१४५ किलोमिटर जैविक मार्ग बन्दैछ झापामा

  प्रकाशित मिति
२५ कार्तिक २०७६, सोमबार ०८:३७


अर्जुन कार्की

मेचीनगर । झापामा जङ्गली हात्ती संरक्षण गर्न जैविक मार्गको निर्माण धमाधम भइरहेको छ । डिभिजन वन कार्यालय झापाले ६ करोड रुपैयाँको लगानीमा जैविक मार्ग निर्माण गर्न थालेको हो ।

जिल्लामा जङ्गली हात्तीलाई संरक्षण गरी पर्यटनको आकर्षणको रुपमा विकास गर्नसके यसबाट प्रचुर मात्रामा आम्दानी लिन सकिने कार्यालयको बुझाइ छ । हात्ती संरक्षणकै लागि डिभिजन वन कार्यालय झापाले जैविक मार्ग निर्माणका लागि केन्द्रीय सरकारलाई प्रस्ताव पठाएको छ ।

डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले जैविक मार्गका लागि सम्बन्धित मन्त्रालयमा प्रस्ताव पठाएको बताए । घिमिरेले हात्ती संरक्षणका लागि जलथलदेखि बुद्धशान्तिको पाँचपोखरी सामुदायिक वनसम्मको १४५ किलोमिटर जैविक मार्ग निर्माण गरिने योजना रहेको सुनाए ।

पहिलो चरणको जैविक मार्गको ४० किलोमिटरको निर्माण कार्यको अन्तिम चरणमा पुगेको छ । ३७ किलोमिटरमा निर्माण कार्य धमाधम भइरहेको घिमिरेले बताए । प्रत्येक वर्ष टेन्डर भएर बजेट आए अबको तीन वर्षमा जैविक मार्ग निर्माण सम्पन्न हुने उनको बुझाइ छ ।

उक्त क्षेत्रफलमा हात्ती संरक्षणको करिडोर निर्माण गरी त्यहाँभित्र होमस्टे, फिलिम सुटिङ, माछा, कुखुरापालन, विभिन्न जनावर लगायत पर्यटन प्रबर्धनका अन्य आकर्षक वस्तुहरु राखिने प्रस्ताव गरिएको उनले बताए । अर्थ मन्त्रालयबाट स्वीकृत भएर आए राष्ट्रिय प्रकृति संरक्षण कोषमार्फत काम सुरु हुने घिमिरेको भनाइ छ ।

झापामा जैविक मार्ग निर्माण गर्नसके हात्तीको संरक्षण हुने र पर्यटन प्रबर्धन भए प्रशस्त आम्दानीको श्रोत पनि हुने घिमिरेको दावी छ । केही वर्षअघि जङ्गली हात्ती भारततिर धपाउनु पर्छ भन्ने स्थानीय अहिले हात्तीको संरक्षणमा जुट्न थालेका छन् ।

पर्यटकलाई आकर्षित गर्न स्थानीय सरकारले हात्तीलाई संरक्षण गर्न पहल गर्नु पर्ने पीडितहरुको भनाइ छ । हात्तीको आतङ्कका कारण झापाका सयौँ सर्वसाधारणको बर्षेनी उठिबास लाग्दै गरेका बेला सीमावर्ती भारतीय बस्तीहरु भने त्यही हात्ती देखाएर आफ्नो आम्दानीको श्रोत बनाइरहेका छन् ।

हात्ती प्रभावित क्षेत्रका गाउँलेले ‘हात्ती पर्यटन’ को अवधारणा अघि सारेर ग्रामीण पर्यटन सेवा थालेपछि उनीहरु मनग्ये कमाइ गर्न सफल भएका हुन् । गाउँमा रहेको हात्ती आतङ्कको चुनौतिलाई पर्यटनमार्फत आम्दानीको अवसरमा बदलेका भारतीयहरु नेपाली बस्तीहरुले पनि यसको सिको गर्न सक्ने बताउँछन् । हात्तीलाई आफूहरुले ग्रामीण पर्यटनको मुख्य माध्यम बनाएजसरी नै नेपालका पीडितले पनि उपयोग गर्नसके आर्थिक हैसियत उक्सिने सुझाव उनीहरुको छ ।

‘हात्तीले घर भत्काइदिएर बेघरबार बनाएकाहरु होमस्टे चलाउँछन्, हिजो बेरोजगार रहेकाहरु आजकल टुरिस्ट गाइड भएका छन्’, हात्ती–मान्छे द्वन्द्व व्यवस्थापनका बारे अध्ययनका लागि यहाँ आइपुगेको नेपाली टोलीलाई स्थानीयको सुझाव थियो, ‘तपाईंहरुकोमा पनि यो उपाय अपनाउन ढिलो नगर्नुस् । त्यसले हात्ती र मान्छे दुवैलाई फाइदा हुन्छ ।’

नेपाल–भारत सीमा क्षेत्रदेखि भारत–भूटानको सीमा क्षेत्रसम्मै फैलिएको विशाल भारतीय जङ्गल नेपाली बस्तीमा आङ्तक मच्चाउने हात्तीको स्थायी बासस्थान हो । त्यही जङ्गल छेउछाउमा रहेका भारतका सयौँ गाउँ पनि हात्ती आतङ्कले दशकौँदेखि आक्रान्त छन् ।

तर, केही वर्षयता पूर्वोत्तर भारतको यस क्षेत्रका १५÷२० भन्दाबढी गाउँहरु सङ्गठित रुपले ग्रामीण पर्यटन प्रबर्धनमा जुटेका छन् । दुई वर्षयता विस्तार हुँदै गएको यो अवधारणाले गाउँका बासिन्दाको आम्दानी मात्रै बढाएको छैन, हात्ती र मान्छेबीचको द्वन्द्व व्यवस्थापन पनि नमुना रुपमा सफल हुँदै गएको छ ।

‘पाँच–सात वर्षअघिसम्म पनि यहाँ हात्ती आएपछि कि मान्छे माथ्र्यो, कि हात्तीलाई गाउँलेले मार्थे’, सिलिगुढीदेखि एक सय किलोमिटर पूर्वमा रहेको जल्दापारा गाउँका सहकुल रायले भने, ‘त्यसबेला नोक्सानी पनि धेरै हुन्थ्यो । तर, अहिले यो क्रम घटेको छ । हामीले हात्तीलाई कमाउने माध्यम बनाइसकेका छौँ ।’ गाउँका हरेकले अचेल आफ्नो खेतमा लगाउने अन्नको केही भाग सुरुमै माया मार्छन् ।

हात्तीको चलखेल हुने निश्चित भएकाले आधा उब्जनी हात्तीकै लागि भन्ने सोच बनाएपछि आवेग कम हुने अनुभव त्यहाँका मान्छेको छ । त्यसैले हात्ती खेतमा पस्दा पनि यहाँ ठूलो होहल्ला हुँदैन ।

अध्ययन अनुसार हात्तीलाई आक्रमण गरेर बिच्क्याउँदा क्षति धेरै हुने गरेको छ । ‘हामी हात्ती बिच्काउने होइन, आकर्षित गर्ने उपाय खोज्छौँ’, रायले भने, ‘खेतीले दिने आम्दानीभन्दा हात्तीको हुल हेर्न आउने पर्यटकले तिर्ने रकमको आम्दानी धेरै हुन्छ ।’

उनका अनुसार यस क्षेत्रका हरेक गाउँमा अहिले होमस्टे सेवा छ । जहाँ पर्यटकहरु आएर बस्छन र गाउँमा पस्न आउने हात्तीको लर्को देखेर रमाउँछन् । यो सानो भारतीय गाउँका ३० भन्दाबढी घरमा होमस्टे रहेको र यहाँ भारत, भूटान तथा युरोपसम्मका पर्यटक हात्तीको लर्को हेर्न हरेक वर्ष आउने स्थानीयबासी बताउँछन् ।

हात्ती लाग्ने जल्दापारा जङ्गलमै सानो रिसोर्टसमेत चलाएका रायका अनुसार अहिले गाउँमा हरेक घरका युवाले पर्यटक गाइडका रुपमा आफ्नो करिअर बनाएको सुनाउँछन् ।

