मेचीनगर । भारतबाट सीमा नाका मेचीपुलमा आएका नेपाली महिलाहरुलाई ‘न्यानो सहयोग’ले बुधबारदेखि स्यानिटरी प्याड वितरण गर्न शुरु गरेको छ ।
काँकरभिट्टा रोट्याक्ट क्लब र रोट्याक्ट क्लब अफ बिर्तामोड मिडटाउनको संयुक्त अगुवाईमा ‘न्यानो सहयोग’ले उनीहरुका लागि स्यानिटरी प्याड वितरण गरेको हो ।
नेपाली सेनाको नयाँ श्रीनाथ गण चारआली, मेचीनगर र स्वास्थ्य कार्यालय झापाको संयुक्त टोलीले काँकरभिट्टाको मैदानमा भारतमा कोरोनाको अति जोखिम जिल्लाबाट आउने नेपाली नागरिकहरुको आरडीटी परीक्षण गरिरहेको छ ।
आरडीटी परीक्षणका क्रममा होल्डिङ स्किनिङ सेन्टरमा रहेका महिलाहरुलाई ‘न्यानो सहयोग’ का स्वयम सेवकहरुले स्यानिटरी प्याड दिन शुरु गरेको काँकरभिट्टा रोट्याक्ट क्लबका अध्यक्ष बिमर्श श्रेष्ठले बताए ।
स्वयम सेवकहरुले स्यानिटरी प्याडसहित कोरोनाको जोखिमबाट बच्ने उपायका बारेको प्रचार सामग्रीसमेत वितरण गरेका छन् ।
त्यसैगरी ‘न्यानो सहयोग’ले सेन्टरमा रहेका उनीहरुको सुविधाका लागि वाईफाई फ्रि गरिदिएको क्लबका सल्लाहकार सुजन प्रधानले जानकारी दिए ।
एक जना व्यक्ति बराबर ९० मिनेटसम्म कुराकानी गर्ने गरी वल्ड लिंकको सहयोगमा इन्टरनेटको वाईफाई फ्रि गरिदिएको उनले बताए । विहीबारदेखि चार्जीङ बोर्ड समेत राखिदिने क्लबले जनाएको छ ।
आरडीटी परीक्षण हुन्जेलसम्म सेन्टरमा बसेका नेपाली नागरिकहरुका लागि स्यानिटरी प्याड र वाईफाई फ्रि हुने ‘न्यानो सहयोग’का संयोजक सन्नी गोयलले बताए ।
मेचीनगर र बिर्तामोड नगरका क्वारेन्टाइमा बसेका महिलाहरुका लागि स्यानिटरी प्याड वितरण गर्ने योजना रहेको गोयलको भनाई छ ।
।। अर्जुन कार्की ।।