसमा हैदराबादले ९ जित र ७ हार ब्यहोरेको छ ।
बैंग्लोर विराट कोहलीको कप्तानीमा छ । टोलीमा एबी डे भिलियर्स, क्रिस मोरिस, देवदुत पडिक्कललगायत विस्फोटक ब्याट्सम्यान छन् । यसअघि तीनपटक फाइनल पुगेको बैंग्लोरले हालसम्म प्रतियोगिताको उपाधि जित्न सकेको छैन ।
डेभिड वार्नरको कप्तानीमा रहेको हैदराबादमा मनिष पाण्डे, केन विलियम्सन, रसिद खान, जेसन होल्डरजस्ता भरपर्दा खेलाडी छन् । हैदराबाद सन् २०१६ को आइपिएल संस्करण विजेता हो । त्यतिबेला उसले फाइनलमा बैंग्लोरलाई नै हराएको थियो ।
मुम्बई यो सिजन फाइनल पुगिसकेको छ । मुम्बईले बिहीबार राति भएको पहिलो क्वालिफायरमा दिल्लीलाई हराएको थियो ।