सिलिगुढीस्थित एसोसिएसन फर टुरिजम एन्ड कन्जरभेसन् (हट काउन्सिल) को अगुवाइमा पश्चिम बङ्गालका तीन जिल्लाहरु दार्जिलिङ, जलपाइगुढी र अलिपुरद्वारमा हात्ती पर्यटन अवधारणा अघि सारिएको थियो । यी तीन जिल्लाका तराई क्षेत्र हात्ती आतङ्कले पीडित क्षेत्र पनि हुन् । यता, आहारा सकिएपछि नै हात्तीका हुल नेपाली बस्तीतिर लम्किने गरेका छन् । जसका कारण झापाको साविकका गाविसहरु बाहुनडाँगी, शान्तिनगर, मेचीनगर, बुधबारे, खुदुनाबारी, पृथ्वीनगर, जलथल, लखनपुर लगायतका ठूलो क्षेत्र प्रभावित हुँदै आएका छन् ।

वन कार्यालयका अनुसार २०३५ साल यता मात्रै जिल्लामा कम्तीमा ३९ जनाले ज्यान गुमाइसकेका छन् । ५० जना सक्त घाइते भएका छन् । मानव–हात्ती द्वन्द्व श्रृङ्खलामा ११ वटा हात्ती पनि मारिएका छन् । कार्यालयले हालसम्म २ हजार २ सय ५६ जनालाई ३ करोड ५० लाख भन्दाबढी राहत वितरण गरेको छ । हात्तीको आक्रमणबाट मृत्यु भए १० लाख, सक्त घाइते भए २ लाख र सामान्य घाइते भए २० हजारसम्म कार्यालयले राहत दिने गरेको घिमिरेले जानकारी दिए ।

बालीनालीमा भएको क्षतिको विवरण बेहिसाब छ । पछिल्लो दश वर्षमा बाहुनडाँगीका दुई सयभन्दा बढी परिवारले हात्तीबाटै जोगिनलाई पुरानो थातथलो छाडेका छन् । ‘हात्तीको पुरानो बासस्थानको जङ्गल नै नेपालदेखि भूटानसम्म फैलिएको छ’, हट काउन्सिलका प्रमुख डा. राज बासुले भने, ‘त्यसैले यो करिडोर हात्तीको जोखिम सधैँ हुने क्षेत्र हो । चाहेर पनि रोक्न सकिँदैन । त्यसैले यो जोखिमलाई अवसरका रुपमा उपयोग गर्ने सोचले हामीले यहाँ पर्यटनको अवधारणा अघि सार्यौँ । हामी सफल पनि हुँदै गएका छौँ ।’

कृषि वैज्ञानिक, पर्यटन विज्ञ तथा अन्य प्राविधिक टोलीको नेतृत्व गरेर पर्यावरण सुरक्षा र पर्यटन प्रबर्धनमा दुई दशकदेखि क्रियाशील डा.बासुले सुरुमा पर्यटन अवधारणा ल्याउँदा समस्या भएको तर विस्तारै सर्वसाधारण यसमा आकर्षित हुँदै गएको बताए ।

बाहुनडाँगीमा मात्रै हात्ती आतङ्क नियन्त्रण प्रयासमा धेरै खर्च भइसकेको छ । हात्ती रुग्न टुङ बनाउने, सुरुङबार खन्ने, विद्युतीय तारबार गर्ने, स्थानीयबासीलाई टर्च तथा पटका बाँड्नेलगायतका शीर्षकमा डेढ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । विगतमा गाविस, जिविस, जिल्ला वनलगायतका कार्यालयहरुले धेरै लगानी गरिसकेका छन् ।

तर, ती कुनै पनि उपाय आतङ्क घटाउन सहयोगी बनेनन् । टुरिजमका अध्ययनकर्ताहरुका अनुसार नेपाल सीमादेखि भारत–भूटान सीमासम्मको क्षेत्रमा ५ सयभन्दा बढी हात्ती छन् । जल्दापारा वाइल्डलाइफ, कोलाबारी वाइल्डलाइफ जस्ता ठूला जङ्गलहरु तिनका मुख्य बासस्थान हुन् ।

‘पहिला जङ्गलमा आहारा सकिएपछि मात्रै हात्ती गाउँतिर लाग्थे’, बासुले भने, ‘तर, अहिले हात्तीको खान्कीको स्वाद बदलिएको छ । फरक स्वादको खोजीमा अहिले उनीहरु जुनसुकै बेला गाउँ पस्छन् ।’ यही जोखिमलाई भारतीयहरुले अवसरमा बदलेका हुन् ।

वर्षौँदेखि हात्ती आतङ्कबाट पीडित आफ्ना नागरिकले थालेको यो पछिल्लो अभ्यासलाई भारत सरकारले पनि प्रोत्साहित गरेको छ । हात्तीको बासस्थान रहेको जङ्गलमा जनशक्ति थपेर सरकारले चौबीसै घण्टा तिनको गतिविधि नियाल्छ ।

‘हात्तीको बथान कुन गाउँतिर लाग्दैछ भन्ने सूचना जङ्गलमा खटिएको त्यही टिमले गाउँलेलाई भन्दिन्छ’, दुई वर्षदेखि पर्यटकलाई हात्ती देखाउँदै आएका गाइड निमेश टन्डन भन्छन्, ‘अनि पर्यटकलाई त्यतैतिर लगिन्छ ।’ उनका अनुसार केही महिना अघि मात्रै युरोपबाट आएका सयौँ पर्यटक एक सातासम्म गाउँमा बसेर हात्ती हेरेर फर्केका थिए ।

यसबाहेक सरकारले होमस्टे निर्माणका लागि आर्थिक सहयोग, वाच टावर बनाइदिने, हात्तीले गरेको क्षतिको क्षतिपूर्ति तत्कालै दिने व्यवस्था मिलाइदिएको छ । जङ्गलमा हात्तीका प्रिय आहारा मानिने केरालगायतका वनस्पति सधैँ रोप्ने काममा पनि सरकार लागेको छ । ‘मान्छेले हात्तीले क्षति पुर्याएबापत राहत पाउने हो भने हात्तीमाथि आक्रमण गर्दैन’, दार्जिलिङका नरबहादुर क्षेत्री भन्छन्, ‘यहाँ राहत पनि तत्कालै पाइन्छ, पर्यटकबाट पनि आम्दानी भएकाले द्वन्द्व ज्यादै कम छ ।’

त्यस्तै नियमित विद्युत सेवा, प्रहरी परिचालनमा पनि सरकारले सुविधा उपलब्ध गराएको उनले बताए । प्रत्येक वर्षको तीन महिनालाई जङ्गल प्रवेशमा रोक लगाइएको छ । असारदेखि भदौ महिनासम्म हात्तीको सहबासका समयमा यस्तो रोक लाउने गरिएको छ । असोज पहिलो सातादेखि मात्र पर्यटकलाई जङ्गल प्रवेश खुला हुने स्थानीयले बताए ।

हात्ती संरक्षण गरेर पर्यटक भित्राउन सके आम्दानी गर्न सकिने अवधारणा यस अघि प्रकृति संरक्षण समाजका पूर्व अध्यक्ष अर्जुनकुमार कार्कीले ल्याएका थिए । उनका अनुसार पर्यटन प्रबर्धनका लागि ८ वर्षअघिदेखि बाहुनडाँगी लगायत आसपासका क्षेत्रमा होमस्टे सञ्चालनमा छन् ।

सामुदायिक रुपमा बाहुनडाँगी र सलकपुरमा जसकेलो होमस्टे सञ्चालनमा छन् । पर्यटन प्रबर्धनकै लागि कार्कीले स्मृति वनको नयाँ अवधारणा अघि सारेका छन् । हात्तीको सरंक्षण, मानिसलाई फाइदा र प्रकृतिको पनि जगेर्ना हुने भएकाले पर्यटनमैत्री बनाउन प्रयास गरिरहेको उनले दाबी गरे ।

‘उक्त वनमा पर्यटकले विरुवा रोपेर जानेछन्,’ कार्कीले भने, ‘जसले गर्दा उनका सन्ततीले विरुवा ठुलो भएपछि हेर्न आउने वातावरण बन्नेछ ।’ हट काउन्सिलका महासचिव समेत रहेका कार्कीले विगतमा हात्ती धपाउनु पर्छ भन्नेहरु अहिले हात्ती संरक्षणमा लाग्न थालेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: