‘होटल निर्माण प्रक्रिया रोक्छौँ’

  प्रकाशित मिति
८ आश्विन २०७५, सोमबार ०९:२३


मेचीनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दल मेचीनगरले धुलाबारी उत्तर तर्फको प्लटिङ गरिएको जमिनमा होटल बन्ने प्रक्रियालाई तत्काल रोक्ने जनाएको छ ।

नेकपा संसदीय दलले आइतबार पत्रकार सम्मेलन गरी पछिल्ला दिनमा धुलाबारीको प्लटिङको जग्गामा बन्न लागेको होटलका विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै नगरपालिकाको मापदण्ड विपरीत खुला स्थान छोड्नु पर्ने जग्गामा नै होटल बनाउने प्रस्तावको प्रक्रिया आगामी कार्यपालिकाको बैठकबाट अगाडि नबढाउने विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

नेकपा मेचीनगरको संसदीय दलका नेता तथा नगर उप–प्रमुख मीना उप्रेतीले महत्वपूर्ण विषयमा नगर प्रमुखले आफुलाई थाहै नदिई प्रक्रिया अगाडि बढाएकाले समस्या भएको पत्रकार सम्मेलनमा बताइन् ।

धुलाबारीको जग्गाका विषयमा उठेको सबै विषय नगरपालिकाको कार्यपालिका बैठकबाट टुङ्गो लगाउने र छानविन प्रक्रिया अगाडि बढाई प्राप्त यथार्थ विवरणका आधारमा कानुनी उपचारको विधि अवलम्वन गरिने समेत पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्ति मार्फत प्रतिबद्धता जनाइएको छ ।

पत्रकार सम्मेलनमा नगर कार्यपालिका सदस्य टिकाराम मङ्ग्रातीले धुलाबारीको जग्गा प्रकरण रहस्यमय भएकाले यसको खोजी गरिने र दोषीमाथि कानुनी प्रक्रिया अवलम्बन गरिने बताए ।

त्यस्तै, अर्का कार्यपालिका सदस्य कृष्ण कनालले जग्गाधनीले सुरुमा नगरपालिकामा प्लटिङ नक्सा पासका लागि पेश गर्दा मापदण्ड नमिलेकाले फिर्ता गरिएको र पछि मापदण्ड अनुसार नक्सा संशोधन गरेर आएपछि स्वीकृत गरिएको भएपनि त्यस पछिको प्रक्रियाका बारेमा कार्यपालिकामा छलफल नभएकाले समस्या आएको बताए ।

नेकपा मेचीनगर संसदीय दलका नेता तथा उपप्रमुख उप्रेती र उपनेता तथा कार्यपालिका सदस्य टिकाराम मङ्ग्रातीले संयुक्त हस्ताक्षर गरेको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘स्थानीय तहको निर्णयलाई नजर अन्दाज गरी मालपोत कार्यालयबाट अंशवण्डा पास भएको जानकारी प्राप्त भएको भनी नगर प्रमुखले कार्यपालिकामा कुनै छलफल वा निर्णय नगराई होटलको भवनको नक्सा स्वीकृति प्रक्रिया अगाडि बढाइएको विषय जानकारी भएकोप्रति मेचीनगर नगरपालिका नेकपा संसदीय दल आश्चर्य प्रकट गर्दछ ।’

मेचीनगर वडा नं १० धुलाबारी चोक उत्तर तर्फको प्लटिङ गरिएको जग्गामा खुला स्थान भनेर छोडिएको जग्गामा अंशबण्डा पास गरी होटल बनाउन जग्गाधनीले नगरपालिकाबाट नक्सा स्वीकृतिको प्रक्रिया अगाडि बढाएपछि यो विषय विवादित बनेको छ ।

यसमा नगरका राजनीतिक दलहरु समेत ध्रुवीकरण भएका छन् भने जनप्रतिनिधिहरु समेत एक आपसमा खनिएका छन् ।

यसै विषयमा नेकपा मेचीनगरले नगरपालिकामा ज्ञापनपत्र बुझाइसकेको छ । यता, नगर प्रमुख विमल आचार्यले पत्रकार सम्मेलन गरेर यस विषयमा भए गरेका काम कारवाहीको जानकारी सार्वजनिक गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: