होटल व्यवसायमै फर्किइन् सभासद् उषा

  प्रकाशित मिति
३० भाद्र २०७५, शनिबार १३:०२


मेचीनगर । संविधानसभा सभा सदस्य उषा गुरुङ एक दशक लामो राजनीतिक व्यस्ततापछि होटल व्यवसायमै फर्किएकी छन् ।

झापाबाट २०६४ र २०७० मा नेपाली काङ्ग्रेसको तर्फबाट समानुपातिक सिटमा संविधान सभा सदस्य निर्वाचित गुरुङ पार्टीको वत्र्तमान महासमिति सदस्य समेत हुन् ।

शुक्रवार काँकरभिट्टामा पत्रकार सम्मेलन गरी संविधान सभा सदस्य गुरुङले आफु पुरानै पेशामा फर्किएको घोषणा गरिन् ।

उनले काँकरभिट्टाको बाहुनडाँगी रोडमा पर्यटक स्तरको आधुनिक सुविधा सम्पन्न ‘ग्रीन प्यालेस’ सञ्चालनमा ल्याएको बताइन् ।

यही असोज १ गते होटल ‘ग्रीन प्यालेस’ उद्घाटन हुने भएको छ ।
संविधान सभा सदस्य निर्वाचित हुनु अघि उनी काँकरभिट्टामै होटल ढाकाकी सञ्चालक थिइन् ।

‘म जुन पेशाबाट संविधान सभा सदस्य जस्तो गरिमामय पदसम्म पुगेँ’, पत्रकार सम्मेलनमा उनले भनिन्–‘संविधान लेख्ने जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेपछि फेरि त्यही पेशामा फर्किन पाउँदा गर्व अनुभूति भइरहेको छ ।’

उनले राजनीति गरेको र ठूलो ओहोदामा पुगेको व्यक्ति आवधिक जिम्मेवारी पूरा गरेपश्चात आफ्नै पेशमा फर्किने विश्वभरि प्रचलन रहेको समेत सुनाइन् ।

डेनमार्कका एक जना मन्त्री पदबाट हटेपछि कार्पेन्टर पेशमा फर्किएको र अमेरिकी राष्ट्रपति बाराक ओबामा शिक्षण पेशामा फर्किएको समेत उनले उदाहरण प्रस्तुत गरिन् ।

उनले सञ्चालनमा ल्याउने ग्रीन प्यालेस होटल काँकरभिट्टाका अन्य होटलभन्दा भिन्न र नयाँ विशेषतासहितको हुने बताउँदै खानेकुरा अग्र्यानिक हुने र सफा सुग्घरमा पहिलो प्राथमिकता रहने बताएकी छन् ।

होटलमा १० कोठा भएको आकर्षक लज सुविधा रहेको र भेज तथा ननभेज खाना बनाउने किचन नै फरक रहेको उनको भनाई छ ।

होटलमा स्वीमिङ पुल बनाउने, चिल्ड्र«ेन पार्क बनाउने र सातामा ३ पटक कला संस्कृति झल्किने प्रस्तुति राखिने उनले जानकारी दिएकी छन् ।

होटलमा खेलकुद पारखीका लागि विश्वभरि भइरहेको जुनसुकै फुटबल, क्रिक्रेट लगायतका प्रतिष्पर्धाको लाइभ हेर्ने व्यवस्था मिलाइने र उपभोक्ताले स्तर एवम् सुविधाका हिसावले अन्य होटलभन्दा सस्तोमा खान र बस्न सक्ने उनले जानकारी दिइन् ।

ग्रीन प्यालेसमा फराकिलो पार्किङ सुविधा रहेको छ भने नान लगायतका कतिपय परिकारका लागि स्पेशल कुकको व्यवस्था मिलाइएको उनको भनाई थियो ।

चिकेन परिकारका पारखीहरुका लागि होटलकै आग्रहमा बाहुनडाँगी र शान्तिनगरमा लोकल कुखुरा पाल्न लगाइएको र सागसब्जी समेत गाउँमा उतपादित अग्र्यानिक हुने उनले बताएकी छन् ।

‘हामी सकभर भारतबाट सब्जी किनेर ल्याउने पक्षमा छैनौँ’, उनले भनिन्–‘हाम्रै किसानहरुले उत्पादन गरेको बस्तुलाई खरिद गरेर परिकार बनाउने छौँ ।’

पत्रकारहरुले सोधेको एक प्रश्नको जवाफ दिदै संविधान सभा सदस्य गुरुङले राजनीतिबाट टाढिएको नठानिदिन समेत आग्रह गरिन् ।

आगामी मङ्सिरमा हुने महासमिति बैठकमा सक्रिय भूमिका खेल्ने र महाधिवेशनमा समेत आफ्नो भूमिका रहने उनले बताइन् ।

महाधिवेशनमा कस्तो भूमिका रहने भन्ने उनले खुलाएकी छैनन् ।

‘म आफ्नो पेशमा फर्किएको अवश्य हो’, उनको भनाई थियो–‘यसलाई राजनीतिबाट टाढा भएको नठानिदिनु होला ।’

ग्रीन प्यालेसको मेनेजिङ डाइरेक्टर रहेकी उनले होटल सञ्चालनका लागि बैङ्कबाट बहिनी बिटु गुरुङसँग मिलेर जनही २ करोड ऋण लिएको जानकारी दिएकी छन् । होटलमा ३ करोड लगानी हुने बताइएको छ ।

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: