२० लाख बढीको आँखा उपचार

  प्रकाशित मिति
१ मंसिर २०७३, बुधबार १६:२२


eye
विर्तामोड । पूर्वको सबैभन्दा ठूलो आँखा अस्पतालको रुपमा परिचित ‘मेची आँखा अस्पताल’ सञ्चालनको दुई दशक पूरा भएको छ ।

डा. गोपाल पोखरेल लगायतको अग्रसरता र स्थानीय सामाजिक व्यक्त्विहरूको सहयोगमा २०५३ सालमा विर्तामोडमा मेची अञ्चलकै पहिलो आँखा उपचार केन्द्रको रुपमा ‘मेची आँखा उपचार केन्द्र’को सञ्चालन भएको थियो ।

तत्कालीन चारपाने–१ (विर्तामोडको पश्चिम बसस्टेन्ड पूर्व) राजमार्गको दक्षिणी किनारमा एउटा भवन भाडामा लिएर केन्द्रको पहिलो सेवा सुरु गरिएको थियो । त्यसपछि लामो समयसम्म हाल कञ्चनजङ्गा हस्पिटल रहेको भवनबाट यसले सेवा दिएको थियो । अहिले त्यही केन्द्र मेची आँखा अस्पतालको रुपमा विर्तामोड–९ सैनिक मोडमा भब्य भवनमा सञ्चालनमा रहेको छ ।

मेची आँखा अस्पतालले विगत २० वर्षमा २० लाख ७१ हजार ५७ जनाको नेत्र जाँच गरेको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा. पुरुषोत्तम जोशीका अनुसार २०५३ सालदेखि हालसम्ममा २ लाख ३१ हजार ७ सय जनाको आँखाको अपरेसन गरिएको र त्यसमध्ये १ लाख ७७ हजार ३ सय ७७ जनाको मोतिबिन्दुको अपरेशन गरिएको थियो ।

वार्षिक सरदर डेढ लाख जनालाई उपचार सेवा पुर्याइरहेको यस अस्पतालले मेची अञ्चलमा वर्षेनी ७० वटासम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

झापाको दमक, गौरादह, बनियानी, भद्रपुर र पाँचथरको फिदिममा प्राथमिक उपचार केन्द्र स्थापना गरी सेवा प्रदान गर्दै आएको अस्पतालमा चिकित्सक र कर्मचारी गरी १ सय ८२ जनाले प्रत्यक्ष रोजगारी पाइरहेको अस्पतालका प्रशासकीय प्रमुख सुरज रौनियारले जानकारी दिए ।

अस्पताल स्रोतका अनुसार यहाँ उपचार गर्न आउनेमा ४० प्रतिशत भारतीय बासिन्दा रहेका छन् । आसाम, पश्चिम बङ्गाल, विहार, सिक्किम, नागाल्यान्ड, मेघालय लगायतका भारतीय क्षेत्रबाट आँखा उपचारका लागि यहाँ आउने गरेका छन् । यसबाट भारतीय मुद्राको आर्जनमा समेत योगदान पुगेको छ ।

अस्पतालले स्थापनाको २० वर्ष पूरा भएको अवसरमा मङ्गलवार आफ्नै परिसरमा विशेष समारोहको आयोजना गरी उत्सव मनाएको छ ।

झापा क्षेत्र नं. २ का सांसद सुधिर शिवाकोटी प्रमुख अतिथि र राजनीतिक तथा सामाजिक क्षेत्रका विशिष्ट महानुभावहरू अतिथि रहेको कार्यक्रमको सभापतित्व अस्पतालका अध्यक्ष छत्रप्रसाद अधिकारीले गरेका थिए ।

सांसद शिवाकोटीले अस्पताल पूर्वकै गहना भएको चर्चा गर्दै मेची आँखा अस्पतालले मुलुकभित्र र मुलुक बाहिरका हजारौँ मानिसको उपचार गरेर प्रशंसा आजृन गरेको बताए ।

उनले नयाँ प्रविधि र पद्धतिको उपयोगमा सधै अगाडि रहेकोमा अस्पताललाई बधाइ दिदै राज्यले गर्न नसकेको सेवा यस अस्पतालले पुर्याएको बताए ।

‘धेरै अग्रजहरूको योगदान र पसिना सिञ्चित भएर यो अस्पताल आजको समृद्ध अवस्थामा आइपुगेको छ’, स्वागत मन्तब्यको सिलसिलामा अस्पतालका उपाध्यक्ष जलकुमार गुरुङले भने–‘अब देशकै उत्कृष्ट अस्पतालको रुपमा स्थापित गराउन आजको पुस्ताले समर्पणको भाव देखाउनु पर्छ ।’

शुभकामना मन्तब्य दिदै नेपाल नेत्र ज्योति सङ्घ झापाका पूर्व अध्यक्ष एवम् राप्रपा नेपालका केन्द्रीय सदस्य राजकुमार पोखरेलले पनि स्थापनाकालमा योगदान पुर्याएका डा. गोपाल पोखरेल, गङ्गा वाँस्तोला, हर्कलाल गिरी लगायतको स्मरण गरे ।

उनले प्रदेश नं. १ कै उत्कृष्ट अस्पतालको रुपमा हाल अस्पतालले सेवा पुर्याइरहेकामा सन्तोष प्रकट गर्दै अस्पतालका डाक्टर, नर्स र कर्मचारीलाई धन्यवाद दिए ।

नेदरल्यान्ड आइ केयर फाउन्डेसनका प्रतिनिधि याप भेन रिजुरिक, नेकपा एमालेका नेता जीवनकुमार श्रेष्ठ, नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य झलकसिंह दर्लामी, पूर्व सांसद डिल्ली सिटौला, नेपाल अफ्ताल्मिक एसोसिएसनका अध्यक्ष डा. सुमन शमशेर थापा लगायतले शुभकामना मन्तब्य व्यक्त गरेको सो कार्यक्रममा नेपाली काङ्ग्रेस झापाका उपसभापति राम कट्टेल, सचिव प्रेम सम्वाहाम्फे, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डीन प्रा.डा. बद्रीप्रसाद बडु, झापा उद्योग सङ्घका अध्यक्ष टिकाराज ढकाल, रोटरी क्लव अफ भद्रपुरका अध्यक्ष दिपेश ढकाल, रोटरी क्लव अफ विर्तामोडका अध्यक्ष विनय पोखरेल, निर्माण व्यवसायी सङ्घ झापाका अध्यक्ष दिपेन्द्र पोखरेल, मधेसी फोरमकी नेतृ सङ्गीता राौनियार लगायतको उपस्थिति रहेको थियो ।

अस्पतालका पूर्व मेडिकल डाइरेक्टर डा. सञ्जय सिंहले शुभकामना व्यक्त गर्दै अस्पतालले दुई दशकमा धेरै फड्को मारे पनि अबको दिन अझ चुनौतिपूर्ण बताए । उनले अस्पताललाई स्थानीय समाज र गैरसरकारी संस्थाहरूको थप सहयोग जरुरत पर्ने सुझाव दिए ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. पुरुषोत्तम जोशीले संस्थाको प्रगति प्रतिवेदन सुनाउँदै आगामी दिनमा अझ उन्नत प्रविधियुक्त उपचार सेवाको साथै दक्ष जनशक्ति उत्पादन गर्ने शैक्षिक कार्यक्रम सञ्चालनको योजना रहेको बताएका थिए ।
कार्यक्रममा अस्पतालका कर्मचारी, स्वास्थ्यकर्मी र पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: