होस गुम भएको काङ्ग्रेस

  प्रकाशित मिति
८ पुष २०७४, शनिबार ११:०५


एकीकरण गर्ने निर्णय गरेपछि देशको दक्षिणपन्थी राजनीतिक जगतमा ठुलै भैँचालो गयो । काङ्ग्रेसका नेताहरुको सातोपुत्लो गयो, होसहवास गुम भयो । त्यसै पनि अत्तालिने, झन्किने नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले त संयम नै पुरापुर गुमाएका छन् ।

………………….
नेपालको संविधान–२०७२ अनुसार नेपालमा स्थानीय निकाय, प्रदेश सभा तथा प्रतिनिधि सभाको चुनाव सम्पन्न भइसकेको छ । सम्पूर्ण मत गणना सकिइसकेको छ । स्थानीय निकायको निर्वाचनमा नेकपा (एमाले) सबैभन्दा ठुलो, नेका दोस्रो र माओवादी केन्द्र तेस्रो ठुलो दल भएको जगजाहेर भइसकेको छ । प्रतिनिधि सभाको चुनावको परिणाम अनुसार वामगठबन्धनको पक्षमा २७५ स्थानमध्ये १७४ स्थानभन्दा बढी, दुई तिहाइभन्दा अलिकति कम सिट प्राप्त भएको छ भने प्रदेश नं २ बाहेक अन्य प्रदेशका प्रदेशसभामा वाम गठबन्धनको सहज बहुमत सिट प्राप्त भएको छ ।
मङ्सिर १० र २१ गते दुई चरणमा भएको चुनावका परिदृश्य हेर्ने हो र चुनावको परिणामपछि आजसम्मको दलहरुको बोलव्यवहार हेर्ने हो भने नेपाली राजनीतिको दृश्य रोमाञ्चक र जिब्रो टोक्नुपर्ने जस्तो छ । एमाले र माओवादी केन्द्रले निर्वाचनको पूर्वसन्ध्यामा दुनियाँलाई चकित पार्दै गठबन्धन गर्ने र निर्वाचनपछि पार्टी एकीकरण गर्ने निर्णय गरेपछि देशको दक्षिणपन्थी राजनीतिक जगतमा ठुलै भैँचालो गयो र त्यसका पराकम्पहरु अद्यापि गइरहेका छन् ।

अचानकको भैँचालको यो गम्भीर धक्काले सबैभन्दा बढी नेपाली काङ्ग्रेसका नेताहरुको सातोपुत्लो गयो, होसहवास गुम भयो । त्यसै पनि अत्तालिने, झन्किने नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले त संयम नै पुरापुर गुमाएका छन्, अझै होसमा नआएका झैँ लाग्छ । नेपाली काङ्ग्रेसका युवा नेताहरु विश्वप्रकाश शर्माहरु, चन्द्र भण्डारीहरु लोकतन्त्रको ग्लेमर नै जित्नु र हार्नु हो भनेर प्रतिपक्षी विजयीसँग बडो सहजतापूर्वक प्रस्तुत हुँदै बधाइ दिने, माला लगाइदिने, कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न शुभकामना दिने गर्दैछन् । उता उनका पार्टी सभापति शेरबहादुर देउवा भने आज पुस ६ गतेको खबरडबली अनलाइन खवरमा भने अनुसार अब सर्वोच्च अदालतमा निर्वाचन आयोगबाट समानुपातिकको नतिजा रोक्न रिट हाल्ने, नतिजा प्रकाशन भइहालेमा त्यो नतिजा अस्वीकार गर्ने, सरकारबाट कदाचित नहट्ने र अन्य दलहरुसँग कुनै सम्वाद पनि गर्दै नगर्ने भएका छन् । यस परिप्रेक्ष्यमा युवा नेताहरुको त्यो लचिलोपन र त्यो लोकतान्त्रिक आचार नेपाली काङ्ग्रेसको नेतृत्व जगतमा वडो व्यङ्ग्य जस्तो, स्वाङ जस्तो बुझिन थालेको छ ।

शेरबहादुर देउवाहरु, खाँडहरु, निधी र महतहरु, मोहन बस्नेतहरु अस्तिदेखि भनिरहेका थिए–‘वाम गठबन्धनको बहुमत आएमा तानाशाही व्यवस्था लाद्नेछन्, फेरि चुनाव हुने छैन, रुन पनि पाइने छैन आदि इत्यादि । अहिले पनि त्यही भाषा बोलिरहेका छन् । के यो ‘कागले काग काग भन्छ’ भनेकै हो कि यथार्थ के हो ? अहिले गम्भीर प्रश्न उठेको छ ।

देउवाले निर्वाचनमा जित हासिल गर्नका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको त आबरु लिएकै हुन् । कर्मचारी सरुवा गर्न नपाइने, मन्त्री हेरफेर गर्न नपाइने, राज्यको बजेटको दुरुप्रयोग गरेर मतदाता प्रभावित गर्न नपाइने आदिइत्यादि कुराहरुको अर्थ त के भयोभयो ! निर्वाचन आयोगका सचिव नै सरुवा भए, निर्वाचनका ४ दिन अगाडि सिडिओहरु साराफेर भए, प्रहरी अधिकृतहरु साराफेरा भए । निर्वाचन आयोगले सरकारको तर्फबाट आचारसंहिता उल्लङ्घन भयो भन्दाभन्दै देउवाले त “म अझै त्यसो गर्छु !” भनेर उत्तरा गरे । सायद, ‘कम्निस्टले जित्छन् र ‘तानाशाही’ व्यवस्था ल्याउँछन्’ भनेर त्यो छेक्न कल, छल, बल गरेर रोक्न खोजेका हुनन् ! आज त उनको त्यो ‘कल, छल, बल’ लाई पनि जनताको अपार मतले छेरभालू पारेको देखियो ।

यति हुँदा पनि नेपाली काङ्ग्रेसका यी सभापति हेन्स एन्डर्सनको ‘नयाँ लुगाको सोखी बादशह’ नाङ्गिए जस्तो नाङ्गिई सकेर पनि बडो एकोहोरिएर प्रजातन्त्रको लुगाभित्र भएको अभिनय गर्दैछन् । जनमतको कुरा गर्नेहरु, व्यालेटको महत्त्वको बखानमा लामालामा भाषण गर्नेहरु व्यालेटबाट शोषणको राइँदाइँ गुम्न आँट्ता कसरी लिचड बन्दा रहेछन् ! कसरी लबरचट्टु भएर थेत्तरा बन्दा रहेछन् ! नेपालको वर्तमानका नेपाली काङ्ग्रेसका नेताहरुको चालव्यवहार हेरेर बुझे हुन्छ, रेकर्ड गरे हुन्छ । यो इतिहासमा काम लाग्ने अमूल्य सम्पत्ति हुनेछ ।

धेरै वामपन्थी मतदाताहरुलाई, वामपार्टीका हितैषीहरुलाई अहिलेको यस स्थितिले दुःखित पारिरहेको होला, तर यो स्वभाविक हो, बुर्जुवाहरु आफ्नो रजाइँ सजिलै त्याग्दैनन् । त्यो रजाइँ कायम राख्न अनेक झेल गर्छन्, गेजु गर्छन्, बखेडा झिक्छन्, कानुन केलाए झैँ गर्छन् । छन् अदालतमा ‘विश्वनाथ उपाध्याय’ भने त्यहाँ जान्छन् । हिन्दीमा एउटा उखान छ ‘डुब्ने बेलामा त्यान्द्राको सहारा पनि खोजिन्छ’ खोज्छन् । त्यति मात्र हो र ! अहिले आफ्ना लाङ्ग्रीहरुलाई करोडौँ करोड रुपैयाँ राज्यकोषबाट बाँड्दै गरेको पनि समाचारहरु बोल्दैछन् । आफ्ना हुक्केबैठकेहरुलाई पँजनी गरिरहेका छन् । मरे पनि डुमै राजा ! भनेझैँ फेरि सत्तामा आफू प्रत्यागमन गर्न पाइन्छ भन्ने ख्यालै गरेका छैनन् । शेरबहादुर बुढो भए पनि उनी मरेर गए पनि नेपाली काङ्ग्रेस त संस्था हो नि ! संस्था त बुढो हुँदैन । बुढो भएपछि केही काम गर्दा मेरो बुबा भन्नुहुन्थ्यो, “सन्तानका जरामा मल हालेर मर्नु पर्छ !” शेरबहादुरले काङ्ग्रेसका नयाँ सन्तानका जरामा मल हालेका होलान् ! अब भ्रष्टाचारको स्वर्गबाट, अब कमिसनको ऐश्वर्यबाट, अब नातावाद र कृपावादको राइँदाइँबाट टेबलमाथि र टेबलमुनिका कोसेलीपातबाट कमसेकम ५ वर्षका लागि त गलहत्ती पाइन लागेकोले पूरा बेहोस झैँ भएका छन् । यस गलहत्तीको व्यथाले रन्थनिएर अहिले वामनेताले जे बोले पनि दम्भका लाग्छन्, जे बोले पनि उत्तेजनाका लाग्छन् । नयाँ आउने वामनेताहरुले देशमा सुशासन मात्रै दिए भने पनि भ्रष्टाचारलाई थत्म¥याए मात्रै भने पनि यिनलाई एक दुई दशक राज्यसत्ता ल्हासामा सुन छ कान मेरो बुच्चै हुनेछ, उनीहरुलाई थाहा छ ।
अहिले जुन बिषयमा बखेडा झिकिएको छ, त्यस बिषयमा गम्भीर चिन्तन मात्रै गरेमा थाहा लाग्छ, यो सिरिप विवादका लागि विवाद हो । के कानुन र संविधानको ब्याख्या गर्न सुवास नेम्बाङ अन्जान छन्, आलाकाँचा छन् ? के कानुन र संविधान केलाउन शेरबहादुरका समेत कानुनी सल्लाहकार भएका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ जान्दैनन् ? वरिष्ठ अधिवक्ता विश्वकान्त मैनाली जान्दैनन् ? शम्भु थापा, युवराज सङ्ग्रौला, टीकाराम भट्टराईहरु नादान छन् ? २०४७ सालको संविधान निर्माणमा समेत सव्रिmय सहभागी धेरै समय वकालत गरेका भरत मोहन अधिकारी जान्दैनन् ? अनुभवी माधव नेपाल पनि कमजोर छन् ? संविधान मिचेर हिँड्न खोजेका हुन् ? दुनियाँमा संविधान र कानुनको व्याख्या पनि आआफ्नो प्रकारले गरिन्छ भनेर छिनोफानो जनमतद्वारा गर्ने गरेको पनि हो । त्यसैले मैले सुवास नेम्वाङसँग कान्तिपुर एफएमले यही पुस ४ गते होला, बिहान हेडलाइनरमा अन्तर्वार्ता जस्तै लिएको सुनेको थिएँ । त्यसमा एकजना स्रोताको जिज्ञासा थियो, “अब नेपाली काङ्ग्रेस त्यो अध्यादेश जारी नगरे, राष्ट्रिय सभाको चुनाव हुन रोकिन्छ, राष्ट्रिय सभाको चुनाव सम्पन्न नगरी आफू सत्ता नछाड्ने भन्ने ! तपाईंहरु त्यो अध्यादेश नै असंवैधानिक छ भन्ने ! अनि यो समस्याको निकास के हो ?” यो जिज्ञासाको जवाफमा नेम्वाङको जवाफ थियो–“नेताहरु यसरी नै विवाद गरिरहन्छन्, यसरी नै पाखुरा सुर्कासुर्की गरिरहन्छन् भनेर नै अब ५ वर्ष विवाद नगरी सत्ता चलाउनू भनेर तपाईंहरुले बाम गठबन्धनलाई जनादेश दिनुभयो । अब काङ्ग्रेसले जनादेश लत्याउँदैछ भने तपाईंहरुले उसलाई ‘सत्ता छोड !’ भन्नुपर्छ । त्यही हो निकास !”
म यसबेला यो नेम्बाङको उत्तरको तात्पर्य बुझ्न खोज्दैछु, के काङ्ग्रेस अब वाम गठबन्धनको ४५ लाख जनता र उसको तीस लाख जनता सडकमा भिडाउन तिर लागेको हो त ! ‘शान्तिको पक्षपाती हुँ, प्रजातन्त्रको पहरेदार हुँ’ भनेर डङ्का पिट्ने काङ्ग्रेस अर्को लोकतान्त्रिक शक्तिलाई मनपरीसँग ‘तानाशाही’को वितण्डा गाउँदै कुर्सीमा भ्यात्लुङ झैँ टाँसिएर के खोजिरहेको हो ? दुनियाँमा के तमासा देखाइरहेको हो ? अचम्म छ ! जनतामा जिज्ञासा छ यस घडी, संविधानको पालना गर्दै यो लोकतन्त्रलाई मजबुत पार्दै अघि बढ्न नेपाली काङ्ग्रेसका युवा नेताहरु गगन थापाहरु, विश्वप्रकाश शर्माहरु, चन्द्र भण्डारीहरु लगायत सबैको आवाज हो शेरबहादुरको ? हो भने, र प्रधानमन्त्रीले पठाएका ‘जेइतेइ अध्यादेश जुनसुकै परिस्थितिमा पनि राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्छ !’ भन्ने हो भने त्यो खुलेर भनेर, त्यो नजिर स्थापित गरेर बढ्नु पर्दछ । एक माघले जाडो जाँदैन । वाम गठबन्धनलाई खाने नरभक्षीले काङ्ग्रेसको रगत पनि गनायो भनेर छोड्दैन, भविष्यमा उसको पालो आइहाल्छ ।

समानुपातिको नतिजा रोक्न सर्वोच्चमा रिट हाल्ने, नतिजा प्रकाशन गरेमा अस्वीकार गर्ने, दलहरुसँग सम्वाद पनि पटक्कै नगर्ने, राजिनामा पनि नगर्ने, सत्ता नछोड्ने शेरबहादुरको निर्णयले कति ठेल्छ ! नेपाली काङ्ग्रेसको यो रामरमिता कहिले सम्म हो ! मर्न त म¥यौ बाबै भालुखोपैतिर पिँध फर्काएर म¥यौ भन्ने टुक्का सुनेको थिएँ, त्यो टुक्काको सार्थकता पनि बुझ्न पाइने परे जस्तो छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: