मेचीनगर, १० साउन । मेचीनगरको होटल क्वारेन्टाइन बसेका एक दम्पत्तिमध्ये पत्नीमा कोभिड –१९ को सङ्क्रमण पुष्टि भएको छ ।
दश दिन अघि भारतबाट आएर मेचीनगर–१० धुलावारीको होटल क्वारेन्टाइन (रोयल निर्वाण)को एउटा कोठामा उनीहरु बसेका थिए ।
एउटै कोठामा बसेकामध्ये पत्नीमा मात्र कोरोना सङ्क्रमण देखिएको हो । उनका पतिमा कोरोना नदेखिएको मेचीनगर नगरपालिका सामाजिक विकास समितिका संयोजक नविन बरालले बताए ।
उनीहरुको स्वाव परीक्षण धरानमा गरिएको थियो । पतिमा कोरोना नभएको रिपोर्ट शुक्रवार नै आएको थियो भने पत्नीमा कोरोना सङ्क्रमण रहेको रिपोर्ट आज मात्र आएको हो ।
कोरोना पुष्टि भएकी महिलालाई उपचारका लागि गोठगाउँको कोभिड हस्पिटल लगिएको छ भने कोरोना नेगेटिभ रिपोर्ट पाइसकेका उनका पतिलाई पुनः क्वारेन्टाइनमै राखिएको बरालले बताए ।
फेरि एकपटक स्वाव परीक्षण गरिने भएकाले पतिलाई क्वारेन्टाइनमै राखिएको उनको भनाई छ ।
सो होटलका अरु कोठामा थुप्रै व्यक्तिहरु क्वारेन्टाइन बसेका छन् । तर सबै जना अलग अलग कोठामा बसेका कारण अरुमा त्यसको प्रभाव नपर्ने बराल बताउँछन् ।
कोरोना सङ्क्रमित पुष्टि भएका दम्पत्ति बसेको कोठालाई निसङ्क्रमित गरिएको बताइएको छ ।